![]() |
नेपाल सरकार राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (कार्यक्षेत्र: रुपन्देही र नवलपरासी (ब.सु.प)) |
|
कृषि मौसम सल्लाह बुलेटिन (बर्ष १२, अंक २१)
मौसमी सारांशः
- गत साताभर मनसुनी वायुको प्रभावले देशभर वर्षा मापन भएको छ। गण्डकी र कोशी प्रदेशका थोरै केन्द्रहरूमा २००.० मिलिमिटरभन्दा बढी साप्ताहिक कुल वर्षा मापन भएका छन् । देशभरमा वर्षा मापन भएका केही केन्द्रहरूमा सरदरभन्दा बढी वर्षा मापन भएको छ। गत साता देशका धेरै केन्द्रहरूमा सरदरभन्दा बढी साप्ताहिक औसत अधिकतम तापक्रम र अधिकांश केन्द्रहरूमा सरदरभन्दा बढी साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएका छन्।
- देशभर नै मनसुनी वायुको प्रभाव रहने छ। साताभर मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहने सम्भावना छ।
- हिमाली भू-भागः सबै प्रदेशमा साताको सुरू र अन्त्यमा केही तथा मध्यमा धेरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशमा साताको सुरू र अन्त्यमा एक-दुई र मध्यमा थोरै स्थानमा भारी वर्षा/हिमपातको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताको सुरू र मध्यमा एक-दुई स्थानमा भारी वर्षा/हिमपातको सम्भावना छ।
- पहाडी भू-भागः कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साताको सुरू र मध्यमा धेरै तथा अन्त्यमा केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताको सुरू र अन्त्यमा केही तथा मध्यमा धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशमा साताको सुरू र अन्त्यमा एक-दुई र मध्यमा थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताको सुरू र मध्यमा एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
- तराई भू-भागः साताको सुरू र मध्यमा केही स्थानमा, अन्त्यमा थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती,
- गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा साताको सुरू र मध्यमा एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। साताको मध्यमा मधेश प्रदेशमा एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
- अधिकतम र न्यूनतम दुबै तापक्रममा पहाडी र तराई क्षेत्रमा हल्का बढ्ने तथा हिमाली क्षेत्रमा उल्लेखनीय परिवर्तन नहुने सम्भावना छ।
कृषि सारांश
- धानबालीमा नेपाल कृषि अनुसन्धान परिषदबाट सिफारिस गरिएको मात्रा अनुसार युरिया टपड्रेस गर्नुहोस्। युरिया मलको विकल्पको रुपमा नानो झोल युरिया ४ एमएल प्रतिलिटर पानीमा मिसाइ सम्पूर्ण पात भिज्नेगरी टपड्रेस गर्ने समयमा छर्कनुहोस्। धानमा टपड्रेस गरिसकेपछि कम्तीमा २४ घण्टासम्म खेतबाट पानी बग्न नदिनुहोस् ।
- धानखेतमा गबारो कीराको क्षतिबाट गुबो मर्ने समस्या व्यवस्थापनको लागि सिंचित क्षेत्रमा थायोडिकार्व ७५% डब्लुपी २ ग्राम प्रतिलिटर पानीको दरले तथा अन्य क्षेत्रमा फिप्रोनिल ०.३% जी अथवा कारटाप हाइड्रोक्लोराइड ४% जी १५ देखि २० केजी प्रतिहेक्टरको दरले पानी नपरेको बेलामा स्टिकर मिसाइ मौसमको अवस्था हेरी छर्कनुहोस् ।
- धानबालीमा मरुवा रोग देखापर्ने बित्तिकै व्यवस्थापनका लागि ट्राइसाइक्लाजोल ७५% डब्लुपी २ ग्राम प्रतिलिटर पानीको दरले प्रत्येक १२-१४ दिनको फरकमा २-३ पटकसम्म सम्पूर्ण बोटहरू भिज्नेगरी छर्केर उपचार गर्नुहोस् ।
- मनसुनी वर्षाको समय भएकोले सबै फलफूल बगैंचामा नियमित सरसफाइ गर्नुका साथै पानी निकासको उचित व्यवस्था गर्नुहोस् । सबै किसिमका फलफूल तथा तरकारी बालीहरूमा मौसमको अवस्था हेरेर (कडा घाम लागेको, धेरै हावा लागेको, पानी परिरहेको बेला नपारी) मात्र विषादी छर्कनुहोस् । विषादी छर्कंदा विशेष सावधानी अपनाउनुहोस् ।
- भुइँकटहरको फल टिपिसकेपछि फल लागेको मुख्य डाँठलाई फेदबाट धारिलो चक्कुले काटेर हटाउनुहोस् ।
- स्याउको फल परिपक्व नहुँदै टिप्दा फलको आकार सानो, स्वाद अमिलो तथा टरों, रङ नचढेको, बास्ना नभएको तथा भण्डारणमा स्काल्ड विकृतिले फल खैरो भई गणुस्तर बिग्रने हुँदा सामान्यतया फलमा जात अनुसारको रङ चढी पूर्णरुपमा परिपक्व भई खान तयार भएपछि मात्र टिप्ने गर्नुहोस् ।
- मध्यपहाडी क्षेत्रका बारीमा जनकदेव, डेजिरे, कार्डिनल, खुमल सेतो-१, खुमल लक्ष्मी, खुमल उज्वल, खुमल उपहार, खुमल विकासजस्ता उपलब्ध हरियो टुसा आएको स्वस्थ बीउआलुलाई माटोजन्य रोगहरू लग्न नदिन कार्बेन्डाजिमयुक्त विषादी २ ग्राम प्रतिलिटर पानीको घोलमा २०-२५ मिनेटसम्म डुबाएर निकालेको बीउआलुलाई नओभाउन्जेलसम्म छहारीमा राखेर मात्र रोप्नुहोस् ।
- रायोबालीका मार्फा चौडा, खुमल चौडा पात, खुमल रातो पात, मनकामना, ताङ्खवा स्थानीय आदि जातहरूको नर्सरी राख्दा पानी नजम्ने बनाउनुहोस्। ३-४ पात भइसकेका रायोका बेर्नालाई हारदेखि हारसम्मको दूरी ४५ सेमी र बोटदेखि बोटसम्मको दूरी ३० सेमी कायम गरी सिफारिस मात्राको मलखाद प्रयोग गरी रोप्नुहोस् ।
- खुर्सानीमा कोत्रे रोग व्यवस्थापनको लागी रोगग्रस्त डाँठ तथा फलहरूलाई हटाउनुहोस्। सिँचाइको लागि स्प्रिंकल विधि प्रयोग नगर्नुहोस् साथै क्लोरोथालोनिल विषादी २ ग्राम प्रतिलिटर पानीको दरले ८-१० दिनको फरकमा २-३ पटकसम्म सम्पूर्ण बोटहरू भिज्नेगरी छर्केर उपचार गर्नुहोस् ।
- अलैंची टिपिसकेपछि फल लिइसकेका, रोगी तथा थारा लाँका छुरीको सहायताले जमिनको सतह नजिकैबाट काटी हाटाउनुहोस्। फल टिपाइ गर्दा र काँटछाँट गर्दा आगामी साल फल्ने लाँका जोगाउनुहोस्। काँटछाँट गरेको भाग भिज्नेगरी १% को बोर्डोमिश्रण छर्कनुहोस् ।
- भोटेकोशीमा आएको बाढीका कारण मरेका पशुपन्छी कुहिएर सरुवा रोग, जुनोटिक संक्रमण रोग र महामारी फैलिन सक्ने जोखिम उच्च हुन्छ। तसर्थ मरेका पशुपन्छीलाई खुला ठाउँ, वस्ती र पानीको मुहानभन्दा कम्तीमा ५० मिटर टाढा, कम्तीमा ३ फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्। साथै जीवित पशुपन्छीलाई सुख्खा ठाउँमा राखी सफा पानी र सुरक्षित दाना दिई गोठ/खोरमा नियमित चुना वा ब्लिचिङ पाउडर छर्कनुहोस्। पशुपन्छी बिरामी परेमा तुरुन्तै उद्धार तथा राहतको लागि खटिएका प्राविधिकलाई सम्पर्क गर्नुहोस् ।
- भोटेकोशी बाढीका कारण पशुपन्छीको दाना आपूर्तिमा असहज भएका स्थानहरूमा यथेष्ट मात्रामा पीना र गेडागुडी (भटमास, चना, केराउ, मुसुरो आदि) मिसाइ घरेलु विधिबाट पशुआहारा तयार गर्नुहोस्। यसरी दाना बनाउन सम्भव नभएको अवस्थामा उपलब्ध डालेघाँसहरू प्रशस्त मात्रामा खुवाउनुहोस् ।
- कार्प माछामा वाह्य परजीवी-आर्म्युलस (माछाको जुम्रा) को संक्रमण देखिएको अवस्थामा आइभरमेक्टिन १ एमएल प्रति २० केजी अथवा ड्युरोक्लिन १ ग्राम प्रति १०० केजी माछाको दरले दानामा औषधी मिसाइ ३ दिनसम्म लगातार दिएपछि २ दिन छोडी फेरि २ दिनसम्म लगातार दिनुहोस्। साथै माछाको प्रतिरोधी क्षमता बढाउन प्रतिकेजी दानामा १ ग्राम भिटामिन-सी सोही दानामा मिसाइ लगातार १५ दिनसम्म दिनुहोस् ।
- मौसम सम्बन्धी जिज्ञासाको लागि पैसा नलाग्ने जल तथा मौसम विज्ञान विभागको फोन नम्बर ११५५ मा फोन गर्नुहोस् ।
- कृषि र पशुसम्बन्धी जिज्ञासाको लागि पैसा नलाग्ने नार्कको फोन नम्बर ११३५ मा हरेक शुक्रबार साँझ ४ देखि ६ बजेसम्म फोन गर्नुहोस् ।

