![]() |
नेपाल सरकार राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (कार्यक्षेत्र: रुपन्देही र नवलपरासी (ब.सु.प)) |
|
विशेष कृषि-मौसम सल्लाह बुलेटिन-१
मौसमी विश्लेषण
हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। साथै, बंगालको खाडीको पश्चिम-मध्य क्षेत्रमा न्यून चापीय क्षेत्र अवस्थित रहेको छ र उक्त प्रणाली आगामी दिनमा थप शक्तिशाली बन्दै बलियो न्यून चापीय क्षेत्रको रुपमा पश्चिम-उत्तरपश्चिम दिशातिर सर्ने देखिन्छ। यो प्रणाली असोज ७ गते बेलुका दक्षिण ओडिशा-उत्तर आन्ध्र प्रदेशको तटीय क्षेत्रनजिक पुग्ने सम्भावना छ र यसको प्रभावले बुधबारबाट नै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जाने देखिन्छ।
असोज ९-११ सम्मको मौसम पूर्वानुमान
आगामी असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा एक-दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना छ। साथै मधेश प्रदेश तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन/चट्याङ्ग / हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको तथा कर्णाली प्रदेशको थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ । देशका अधिकांश स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षको सम्भावना छ।
भारी / अति भारी वर्षाको समयमा कृषिकर्म गर्दा ध्यान दिनुपर्ने कुराहरू
- वर्षा सुरू हुनुअगाडि नै खेतबारीमा जाने बाटो, गल्ली, कुलो तथा अन्य माध्यमबाट भल पस्न नदिनुहोस् ।
- धान पाक्न लागेका खेत, तरकारीवाली, तथा फलफूल बगैंचामा पानी निकासको व्यवस्था गर्नुहोस् ।
- हाललाई सबै किसिमका बालीनालीमा कुनै पनि रासायनिक मल, विषादी वा अन्य पोषक तत्वहरू नदिनुहोस् ।
- कम्पोष्ट/गोठेमल राखिएको ठाँउमा पानी तर्काइ प्लाष्टिक वा त्रिपालले छोपेर राखुहोस् ।
- हावाहुरीको कारण उखुबाली ढल्न नदिन ४-५ वटा उखुका लाँक्रालाई एकीकृत गरी डोरीले बाँध्नुहोस् ।
- खास गरेर नदी, खोला छेउमा रहेका संरचनाहरू (कृषि फार्म, संरक्षित संरचना) बाढीको जोखिममा पर्नसक्ने हुनाले सम्भव भएसम्म भण्डारणमा रहेका खाद्यान्न तथा अन्य सामग्रीहरू सुरक्षित स्थानमा लैजानुहोस् ।
- आकस्मिक सामग्रीहरू जस्तै-डोरी, बाल्टिन, टर्च, प्लास्टिक, त्रिपाल, प्राथमिक उपचार सामग्री तयारी अवस्थामा राखुहोस् ।
- भारी वर्षाको समयमा तथा नदी खोलामा बाढी आएको बेलामा आफ्नो सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर मात्र कृषि कार्य गर्नुहोस् ।
- मौसमसम्बन्धी जिज्ञासाको लागि पैसा नलाग्ने चौबीसै घण्टा उपलब्ध नेपाल मौसम विज्ञान विभागको फोन नम्बर-११५५ मा फोन गर्नुहोस्। साथै कृषि तथा पशुपालनसम्बन्धी थप जानकारीको लागि अनुसूची-१ मा भएका सम्बन्धित विज्ञसँग सम्पर्क गर्नुहोस् ।
खाद्यान्नबाली
- धानबालीमा हुनसक्ने सम्भावित क्षति न्यूनीकरणका लागि भित्र्याउन तयार भएका तर काट्न बाँकी रहेका धानबाली वर्षा रोकिएपछि केही दिन पर्खिएर मात्र काट्नुहोस् ।
- यसअघि नै काटेर खेतमै छोडेको धानलाई हावा खेल्नेगरी ओतमा राखुहोस्।
- धान खेतको गह्राको विभिन्न ठाउँबाट कुलेसो काटी पानीको निकास गर्नुहोस् ।
- झारीसकेको धानलाई हावा आउने ठाउँमा फिँजाइ पंखाको सहयोगले हावा दिई बेला-बेलामा धानलाई चलाई छिटो सुकाउने प्रबन्ध गर्नुहोस् ।
- उच्चपहाडी भेगमा भाँच्ने बेला भएको मकै तुरून्त भाँचेर ओतमा राखी हावा खेल्ने ठाउँमा फिँजाउनुहोस् ।
- उच्चपहाडी भेगमा गहुँबाली तथा मध्यपहाडी भेगमा तोरी र फापर रोप्नको लागि जग्गा तयारीको बेला भए तापनि केही दिन बारी नजोनुहोस्। तयार भइसकेको जग्गामा बीउ छर्न केही दिन पर्खनुहोस् ।
फलफूलबाली
- विभिन्न फलफूल तथा तरकारी बालीहरूको नर्सरी व्याडमा पानी जमेर बेर्ना कुहिने रोग लाग्न सक्ने भएकोले पानी निकासको प्रवन्ध गर्नुहोस् ।
- चाँडै बिग्रने प्रकृतिका फलफूल एवम् तरकारी आजभोलि नै बजारमा पुऱ्याउनुहोस्। केही दिन बोटमै राख सकिने अवस्था छ भने सफा मौसम भएपछि मात्र टिप्नुहोस् ।
- हावाहुरीबाट जोगाउन पसाएको केरा तथा सुन्तलाजात बगैंचामा टेको दिनुहोस् ।
तरकारीबाली
- विभिन्न तरकारीबालीहरूको नर्सरी व्याडमा पानी जमेर बेर्ना कुहिने रोग लाग्न सक्ने भएकोले पानी निकासको व्यवस्था गर्नुहोस् ।
- भर्खर सारेका बेर्ना तथा सर्दै गरेका साना तरकारीका बोटहरूलाई अग्लो ड्याङ बनाइ पानीको निकासको प्रवन्ध गर्नुहोस् ।
- तरकारीबालीका नर्सरीमा खर, पराल वा प्लाष्टिक आदिको छानो राख्नुहोस्। कलिला बिरुवा मुख्य जमिनमा नसार्नुहोस् ।
- पानीले बगाएर लैजाने भएकाले प्रोटिन बेट, विषादी छर्कने र मल हाल्ने काम नगर्नुहोस् ।
- तरकारी तथा फलफूल बगैंचामा झरेका, कुहिएका तथा कीराले क्षति गरेका फलफूल, तरकारी संकलन गरी वर्षा सुरू हुनुअगाडि नै नष्ट गर्नुहोस् ।
अन्य
- भारी वर्षा तथा हावाहुरीको सम्भावना भएकाले मौरीघारलाई सुरक्षित, पानी नजम्ने तथा हावा कम चल्ने स्थानमा राखुहोस्। घारमा पानी नपस्ने र पर्याप्त खाद्य भण्डार भए/नभएको सुनिश्चित गर्नुहोस्। लामो समय वर्षा हुँदा मौरी चर्न जान नसक्ने भएकाले खानेकुरा अभाव भएमा आवश्यकतानुसार पूरक आहार दिनुहोस् ।
पशुपालन
- गोठ, खोरका छानोमा भएका पुराना टिनहरू हावाहुरीले उडाउन नसक्ने गरी बलियोसँग बाँधेर वा भार राखेर सुरक्षित गर्नुहोस्। गोठ, खोरभित्र पानी चुहिन नदिन छाना बलियो बनाउनुका साथै पानी निकासको व्यवस्था गर्नुहोस्। बाढी पस्न सक्ने गोठ, खोरका पशुचौपायालाई तुरुन्तै अग्लो र सुरक्षित ठाउँमा सार्नुहोस् ।
- मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहितको भारी वर्षाको समयमा खोलानाला उर्लेर आउने भएकाले पशुहरूलाई चराउन खुला ठाउँमा वा खोला किनारमा नलैजानुहोस् र यस समयमा पशुचौपायाको ओसारपसार समेत नगर्नुहोस् ।
- कम्तीमा केही दिन पुग्नेगरी पशुआहारा (सुख्खा घाँस, पराल, दाना, हे, साइलेज, खनिज मिश्रण) को जोहो गर्नुहोस् र भिज्न नदिन अग्लो स्थानमा प्लाष्टिक वा त्रिपालले राम्ररी छोपेर राख्नुहोस् ।
- बाढी वा डुबानले पानीका मुहानहरू दूषित भइ पशुचौपाया बिरामी पर्नसक्ने भएकोले सफा पानी मात्र पिउन दिनुहोस् ।
मत्स्यपालन
- पोखरीको डिल, बाँध तथा कमजोर स्थानहरू वर्षातअघि नै निरीक्षण गरी आवश्यक मर्मत गर्नुहोस् ।
- पोखरीको इनलेट, आउटलेट तथा पानी निकास हुने नाला सफा गर्नुहोस् ।
- माछापोखरीमा धमिलो पानी मिसिन नदिनुहोस्। माछापोखरीको इनलेट, आउटलेटमा माछाको साइज अनुसारको जाली लगाई पानी निकासको उचित व्यवस्था गरी भुरा तथा छडी माछा बगेर जान नदिन जालीको बेलाबेलामा निरीक्षण गरी सरसफाइ गर्नुहोस् ।
- वर्षा र बाढीले बिगार्न सक्ने माछाको दाना, औषधि, मल आदि सामग्रीहरू सुरक्षित र सुख्खा स्थानमा भण्डारण गर्नुहोस्। मर्मत उपकरण तथा आवश्यक अन्य सामग्रीहरू पूर्वतयारी अवस्थामा राखुहोस् ।

