![]() |
नेपाल सरकार राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (कार्यक्षेत्र: रुपन्देही र नवलपरासी (ब.सु.प)) |
|
कृषि मौसम सल्लाह बुलेटिन (वर्ष-१२ अंक २२)
मौसमी सारांशः
- गत साताभर मनसुनी वायुको प्रभावले देशभर वर्षा मापन भएको छ। सुदूरपश्चिम, बागमती र कोशी प्रदेशका केही केन्द्रहरूमा १००.० मिलिमिटरभन्दा बढी साप्ताहिक कुल वर्षा मापन भएका छन्। देशभरका वर्षा मापन भएका केही केन्द्रहरूमा सरदरभन्दा बढी वर्षा मापन भएको छ। विशेष गरी सुदूरपश्चिम प्रदेशका अधिकांश केन्द्रहरूमा र बागमती प्रदेशका पहाडका केन्द्रहरूमा सरदरभन्दा बढी वर्षा मापन भएको छ। गत साता देशका केही केन्द्रहरूमा सरदरभन्दा बढी साप्ताहिक औसत अधिकतम तापक्रम मापन भएका छन् भने अधिकांश केन्द्रहरूमा सरदरभन्दा बढी साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएका छन्।
- आगामी साता देशभर नै मनसुनी वायुको प्रभाव रहने छ। साताभर मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहने सम्भावना छ ।
- हिमाली भू-भागः सबै प्रदेशमा केही स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशमा साताभर एक-दुई स्थानमा भारी वर्षा/हिमपातको सम्भावना छ। साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताको सुरूमा मात्र एक-दुई स्थानमा भारी वर्षा/हिमपातको सम्भावना छ।
- पहाडी भू-भागः बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताको सुरू र मध्यमा धेरै स्थानमा तथा अन्त्यमा केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशमा साताको सुरू र मध्यमा थोरै स्थानमा र अन्त्यमा एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताभर एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी प्रदेशमा साताको मध्यमा र अन्त्यमा धेरै स्थानमा तथा सुरूमा केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। साथै साताको मध्य र अन्त्यमा थोरै स्थानमा तथा सुरूमा एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
- तराई भू-भागः केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा साताभर एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। मधेश प्रदेशमा साताको सुरूमा तथा बागमती र गण्डकी प्रदेशमा साताको सुरू र मध्यमा एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
- आगामी साता वर्षा औसत नै रहने सम्भावना छ। अधिकतम र न्यूनतम दुबै तापक्रम उल्लेखनीय परिवर्तन नहुने तर औसतभन्दा केही बढी नै रहने सम्भावना छ।
कृषि सारांश
- धानबालीमा मरुवा रोग देखापर्ने बित्तिकै व्यवस्थापनका लागि ट्राइसाइक्लाजोल ७५% डब्लुपी २ ग्राम प्रतिलिटर पानीको दरले प्रत्येक १२-१४ दिनको फरकमा २-३ पटकसम्म सम्पूर्ण बोटहरू भिज्नेगरी छर्केर उपचार गर्नुहोस् ।
- बालीनालीमा रासायनिक विषादीको प्रयोग गर्दा सकेसम्म हरियो र नीलो लेबल भएको विषादी प्राविधिकको सल्लाहअनुसार प्रयोग गर्नुहोस्। कडा घाम लागेको, धेरै हावा लागेको र पानी परिरहेको बेलामा विषादी नछर्कनुहोस् । विषादी छर्कने बेलामा व्यक्तिगत सुरक्षा उपकरणहरू जस्तै मास्क, पञ्जा, चस्मा, बुट र एप्रोन लगाई विषादी छर्कंदै अगाडितर्फ बढ्नु हुँदैन, पछाडि सर्दै आउनुहोस् ।
- मनसुनी वर्षाको समय भएकोले सबै फलफूल बगैंचामा नियमित सरसफाइ गर्नुका साथै पानी निकासको उचित व्यवस्था गर्नुहोस् । सबै किसिमका फलफूल तथा तरकारी बालीहरूमा मौसमको अवस्था हेरेर (कडा घाम लागेको, धेरै हावा लागेको, पानी परिरहेको बेला नपारी) मात्र विषादी छर्कनुहोस् । विषादी छर्कंदा विशेष सावधानी अपनाउनुहोस् ।
- स्याउ भण्डारणमा हुने क्षति कम गर्न साथै ढुवानी लागत घटाउन स्याउ टिपेपश्चात डोकोको भित्री भागको वरिपरि घाँस वा पछ्यौरा राखेर स्याउ प्याकेजिङ्ग गरी ढुवानी गर्नुहोस्। भेट्नो काटेका स्याउका फलहरूलाई स्टाइरोफोम जालीभित्र राखी भेन्टिलेसन भएका १० केजी फल अट्ने ५ प्लाई १६० पिएसआई क्षमताका कार्टुनहरूमा हरेक तहमा डेकप्लेट राखी प्याकेजिङ्ग गरी ढुवानी गर्नुहोस्।
- सुन्तलाजात फलफूल बगैंचामा फल कुहाउने औंसाको कारणले झरेका फलहरू औंसाहरू निस्केर माटोमा जानुभन्दा पहिले नै संकलन गरी नष्ट गर्नुहोस्। यसो गर्दा कीरा व्यवस्थापन भई क्षति न्यूनीकरणमा मद्दत गर्दछ।
- खुर्सानीमा कोत्रे रोग व्यवस्थापनको लागी रोगग्रस्त डाँठ तथा फलहरूलाई हटाउनुहोस्। सिँचाइको लागि स्प्रिंकल विधि प्रयोग नगर्नुहोस् साथै क्लोरोथालोनिल विषादी २ ग्राम प्रतिलिटर पानीको दरले ८-१० दिनको फरकमा २-३ पटकसम्म सम्पूर्ण बोटहरू भिज्नेगरी छर्केर उपचार गर्नुहोस् ।
- अलैंची टिपिसकेपछि फल लिइसकेका, रोगी तथा थारा लाँक्रा छुरीको सहायताले जमिनको सतह नजिकैबाट काटी हाटाउनुहोस् । फल टिपाइ गर्दा र काँटछाँट गर्दा आगामी साल फल्ने लाँक्रा जोगाउनुहोस्। काँटछाँट गरेको भाग भिज्नेगरी १% को बोर्डोमिश्रण छर्कनुहोस् ।
- भदौदेखि मंसिरसम्म भैंसीहरू ऋतुकालमा आउने हुँदा ऋतुचक्रमा आएको लक्षणहरू याद गर्नुहोस्। भैंसीहरूले गाईको जस्तो लक्षण नदेखाई प्रायः सुषुप्त ऋतुकालको लक्षण देखाउँने हुँदा ऋतुकाल नगुमाउन राम्ररी अवलोकन गर्नुहोस्।
- भोटेकोशीमा आएको बाढीका कारण मरेका पशुपन्छी कुहिएर सरुवा रोग, जुनोटिक संक्रमण रोग र महामारी फैलिन सक्ने जोखिम उच्च हुन्छ। तसर्थ मरेका पशुपन्छीलाई खुला ठाउँ, वस्ती र पानीको मुहानभन्दा कम्तीमा ५० मिटर टाढा, कम्तीमा ३ फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्। साथै जीवित पशुपन्छीलाई सुख्खा ठाउँमा राखी सफा पानी र सुरक्षित दाना दिई गोठ/खोरमा नियमित चुना वा ब्लिचिङ पाउडर छर्कनुहोस्। पशुपन्छी बिरामी परेमा तुरुन्तै उद्धार तथा राहतको लागि खटिएका प्राविधिकलाई सम्पर्क गर्नुहोस् ।
- हाल बाखामा कुम्री (ढकेरी) रोग देखिनसक्ने भएकोले यसको रोकथामको लागि भदौदेखि कात्तिकसम्म मासिक एक चक्की डाइ इथाइल कार्बामाजिन (डीईसी)-१०० एमजी खुवाउनुहोस्। ढकेरी रोग ग्रसित बाख्राको हकमा दैनिक एक चक्की डीईसी सात दिनसम्म खुवाउनुहोस् र साथमा भिटामिन बी कम्पलेक्सको सुई २-३ दिनसम्म लगाउनुहोस् ।
- यस समयमा माटोमा पर्याप्त चिस्यान हुने भएकोले विशेषगरी बहुवर्षीय हिउँदे घाँसको नर्सरी राखुहोस् वा बिरुवा/स्लिप्स रोप्नुहोस् । जै, बर्सिम, ज्वाइन्ट भेच आदि हिउँदे घाँसहरू लगाउन जग्गा तयारी गर्नुहोस् ।
- ठूला भुरा/फिंगरलिंग र खानेमाछा उत्पादनको लागि सन्तुलित र २५ प्रतिशत प्रोटिन भएको दाना शारीरिक तौलको ३-५ प्रतिशतका दरले दैनिक दिनुहोस् ।
- कार्प माछामा बाह्य परजीवी आग्र्युलस (माछाको जुम्रा) को संक्रमण देखिएको अवस्थामा आइभरमेक्टिन १ एमएल प्रति २० केजी अथवा ड्युरोक्लिन १ ग्राम प्रति १०० केजी माछाको दरले दानामा औषधी मिसाइ ३ दिनसम्म लगातार दिएपछि २ दिन छोडी फेरि २ दिनसम्म लगातार दिनुहोस्। साथै माछाको प्रतिरोधी क्षमता बढाउन प्रतिकेजी दानामा १ ग्राम भिटामिन-सी सोही दानामा मिसाइ लगातार १५ दिनसम्म दिनुहोस् ।
- मौसम सम्बन्धी जिज्ञासाको लागि पैसा नलाग्ने नेपाल मौसम विज्ञान विभागको फोन नम्बर ११५५ मा फोन गर्नुहोस् ।
- कृषि र पशुसम्बन्धी जिज्ञासाको लागि पैसा नलाग्ने नार्कको फोन नम्बर ११३५ मा हरेक शुक्रबार साँझ ४ देखि ६ बजेसम्म फोन गर्नुहोस् ।

