कृषि मौसम सल्लाह बुलेटिन (बर्ष १२, अंक १५)

मौसमी सारांश:

  • गत साताभर मनसुनी वायुको प्रभावले देशभरका केन्द्रहरूमा वर्षा मापन भएको छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका अधिकांश पहाडी र उच्च पहाडी केन्द्रहरूमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरूमा १००.0 मिलिमिटरभन्दा बढी साप्ताहिक वर्षा मापन भएका छन्। देशभरमा वर्षा मापन भएका केही केन्द्रहरूमा सरदरभन्दा कम वर्षा मापन भएको छ। विशेषगरी यो साता मधेश प्रदेश र कोशी प्रदेशका तराईका अधिकांश केन्द्रहरूमा सरदरभन्दा कम वर्षा मापन भएको छ। गत साता वर्षा र बदलीका कारण देशका केही केन्द्रहरूमा सरदरभन्दा बढी अधिकतम तापक्रम र धेरै केन्द्रहरूमा सरदरभन्दा बढी न्यूनतम तापक्रम मापन भएका छन्।
  • आगामी साता देशभर नै मनसुनी वायुको प्रभाव रहनेछ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास नै रहनेछ भने साताको अन्त्यमा नेपालको पश्चिमी भू-भागमा सरदर स्थानभन्दा उत्तरति सर्नेछ।
  • हिमाली भू-भागः देशभर साताको सुरूमा केही स्थानमा र मध्य र अन्त्यमा धेरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशमा साताको सुरू र अन्त्यमा एक-दुई स्थानमा र मध्यमा थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। लुम्बिनी र कर्णाली प्रदेशमा साताको मध्यमा एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। साथै सुदूरपश्चिम प्रदेशमा साताको मध्य र अन्त्यमा एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
  • पहाडी भू-भागः कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साताभर धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। साताभर थोरै स्थानमा भारी वर्षा र मध्यमा एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताको सुरूमा केही स्थानमा तथा मध्य र अन्यमा धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। साताको सुरू र अन्त्यमा एक-दुई स्थानमा र मध्यमा थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
  • तराई भू-भागः साताको सुरूमा केही स्थानमा तथा मध्य र अन्त्यमा धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साताको सुरू र अन्त्यमा एक-दुई स्थानमा तथा मध्यमा थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। मधेश प्रदेशमा साताको मध्यमा एक-दुई स्थानमा तथा सुदूरपश्चिम प्रदेशमा साताको अन्त्यमा एक-दुई स्थानमा र मध्यमा थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
  • आगामी साता देशभर अधिकतम र न्यूनतम तापक्रम उल्लेखनीय परिवर्तन नहुने सम्भावना छ।

कृषि सारांश

 

  • भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेका स्थानहरूमा मकैबाली, तरकारी तथा फलफूल बगैँचालगायत प्लास्टिक घर, पशुपन्छीका खोर-गोठहरू वरिपरि पानी जम्न नदिन निकासको उचित प्रबन्ध गर्नुहोस्।
  • २१-२५ दिन भैसकेको धानको बेर्ना प्रतिरोपो २-३ वटाको दरले रोप्नुहोस्। हारदेखि हार २० सेन्टिमिटर र रोपो देखी रोपो १५ सेन्टिमिटर दूरीमा र सूचीकृत गरिएका बर्णशंकर धान १ गोटा बेर्नाको दरले हारदेखि हार २० सेन्टिमिटर र रोपोदेखि रोपो २० सेन्टिमिटर दूरीमा रोप्नुहोस्।
  • धानबालीमा हरियो मलको रूपमा तयार भएको एजोला २० केजी प्रतिकठ्ठा वा ३० केजी प्रतिरोपनीका दरले प्रयोग गर्नुहोस्। एजोला वृद्धिको लागि कम्तीमा १० दिनसम्म धानखेतमा पानीको गहिराइ ५-१० सेमी कायम गर्नुहोस्, साथै खेतबाट पानी तथा एजोला बगेर जान नदिनुहोस्।
  • सुख्खा छरुवा धानमा साथै रोपेको धानमा झारपात व्यवस्थापनको लागि बिस्पाइरिबेक (Bispyribac Sodium 10 % SC)  २५ लिटर पानीमा १२ एमएलको दरले एक रोपनीमा वा १७ लिटर पानीमा ८ एमएलको दरले एक कठ्ठामा धान छरेको १५-२५ दिनभित्र माटोमा छिपछिपे पानी भएको अवस्थामा फ्लाट फ्यान नोजलको प्रयोगले स्प्रे गर्नुहोस्।
  • धानखेतमा गुबो मर्ने समस्या हुने भएकोले नियमित अनुगमन गरी प्रकोप बढी भएमा कारटाप हाइड्रोक्लोराइड ४% जी.आर. प्रति कठ्ठा ५०० ग्रामको दरले प्रयोग गर्नुहोस्।
  • धान रोपेको २-३ हप्तापछि खेतमा निरन्तर पानी जमेको अवस्थामा धानबालीमा फेद कुहिने रोग लाग्ने हुनाले नियमित अवलोकन गर्नुहोस्। नियन्त्रणको लागि रोगी बोटहरू उखेलेर नष्ट गर्नुहोस्। प्रकोप ज्यादा देखिएमा खेतमा जमेको पानी निकास गरेपछि २ ग्राम बेभिष्टिन प्रतिलिटर पानीमा मिसाइ ८-१० दिनको फरकमा -पटक बोट भिज्नेगरी छर्कनुहोस्।
  • सबै किसिमका फलफूल तथा तरकारी बालीहरूमा विषादी राख्नैपर्ने भएमा मौसमको अवस्था हेरेर (कडा घाम लागेको, धेरै हावा लागेको, पानी परिरहेको बेला नपारी) मात्र विषादी छर्कनुहोस्। वर्षातको समयमा विषादी छर्कनै पर्ने भएमा स्टिकर मिसाएर मात्र प्रयोग गर्नुहोस्। साथै विषादी छर्कँदा विशेष सावधानी अपनाउनुहोस्।
  • आँपको रुटस्टक तयारी अवस्थामा छ भने इपिकोटायल ग्राफ्टिङ्ग गर्नुहोस्।
  • मध्यपहाडमा भदौमा लगाउने आलुबालीका लागि खुमल सेतो-, खुमल रातो-, कुफ्रिज्योती, डेजिरे, जनकदेव, खुमल उज्ज्वल, खुमल उपहार, खुमल विकासमध्ये उपलब्ध जातको स्वस्थ बीउ भरपर्दो स्रोतबाट व्यवस्था गर्नुहोस्।
  • मध्यपहाडी जिल्लाहरूमा सिमी र बोडीको बीउ उत्पादनका लागि सिफारिस गरिएका जातका बीउहरू मौसमको अवस्था हेरी रोप्न सुरू गर्नुहोस्।
  • मध्यपहाडी जिल्लाहरूमा काउलीका अगौटे जातहरूः सिल्भर कप ६०, ह्वाइट टप, सुपर ह्वाइट टप, तराई र तराई तथा खुमल ज्यापू काउलीको नर्सरी राख्नुहोस्। ब्याड राख्ने जग्गामा बेभिष्टीन ग्राम प्रतिलिटर पानीमा मिसाइ बी राख्नु - दिन अगाडि माटोको उपचार गर्नुहोस्। झरी पर्ने समय भएकोले बेर्नालाई जोगाउन नर्सरीमा खर, पराल वा प्लाष्टिकको छानो राख्नुहोस्।
  • खुर्सानीको बोट ओइलाउने र जरा कुहिने रोग लाग्नबाट बचाउनका लागि पानी निकासको उचित प्रवन्ध गर्नुहोस्, रोगी बोटहरू हटाउनुहोस्। प्रकोप भएमा कपरयुक्त विषादी २ ग्राम प्रतिलिटर पानीमा मिसाइ ७-१० फरकमा २-३ पटक जरा र वरिपरिको माटो भिज्नेगरी ड्रेन्चिङ गर्नुहोस्।
  • फागुन-चैतमा लगाइएको अदुवा बालीको गानो (बुढी) निकाल्नुहोस्। 
  • भारी वर्षाले गर्दा हुने बाढीमा मुसाको मुत्रबाट मानिसमा सर्ने लेप्टोस्पाइरोसिस नामक जुनोटिक रोगको प्रकोप बढी हुने भएकाले धान/खेतबारीमा बुट लगाएर मात्र जानुहोस्।
  • वर्षातको समयमा खोर र गोठ वरिपरि पानी जम्ने, झाडी बढ्ने र दुलोहरूमा पानी भरिने हुनाले सर्पहरू सुरक्षित ओत खोज्दै गोठभित्र पस्ने सम्भावना निकै उच्च हुन्छ। यस्तो बेला पशुचौपायालाई सर्पदंशबाट जोगाउन गोठको बाहिरी भागमा वा कुनाकाप्चामा कार्वोलिक एसिड वा कडा गन्ध आउने फिनाइल छर्कनुहोस्। साथै गोठको वरपर बाबरी, कागती, वा मरिचजस्ता कडा गन्ध आउने बिरुवाहरू रोप्नुहोस्।
  • शंखेकीराको प्रकोप भएको, पानी जमेको ठाउँमा अथवा सिमसार क्षेत्रमा पशुचौपायालाई चराउन लैजानु हुँदैन। ती ठाउँका घाँसपात पशुचौपायाले खाँदा नाम्ले रोग लाग्न सक्दछ। तसर्थ पशुचौपायालाई घाँस खुवाउनुअघि घाममा ओइलाएर मात्र खुवाउनुहोस्।
  • माछालाई खुवाउने दानालाई सफा, ओभानो र सुख्खा तथा हावा खेल्ने कोठामा जुट वा प्लाष्टिकको बोरामा प्याक गरी काठको फल्याकमाथि राखी भण्डारण गर्नुहोस्। चिसो ठाँउमा भण्डारण गरेको दानामा ढुसीको संक्रमण हुनसक्ने र यस्तो दाना खुवाउँदा कलेजो सुन्निने रोग (हेपाटोमा) लाग्नसक्ने भएकोले बेला-बेलामा निरीक्षण गर्नुहोस्।
  • मौसम सम्बन्धी जिज्ञासाको लागि पैसा नलाग्ने जल तथा मौसम विज्ञान विभागको फोन नम्बर ११५५ मा फोन गर्नुहोस्।
  • कृषि पशुसम्बन्धी जिज्ञासाको लागि पैसा नलाग्ने नार्कको फोन नम्बर ११३५ मा हरेक शुक्रबार साँझ ४ देखि बजेसम्म फोन गर्नुहोस्।