![]() |
नेपाल सरकार राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (कार्यक्षेत्र: रुपन्देही र नवलपरासी (ब.सु.प)) |
|
कृषि मौसम सल्लाह बुलेटिन (बर्ष १२, अंक १७)
- गत साताभर मनसुनी वायुको प्रभावले देशभरका केन्द्रहरूमा वर्षा मापन भएको छ। बागमती, गण्डकी र कोशी प्रदेशका धेरै केन्द्रहरूमा तथा लुम्बिनी र मधेश प्रदेशका केही केन्द्रहरूमा १००.0 मिलिमिटरभन्दा बढी साप्ताहिक वर्षा मापन भएका छन्। देशभरमा वर्षा मापन भएका धेरै केन्द्रहरूमा सरदरभन्दा बढी वर्षा मापन भएको छ। गत साता देशका धेरै केन्द्रहरूमा सरदरभन्दा कम साप्ताहिक औसत अधिकतम तापक्रम र सरदरभन्दा बढी साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएका छन्।
- देशभर नै मनसुनी वायुको प्रभाव रहने छ। साताको सुरुमा मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास नै रहने छ भने साताको अन्त्यतिर सरदर स्थानबाट उत्तरतर्फ नेपालनजिक सर्ने देखिन्छ।
- हिमाली भू-भागः लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताको सुरूमा थोरै, मध्यमा धेरै र अन्त्यमा केही स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ भने साताको मध्य र अन्त्यमा एक-दुई स्थानमा भारी वर्षा/हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी प्रदेशमा साताको सुरूमा केही स्थानमा, मध्य र अन्त्यमा धेरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ भने साताको सुरू र अन्त्यमा एक-दुई स्थानमा, मध्यमा थोरै स्थानमा भारी वर्षा/हिमपातको सम्भावना छ।
- पहाडी भू-भागः लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताको सुरूमा थोरै स्थानमा, मध्यमा धेरै र अन्त्यमा केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ भने साताको मध्य र अन्त्यमा एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी प्रदेशमा साताको सुरूमा केही स्थानमा, मध्य र अन्त्यमा धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ भने साताको सुरू र अन्त्यमा एक-दुई स्थानमा, मध्यमा थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। साताको मध्यमा एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ।
- तराई भू-भागः देशको तराई भूभागमा साताको सुरूमा थोरै स्थानमा, मध्य र अन्त्यमा केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा साताको मध्यमा एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। कोशी प्रदेशमा साताको मध्यमा थोरै स्थानमा, अन्त्यमा एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
- देशभर अधिकतम र न्यूनतम तापक्रम उल्लेखनीय परिवर्तन नहुने सम्भावना छ।
कृषि सारांश
- धानबालीमा हरियो मलको रूपमा तयार भएको एजोला २० केजी प्रतिकठ्ठा वा ३० केजी प्रतिरोपनीका दरले प्रयोग गर्नुहोस्। एजोला वृद्धिको लागि कम्तीमा १० दिनसम्म धानखेतमा पानीको गहिराइ ५-१० सेमी कायम गर्नुहोस्, साथै खेतबाट पानी तथा एजोला बगेर जान नदिनुहोस्।
- असार महिनामा लगाइएको र खेतमा राम्रोसँग ढाकेको अवस्थाको एजोलालाई धानको पहिलो गोडाइमा राम्रोसँग माटोमा मिलाउनुहोस्।
- सुख्खा छरुवा धानमा साथै रोपेको धानमा झारपात व्यवस्थापनको लागि बिस्पाइरिबेक २५ लिटर पानीमा १२ एमएलको दरले एक रोपनीमा वा १७ लिटर पानीमा ८ एमएलको दरले एक कठ्ठामा धान छरेको १५-२५ दिनभित्र माटोमा छिपछिपे पानी भएको अवस्थामा फ्लाट फ्यान नोजलको प्रयोगले स्प्रे गर्नुहोस्।
- धान रोपेको २-३ हप्तापछि खेतमा निरन्तर पानी जमेको अवस्थामा धानबालीमा फेद कुहिने रोग लाग्ने हुनाले नियमित अवलोकन गर्नुहोस्। नियन्त्रणको लागि रोगी बोटहरू उखेलेर नष्ट गर्नुहोस्। प्रकोप ज्यादा देखिएमा खेतमा जमेको पानी निकास गरेपछि २ ग्राम बेभिष्टिन प्रतिलिटर पानीमा मिसाइ ८-१० दिनको फरकमा २-३ पटक बोट भिज्नेगरी छर्कनुहोस्।
- धान रोपेको २५-३० दिनपछि (गाँज आउने समयमा) नेपाल कृषि अनुसन्धान परिषदबाट सिफारिस गरिएको मात्रा अनुसार युरिया टपड्रेस गर्नुहोस्। युरिया मलको विकल्पको रुपमा नानो झोल युरिया ४ एमएल प्रतिलिटर पानीमा मिसाइ सम्पूर्ण पात भिज्नेगरी टपड्रेस गर्ने समयमा छर्कनुहोस्। धानमा टपड्रेस गरिसकेपछि कम्तीमा २४ घण्टासम्म खेतबाट पानी बग्न नदिनुहोस्।
- सबै किसिमका फलफूल तथा तरकारी बालीहरूमा मौसमको अवस्था हेरेर (कडा घाम लागेको, धेरै हावा लागेको, पानी परिरहेको बेला नपारी) मात्र विषादी छर्कनुहोस्। वर्षातको समयमा विषादी छर्कँदा स्टिकर मिसाएर मात्र प्रयोग गर्नुहोस्। साथै विषादी छर्कँदा विशेष सावधानी अपनाउनुहोस्।
- स्याउको फल परिपक्व नहुँदै टिप्दा फलको आकार सानो, स्वाद अमिलो तथा टर्रो, रङ नचढेको, बास्ना नभएको तथा भण्डारणमा स्काल्ड विकृतिले फल खैरो भई गणुस्तर बिग्रने हुँदा सामान्यतया फलमा जात अनुसारको रङ चढी पूर्णरुपमा परिपक्व भई खान तयार भएपछि मात्र टिप्ने गर्नुहोस्।
- मध्यपहाडमा भदौमा लगाउने आलुबालीका लागि खुमल सेतो-३, खुमल रातो-४, कुफ्रिज्योती, डेजिरे, जनकदेव, खुमल उज्ज्वल, खुमल उपहार, खुमल विकासमध्ये उपलब्ध जातको स्वस्थ बीउ भरपर्दो स्रोतबाट व्यवस्था गर्नुहोस्।
- रायोबालीका मनकामना, खुमल चौडा पात, खुमल रातो पात आदि जातहरूको नर्सरी राख्दा पानी जम्ने नबनाउनुहोस्। नर्सरी राख्दा १ वित्ता (१५-२० सेमी) अग्लो र १ मिटर चौडाइको व्याड बनाइ ४ अंगुल (५ सेमी) को फरकमा लाइन कोरेर पातलो गरी बीउ राखी हल्का माटोले पुरेपछि छापो राख्नुहोस्।
- तराई तथा मध्यपहाडमा चालीस दिने र मिनो अर्ली जातको मुला लाइनदेखि लाइनको दूरी ४५ सेमी र बोटदेखि बोटको दूरी २५ सेमी हुनेगरी, २-३ सेमीको गहिराइमा रोप्नुहोस्।
- मध्यपहाडी जिल्लाहरूमा सिमी र बोडीको बीउ उत्पादनका लागि सिफारिस गरिएका जातका बीउहरू मौसमको अवस्था हेरी ड्याङ उठाएर मात्र रोप्नुहोस्।
- खुर्सानीबालीमा ढुसीको कारण बोट ओइलाउने रोग (फाईटोप्थोरा) लागेमा पानी निकासको उचित प्रवन्ध गर्नुहोस्, रोगी बोटहरू हटाउनुहोस्। प्रकोप भएमा कपरयुक्त विषादी २ ग्राम प्रतिलिटर पानीमा मिसाइ ७-१० फरकमा २-३ पटक जरा र वरिपरिको माटो भिज्नेगरि छर्कनुहोस्।
- वर्षातको मौसममा ६ महिनाभन्दा बढी उमेरका गाई-गोरूमा साउने (तीन दिने) ज्वरो देखा परेमा फेनाइलब्युटाजोन समूहका औषधीहरू १०-१५ एमएलको सुइ मासुमा एक वा दुईपटक लगाउनुहोस्। ज्वरोको दुखाइ कम गर्न मेलोक्सेकेम इन्जेक्सन १०-१५ एमएल प्राविधिकको सहयोगमा ३ दिनसम्म लगाउनुहोस्।
- वर्षातको समयमा सुरक्षित ओत खोज्दै गोठभित्र पस्ने सर्पहरूबाट पशुचौपायालाई जोगाउन गोठको बाहिरी भागमा वा कुनाकाप्चामा कडा गन्ध आउने फिनाइल छर्कनुहोस्। साथै गोठको वरपर बाबरी, कागती, वा मरिचजस्ता कडा गन्ध आउने बिरुवाहरू रोप्नुहोस्।
- हाल सुँगुर/बंगुरहरूमा अफ्रिकन स्वाइन फिभरको जोखिम बढ्दै गरेको हुँदा फार्महरूमा जैविक सुरक्षाका विधिहरू अपनाउनुहोस्। रोगी बंगुरलाई अलग राख्ने, बंगुरको ओसारपसार तथा आवतजावतमा नियन्त्रण गर्ने र गोठ सरसफाइमा ध्यान दिनुहोस्।
- भल पानीसँगै आइमेरिया रोगका विजाणु बगेर आउने, ट्राउट माछा पालन गरेको रेसवे पोखरीहरूमा मिसिन सक्ने र ट्राउट माछामा पहेँलो छेर्ने रोग देखिनसक्ने हुँदा भल तर्काउनुहोस्। रोग देखापरेमा टोल्ट्राजुरिल १५ एमजी प्रतिकेजी माछाको शारीरिक तौलका दरले दानामा औषधी मिसाइ खुवाउनुहोस्। यो औषधी जम्मा ७ दिन (पहिलो, दोस्रो, तेस्रो, छैठौँ, सातौँ नवौँ र दशौँ दिनमा) दानामा मिसाइ खुवाउनुहोस्। साथै रोगसँग लड्ने क्षमता अभिवृद्धि गर्न भिटामिन-सी ०.५ ग्राम प्रतिकेजी दानाको दरले १५ दिनसम्म लगातार खुवाउनुहोस्।
- मौसम सम्बन्धी जिज्ञासाको लागि पैसा नलाग्ने जल तथा मौसम विज्ञान विभागको फोन नम्बर ११५५ मा फोन गर्नुहोस्।
- कृषि र पशुसम्बन्धी जिज्ञासाको लागि पैसा नलाग्ने नार्कको फोन नम्बर ११३५ मा हरेक शुक्रबार साँझ ४ देखि ६ बजेसम्म फोन गर्नुहोस्।

