![]() |
नेपाल सरकार राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (कार्यक्षेत्र: रुपन्देही र नवलपरासी (ब.सु.प)) |
|
कृषि मौसम सल्लाह बुलेटिन (वर्ष-१२ अंक २३)
मौसमी सारांशः
- गत साताभर मनसुनी वायुको प्रभावले देशका अधिकांश केन्द्रहरूमा वर्षा मापन भएको छ। कोशी प्रदेश र गण्डकी प्रदेशका एक-दुई केन्द्रहरूमा १५०.० मिलिमिटरभन्दा बढी साप्ताहिक कुल वर्षा मापन भएका छन्। देशभरमा वर्षा मापन भएका अधिकांश केन्द्रहरूमा सरदरभन्दा कम वर्षा मापन भएको छ। सबैभन्दा बढी कोशी प्रदेशको संखुवासभा जिल्लाको नुम केन्द्रमा ३८२.६ मिलिमिटर साप्ताहिक कुल वर्षा मापन भएको छ। गत साता देशका अधिकांश केन्द्रहरूमा सरदरभन्दा बढी साप्ताहिक औसत अधिकतम तापक्रम मापन भएका छन् भने धेरै केन्द्रहरूमा सरदरभन्दा बढी साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएका छन्।
- देशभर मनसुनी वायु, स्थानीय वायु तथा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहनेछ। साताको अन्त्यमा बंगालको खाडीमा विकसित हुने न्यून चापीय प्रणालीको समेत प्रभाव रहनेछ।
- हिमाली भू-भागः बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साताभर, कोशी प्रदेशमा साताको सुरू र मध्यमा, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताको मध्यमा मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। कोशी प्रदेशमा साताको अन्त्यमा धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताको सुरू र मध्यमा थोरै स्थानमा मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशमा साताभर एक-दुई स्थानमा भारी वर्षा/हिमपातको सम्भावना छ।
- पहाडी भू-भागः कोशी, बागमती र गण्डकी प्रदेशमा साताको सुरू र मध्यमा केही स्थानमा तथा अन्त्यमा धेरै स्थानमा, लुम्बिनी प्रदेशमा साताभर केही स्थानमा, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताको सुरू र अन्त्यमा थोरै तर मध्यमा केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी प्रदेशमा साताको सुरू र मध्यमा एक-दुई स्थानमा भारी तर साताको अन्त्यमा थोरै स्थानमा धेरै भारीसम्मको वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताभर एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
- तराई भू-भागः मधेश तथा कोशी, बागमती र गण्डकी प्रदेशमा साताको सुरूमा थोरै स्थानमा, मध्यमा केही स्थानमा तथा अन्त्यमा धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। साताको अन्त्यमा एक-दुई स्थानमा धेरै भारीसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा साताको सुरूमा थोरै स्थानमा तथा मध्य र अन्त्यमा केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। मधेश र कोशी प्रदेशको तराईमा साताको अन्त्यमा केही स्थानमा हावाहुरीको समेत सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा साताको अन्त्यमा एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
- आगामी साताको सुरू र मध्यमा वर्षा औसत नै रहनेछ। तर साताको अन्त्यमा औसतभन्दा केही बढी रहने सम्भावना छ। अधिकतम र न्यूनतम दुबै तापक्रम पहाडी र तराई भू-भागमा उल्लेखनीय परिवर्तन नहुने (औसतभन्दा बढी नै रहने), तर हिमाली भू-भागमा हल्का घट्ने (औसतको आसपास नै रहने) सम्भावना छ।
कृषि सारांश
- धानबालीमा मरुवा रोग देखापर्ने बित्तिकै व्यवस्थापनका लागि ट्राइसाइक्लाजोल ७५% डब्लुपी २ ग्राम प्रतिलिटर पानीको दरले प्रत्येक १२-१४ दिनको फरकमा २-३ पटकसम्म सम्पूर्ण बोटहरू भिज्नेगरी छर्केर उपचार गर्नुहोस् ।
- उच्चपहाडको लागि सिफारिस गरिएका गहुँका जातहरू मुडुले १, हिमगंगा, तिला, सुर्मा, च्याखुरा, मुनाल, स्वर्गद्वारी, पासाङल्हामु, डाँफे, भेरीगंगा, कौटिलामध्ये उपलब्ध जातको गणुस्तरिय बीउ ६.० केजी प्रतिरोपनीको दरले बीउको व्यवस्था गर्नुहोस् ।
- मध्यपहाडदेखि उच्चपहाडको लागि सिफारिस गरिएका तोरीको जात; लुम्ले-१, मध्यपहाडको लागि प्रगति र सुर्खेत स्थानीय तोरी-३, बेंसीको लागि उन्नति र प्रितीमध्ये उपलब्ध जात ०.५ केजी प्रतिरोपनी वा ०.३४ केजी प्रतिकट्ठा बीउका दरले बीउको व्यवस्था गर्नुहोस् ।
- बालीनालीमा रासायनिक विषादीको प्रयोग गर्दा सकेसम्म हरियो र नीलो लेबल भएको विषादी प्राविधिकको सल्लाहअनुसार प्रयोग गर्नुहोस् । कडा घाम लागेको, धेरै हावा लागेको र पानी परिरहेको बेलामा विषादी नछर्कनुहोस्। विषादी छर्कने बेलामा व्यक्तिगत सुरक्षा उपकरणहरू जस्तै- मास्क, पञ्जा, चस्मा, बुट र एप्रोन लगाई विषादी छर्कंदै अगाडितर्फ बढ्नु हुँदैन, पछाडि सर्दै आउनुहोस् ।
- मनसुनी वर्षाको समय भएकोले सबै फलफूल बगैंचामा नियमित सरसफाइ गर्नुका साथै पानी निकासको उचित व्यवस्था गर्नुहोस्। सबै किसिमका फलफूल तथा तरकारी बालीहरूमा मौसमको अवस्था हेरेर (कडा घाम लागेको, धेरै हावा लागेको, पानी परिरहेको बेला नपारी) मात्र विषादी छर्कनुहोस्। विषादी छर्कंदा विशेष सावधानी अपनाउनुहोस्।
- मधेश र कोशी प्रदेशको तराईमा साताको अन्त्यमा केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेकोले पसाएको केराको बोट ढल्न नदिन आवश्यक टेको दिनुहोस् ।
- एभोकाडो फल राम्रोसँग परिपक्व भएको निश्चित गरेर चोटपटक नलाग्ने गरी टिप्नुहोस्। सामान्य चोट लागेमा पनि फल कुहिने र बिग्रिने डर हुनाले केट वा बास्केटमा राखी सुरक्षित तरिकाले बजार लैजानुहोस् ।
- स्याउको व्यावसायिक गुणस्तर कायम राख फलको रंग, कडापन, बीउको परिपक्वता र जात अनुसारको उचित टिएसएस मात्रा (जस्तैः रेड/रोयल डेलिसियस १०-११, गोल्डेन डेलिसियस र गाला १२, तथा फुजी १६ डी. ब्रिक्स) जाँच गरेर मात्र फलमा चोट नलाग्ने गरी टिप्नुहोस्। टिपिसकेपछि तुरुन्तै शीतल छहारीमा राखिएका फलहरूलाई राम्रोसँग सफा र ग्रेडिङ गरी, भण्डारण क्षमता बढाउन क्याल्सियम क्लोराइडले उपचार गरेर खाद्य-उपयुक्त मैनको पातलो तह लगाउनुहोस्। फललाई सुरक्षित राख स्टाइरोफोम जालीमा बेरेर, हरेक तहमा डेकप्लेट राखी १० केजी अट्ने ५ प्लाई १६० पिएसआई क्षमताका भेन्टिलेसनयुक्त कार्टुनहरूमा प्याक गरी उपयुक्त ढुवानीका साधनद्वारा जतिसक्दो छिटो गन्तव्यमा पुऱ्याउनुहोस् ।
- सुन्तलाजात फलफूल बगैंचामा फल कुहाउने औंसाको कारणले झरेका फलहरू औसाहरू निस्केर माटोमा जानुभन्दा पहिले नै संकलन गरी नष्ट गर्नुहोस्। यसो गर्दा कीरा व्यवस्थापन भई क्षति न्यूनीकरणमा मद्दत गर्दछ।
- मध्यपहाडको बारीमा भदौ महिनामा लगाएको आलुबालीमा पहिलो गोडाइ (३०-३५ दिन) गरी ४.३५ केजी युरिया प्रतिरोपनीका दरले टपड्रेस गर्नुहोस् ।
- खुर्सानीमा कोत्रे रोग व्यवस्थापनको लागी रोगग्रस्त डाँठ तथा फलहरूलाई हटाउनुहोस्। सिँचाइको लागि स्प्रिंकल विधि प्रयोग नगर्नुहोस् साथै क्लोरोथालोनिल विषादी २ ग्राम प्रतिलिटर पानीको दरले ८-१० दिनको फरकमा २-३ पटकसम्म सम्पूर्ण बोटहरू भिज्नेगरी छर्केर उपचार गर्नुहोस् ।
- अलैंची टिपिसकेपछि फल लिइसकेका, रोगी तथा थारा लाँक्रा छुरीको सहायताले जमिनको सतह नजिकैबाट काटी हाटाउनुहोस्। फल टिपाइ गर्दा र काँटछाँट गर्दा आगामी साल फल्ने लाँक्रा जोगाउनुहोस्। काँटछाँट गरेको भाग भिज्नेगरी १% को बोर्डोमिश्रण छर्कनुहोस् ।
- चाडबाडको समय नजिकिँदै गर्दा पशुचौपायाको ओसारपसारका साथसाथै बेचबिखन पनि बढ्दै जाने हुनाले पशुचौपायामा लाग्ने रोगहरू फैलिने सम्भावना पनि सँगसँगै बढ्छ। तसर्थ बिरामी तथा रोगी पशुचौपायाको बेचबिखन तथा ओसारपसार नगर्नुहोस् ।
- भदौदेखि मंसिरसम्म भैंसीहरू ऋतुकालमा आउने हुँदा ऋतुचक्रमा आएको लक्षणहरू याद गर्नुहोस्। भैसीहरूले गाईको जस्तो लक्षण नदेखाई प्रायः सुषुप्त ऋतुकालको लक्षण देखाउँने हुँदा ऋतुकाल नगुमाउन राम्ररी अवलोकन गर्नुहोस् ।
- बादल लागेको दिन र भोलिपल्ट बिहानीपख माछापोखरीमा अक्सिजनको कमिबाट हुनसक्ने क्षति तथा तापक्रममा हुने घटबढको कारणले माछामा हुनसक्ने तनाव कम गर्न समय-समयमा पोखरीको पानी फेर्नुहोस्। साथै पोखरीमा अक्सिजनको पर्याप्त मात्रा कायम राख प्रतिहेक्टर जलाशयमा ०.७५ केभीए क्षमताको एरेटर बिहान ४-६ बजेसम्म चलाउनुहोस् ।
- चरन क्षेत्रमा पाइने विषालु वनस्पतिहरू (जस्तै-धतुरोको बोट र दाना, वनमासा, गन्धेझार, जंगली निगुरो, कनेर/करबीर, गुराँसका पात) खाँदा पाचन प्रणालीले त्यसलाई स्वीकार नगर्ने हुँदा ओकलेर फाल्छ। तसर्थ भेडा, बाख्रालाई धेरै कडा, सुख्खा वा पुराना डाँठ भएका जंगली घाँसहरू नखुवाउनुहोस् ।
- विभिन्न किसिमका हरियो घाँसहरूबाट साइलेज बनाउन भर्खर काटेको घाँसलाइ १ देखि २ दिनसम्म हावामा सुकाइ १ देखि २ इञ्चका टुक्रा पारिएका घाँसमा ६-१२ लिटर एसिटिक एसिड (भिनेगर) र २० केजी खुदो प्रतिटनका दरले हाली राम्रोसँग मिसाउनुहोस्। त्यसपछि प्लाष्टिकको थैला वा साइलो पिटमा हावा नछिर्ने गरी घाँसलाई खाँदेर राखुहोस् ।
- मौसम सम्बन्धी जिज्ञासाको लागि पैसा नलाग्ने नेपाल मौसम विज्ञान विभागको फोन नम्बर ११५५ मा फोन गर्नुहोस् ।
- कृषि र पशुसम्बन्धी जिज्ञासाको लागि पैसा नलाग्ने नार्कको फोन नम्बर ११३५ मा हरेक शुक्रबार साँझ ४ देखि ६ बजेसम्म फोन गर्नुहोस् ।

