कृषि मौसम सल्लाह बुलेटिन (बर्ष १२, अंक १६)

मौसमी सारांश:

  • गत साताभर मनसुनी वायुको प्रभावले देशका अधिकांश केन्द्रहरूमा वर्षा मापन भएको छ। बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी र उच्च पहाडी भेगका केही केन्द्रहरूमा १००.0 मिलिमिटरभन्दा बढी साप्ताहिक वर्षा मापन भएका छन्। देशभरमा वर्षा मापन भएका धेरै केन्द्रहरूमा सरदरभन्दा कम वर्षा मापन भएको छ। सबैभन्दा बढी गण्डकी प्रदेशको कास्की जिल्लाको लुम्ले केन्द्रमा ४०६.२ मिलिमिटर साप्ताहिक कुल वर्षा मापन भएको छ। गत साता देशका अधिकांश केन्द्रहरूमा सरदरभन्दा बढी साप्ताहिक औसत अधिकतम तापक्रम र धेरै केन्द्रहरूमा सरदरभन्दा बढी साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएका छन्।
  • देशभर नै मनसुनी वायुको प्रभाव रहनेछ। साताको सुरुमा मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास नै रहनेछ भने साताको मध्यबाट सरदर स्थानबाट केही माथी सर्नेछ।
  • हिमाली भू-भागः देशभर साताको सुरूमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताको मध्य र अन्त्यमा केही स्थानमा तथा कोशी, बागमती र गण्डकी प्रदेशमा साताको मध्य र अन्त्यमा धेरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशमा साताको सुरूमा एक-दुई स्थानमा, मध्य र अन्त्यमा थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताको मध्य र अन्त्यमा एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
  • पहाडी भू-भागः कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साताभर धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताको सुरूमा केही स्थानमा, मध्य र अन्त्यमा धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साताको सुरूमा एक-दुई स्थानमा, मध्य र अन्त्यमा थोरै स्थानमा भारी वर्षाको सम्भावना, साताको मध्य र अन्त्यमा एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताभर एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
  • तराई भू-भागः कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साताको सुरूमा केही स्थानमा, मध्य र अन्यमा धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशमा साताभर केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साताको सुरू र मध्यमा एक-दुई स्थानमा, अन्त्यमा थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशमा साताभर एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
  • देशभर अधिकतम र न्यूनतम तापक्रम उल्लेखनीय परिवर्तन नहुने सम्भावना छ।

कृषि सारांश

 

  • भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेका स्थानहरूमा मकैबाली, तरकारी तथा फलफूल बगैँचालगायत प्लास्टिक घर, पशुपन्छीका खोर-गोठहरू वरिपरि पानी जम्न नदिन निकासको उचित प्रबन्ध गर्नुहोस्।
  • धानबालीमा हरियो मलको रूपमा तयार भएको एजोला २० केजी प्रतिकठ्ठा वा ३० केजी प्रतिरोपनीका दरले प्रयोग गर्नुहोस्। एजोला वृद्धिको लागि कम्तीमा १० दिनसम्म धानखेतमा पानीको गहिराइ ५-१० सेमी कायम गर्नुहोस्, साथै खेतबाट पानी तथा एजोला बगेर जान नदिनुहोस्।
  • सुख्खा छरुवा धानमा साथै रोपेको धानमा झारपात व्यवस्थापनको लागि बिस्पाइरिबेक (Bispyribac Sodium 10 % SC) २५ लिटर पानीमा १२ एमएलको दरले एक रोपनीमा वा १७ लिटर पानीमा ८ एमएलको दरले एक कठ्ठामा धान छरेको १५-२५ दिनभित्र माटोमा छिपछिपे पानी भएको अवस्थामा फ्लाट फ्यान नोजलको प्रयोगले स्प्रे गर्नुहोस्।
  • धान रोपेको २-३ हप्तापछि खेतमा निरन्तर पानी जमेको अवस्थामा धानबालीमा फेद कुहिने रोग लाग्ने हुनाले नियमित अवलोकन गर्नुहोस्। नियन्त्रणको लागि रोगी बोटहरू उखेलेर नष्ट गर्नुहोस्। प्रकोप ज्यादा देखिएमा खेतमा जमेको पानी निकास गरेपछि २ ग्राम बेभिष्टिन प्रतिलिटर पानीमा मिसाइ ८-१० दिनको फरकमा -पटक बोट भिज्नेगरी छर्कनुहोस्।
  • सबै किसिमका फलफूल तथा तरकारी बालीहरूमा विषादी राख्नैपर्ने भएमा मौसमको अवस्था हेरेर (कडा घाम लागेको, धेरै हावा लागेको, पानी परिरहेको बेला नपारी) मात्र विषादी छर्कनुहोस्। वर्षातको समयमा विषादी छर्कनै पर्ने भएमा स्टिकर मिसाएर मात्र प्रयोग गर्नुहोस्। साथै विषादी छर्कँदा विशेष सावधानी अपनाउनुहोस्।
  • जुनार तथा सुन्तलाको फल चुस्ने चुसाहा पुतली कीराको प्रकोप हुनसक्ने भएकोले बगैँचाको नियमित अनुगमन गरी सरसफाइ गर्नुहोस्, झरेका फलहरू संकलन गरी नष्ट गर्ने, बगैचामा धुवाँको व्यवस्था गरी कीरा धपाउने, बत्तीमा आकर्षित गरी पुतली नष्ट गर्ने, साथै प्रकोप ज्यादा भएमा मालाथियन २ एमएलको घोलमा १०० ग्राम सख्खर मिसाएर छर्कनुहोस्।
  • मध्यपहाडमा भदौमा लगाउने आलुबालीका लागि खुमल सेतो-, खुमल रातो-, कुफ्रिज्योती, डेजिरे, जनकदेव, खुमल उज्ज्वल, खुमल उपहार, खुमल विकासमध्ये उपलब्ध जातको स्वस्थ बीउ भरपर्दो स्रोतबाट व्यवस्था गर्नुहोस्।
  • मध्यपहाडी जिल्लाहरूमा सिमी र बोडीको बीउ उत्पादनका लागि सिफारिस गरिएका जातका बीउहरू मौसमको अवस्था हेरी ड्याङ उठाएर मात्र रोप्नुहोस्।
  • मध्यपहाडी जिल्लाहरूमा काउलीका अगौटे जातहरूः सिल्भर कप ६०, ह्वाइट टप, सुपर ह्वाइट टप, तराई र तराई तथा खुमल ज्यापू काउलीको नर्सरी राख्नुहोस्। ब्याड राख्ने जग्गामा बेभिष्टीन ग्राम प्रतिलिटर पानीमा मिसाइ बी राख्नु - दिन अगाडि माटोको उपचार गर्नुहोस्। झरी पर्ने समय भएकोले बेर्नालाई जोगाउन नर्सरीमा खर, पराल वा प्लाष्टिकको छानो राख्नुहोस्।
  • खुर्सानीबालीमा ढुसीको कारण बोट ओइलाउने रोग (फाईटोप्थोरा) लागेमा पानी निकासको उचित प्रवन्ध गर्नुहोस्, रोगी बोटहरू हटाउनुहोस्। प्रकोप भएमा कपरयुक्त विषादी २ ग्राम प्रतिलिटर पानीमा मिसाइ ७-१० फरकमा २-३ पटक जरा र वरिपरिको माटो भिज्नेगरि छर्कनुहोस्।
  • तयार भएको सयपत्री फूलको बेर्ना हारदेखि हार ५० सेमी र बोटदेखि बोट ४०-५० सेमीको दूरीमा सार्नुहोस्।
  • वर्षातको समयमा सुरक्षित ओत खोज्दै गोठभित्र पस्ने सर्पहरूबाट पशुचौपायालाई जोगाउन गोठको बाहिरी भागमा वा कुनाकाप्चामा कडा गन्ध आउने फिनाइल छर्कनुहोस्। साथै गोठको वरपर बाबरी, कागती, वा मरिचजस्ता कडा गन्ध आउने बिरुवाहरू रोप्नुहोस्।
  • पानी जमेको अथवा सिमसार क्षेत्रमा शंखेकीराको प्रकोप बढी हुने र उक्त स्थानका घाँसपात पशुचौपायाले खाँदा नाम्ले रोग लाग्न सक्ने हुँदा ती स्थानहरूमा चराउन नलैजाने र घाँसलाई घाममा ओइलाएर मात्र खुवाउनुहोस्। पशुचौपायाले धेरै पातलो छेरेमा गोबर परीक्षण गराइ प्राविधिकको सल्लाहमा जुका विरूद्धको उपयुक्त औषधी खुवाउनुहोस्।
  • माछालाई खुवाउने दानालाई सफा, ओभानो र सुख्खा तथा हावा खेल्ने कोठामा जुट वा प्लाष्टिकको बोरामा प्याक गरी काठको फल्याकमाथि राखी भण्डारण गर्नुहोस्। चिसो ठाँउमा भण्डारण गरेको दानामा ढुसीको संक्रमण हुनसक्ने र यस्तो दाना खुवाउँदा कलेजो सुन्निने रोग (हेपाटोमा) लाग्नसक्ने भएकोले बेला-बेलामा भण्डारण गरेको दानाको निरीक्षण गर्नुहोस्।
  • मौसम सम्बन्धी जिज्ञासाको लागि पैसा नलाग्ने जल तथा मौसम विज्ञान विभागको फोन नम्बर ११५५ मा फोन गर्नुहोस्।
  • कृषि पशुसम्बन्धी जिज्ञासाको लागि पैसा नलाग्ने नार्कको फोन नम्बर ११३५ मा हरेक शुक्रबार साँझ ४ देखि बजेसम्म फोन गर्नुहोस्।