परिचय

कृषि विकास रणनीति कार्यान्वयनको सहयोगी परियोजनाको रुपमा कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने स्पष्ट मार्गचित्रका साथ कृषि उपजको उत्पादनका लागि आवश्यक प्रविधि तथा उत्पादन सामग्रीको व्यवस्था, बाली र वस्तु उत्पादनमा यान्त्रिकीकरण, प्रशोधन तथा बजारीकरणको लागि आवश्यक पूर्वाधारको व्यवस्था लगायतका क्रियाकलाप मार्फत कृषि क्षेत्रको आधुनिकीकरणको परिकल्पना सहित स्वदेशी सोच, स्वदेशी लगानी र आन्तरिक संस्थागत जनशक्तिबाट प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आ.व. २०७३/७४ देखि आ.व. २०८२/८३ सम्म १० वर्ष अवधिको लागि लागू भएको छ। परियोजनाको कूल लागत १ खर्ब ३० अर्ब रुपैयाँ प्रक्षेपण गरिएको छ।

कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित आधुनिक, व्यवसायिक, दिगो एवं आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्ने सोचका साथ सञ्‍चालन भएको यस परियोजनाको लक्ष्य समग्र मूल्य श्रृंखलाका अवयवहरुको एकीकृत संयोजन र परिचालन मार्फत खाद्य पोषण सुरक्षा सुनिश्चित गर्दै कृषि औद्योगिकीकरण र दिगो आर्थिक अवसरहरु सृजना गरी राष्ट्रको समग्र विकासमा टेवा पुर्‍याउने रहेको छ।

 

परियोजना कार्यान्वयन इकाईको भुमिका तथा जिम्मेवारीः

 परियोजना अन्तर्गतको जोन/सुपरजोन विकास कार्यक्रम सञ्चालनको लागि परियोजना कार्यान्वयन इकाई रहनेछ।

  • जोन/सुपरजोन विकासका लागि तय भएका नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने/गराउने।
  • परियोजना कार्यान्वयनका लागि कृषि सहकारी, समुह र कृषि उद्यमीहरुको  अभिमूखीकरण तथा क्षमता विकास गर्ने।
  • सम्बन्धित बालीको अनुसन्धान तथा विकास केन्द्रका रुपमा कार्य गर्ने तथा बाली विशेषको पकेट, ब्लक, जोन र सुपरजोनसँगको अनुसन्धान प्रसार सेवा र कृषि शिक्षाको सम्बन्ध (Linkages)  र पहुँच (Access) स्थापना गर्ने।
  • बजेट तथा कार्यक्रम तर्जुमा र कार्यान्वयनसँग सम्बन्धित निकायहरुबीच कार्यमूलक समन्वयको व्यवस्था मिलाउने।
  • जिल्ला स्थित कृषि/पशु सेवा क्षेत्र हेर्ने कार्यालयसँगको समन्वयमा वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गर्ने।
  • जोन/सुपरजोनमा भएका विद्यमान प्रविधि र पूर्वाधारहरुको अभिलेख तयार गर्ने।
  • जोन/सुपरजोन अन्तर्गतका कृषक समुह, कानुन बमोजिम दर्ता भएका कृषि उद्यमी तथा कृषि सहकारीहरुको विवरण अद्यावधिक गर्ने।
  • परियोजनको लक्ष्य र उद्देश्य हासिल गर्न सहयोगी कार्यक्रम सञ्‍चालन गर्ने।
  • जोन/सुपरजोन अन्तर्गत समूहिक खेती, सहकारी खेती, करार खेती र चक्लावन्दी खेती प्रवर्द्धन गर्ने नीतिलाई कार्यान्वयन गर्ने।
  • जोन/सुपरजोन अन्तर्गत कृषि पूर्वाधारहरुको विकास गर्ने।
  • परियोजनाका सरोकारवालाहरु (स्थानीय तह, प्रदेश सरकार मातहतका निकाय, अनुसन्धान र कृषि फार्म केन्द्र) सँग समन्वय र सहकार्य गर्ने।
  • परियोजनाको प्रगति नियमितरुपमा परियोजना व्यवस्थापन इकाईमा प्रतिवेदन गर्ने।
  • परियोजनाबाट तोकिएका परियोजना कार्यान्वयन इकाईले प्रदेश स्तरमा समन्वय र रिपोर्टिङको समेत कार्य गर्ने।
  • सम्भाब्यताको आधारमा जोन/सुपरजोनको क्षेत्र विस्तारको लागि परियोजना व्यवस्थापन इकाईमा सिफारिस गर्ने।
  • सञ्चालित जोन र सुपरजोनको प्रोफाईल तयार गर्ने।
  • जिल्लामा सञ्चालित पकेट,  ब्लक,  जोन र सुपरजोन विकास कार्यक्रमको लागि क्षेत्र निर्धारण, कार्यक्रम तर्जुमा, अनुगमन, तथ्याङ्क व्यवस्थापनको लागि परियोजनाको फोकल कार्यालयको रुपमा कार्य गर्ने ।