![]() |
नेपाल सरकार राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (कार्यक्षेत्र: रुपन्देही र नवलपरासी (ब.सु.प)) |
|
कृषि मौसम सल्लाह बुलेटिन (बर्ष ११, अंक ४4)
मौसमी सारांश:
- गत साताभरी नै देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको र देशका थोरै केन्द्रहरूमा हल्का वर्षा मापन भएको छ। सबैभन्दा बढी गण्डकी प्रदेशको मुस्ताङ जिल्लामा रहेको लेते केन्द्रमा १४.८ मि.मि. साप्ताहिक कुल वर्षा मापन भएको छ। गत साता धेरै केन्द्रहरुमा अधिकतम तापक्रम र न्यूनतम तापक्रम सरदर भन्दा बढी मापन भएको छ। देशका केही हिमाली भू-भागमा शुन्य डि.से. भन्दा कम साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएको छ भने गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम -८.८ डि.से. साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएको छ।
- साताभर नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहने देखिन्छ।
- उच्च पहाडी तथा हिमाली भू-भागः साताभर कोशी प्रदेश र गण्डकी प्रदेशमा, साताको मध्य र अन्त्यमा बागमती प्रदेश तथा साताको अन्त्यमा कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना छ।
- पहाडी भू-भागः साताभर मुख्यतया सफा देखि आंशिक बदली रहने सम्भावना छ।
- तराई भू-भागः देशका तराई भू-भागमा साताभर बिहानपखको समयमा हुस्सु/कुहिरो रहने सम्भावना छ। बिहानको समयमा लाग्ने हुस्सु/कुहिरो मध्याह्नसम्ममा क्रमिक रुपमा सुधार हुने सम्भावना छ।
- यो साता देशका तराई र पहाडी भू-भागमा अधिकतम र पहाडी भू-भागमा न्यूनतम तापक्रम हल्का बढ्ने सम्भावना छ।
- औसतसँग तुलना गर्दाः सबै प्रदेशमा अधिकतम तापक्रम र न्यूनतम तापक्रम औसत भन्दा हल्का बढी रहने सम्भावना छ।
कृषि सारांश
- यस वर्षको हिउँद अवधिको हालसम्मको वर्षाको २० वटा केन्द्रको औसत हेर्दा यस अवधिमा वर्षा सरदरभन्दा कम र तापक्रम सरदर भन्दा बढी रहेकाले सबै किसिमका बाली, फलफूल तथा तरकारी बालीहरुको अनुगमन गरी सिंचाई गर्नुहोस् साथै चिस्यान संरक्षणका आवश्यक उपायहरु अपनाउनुहोस्।
- तराई, भित्री मधेश र पहाडका बेँसीहरू (७०० मिटरसम्म) का लागि सिफारिस गरिएका चैते धानका हर्दिनाथ-१, चैते-२, चैते-४, चैते-५ र चैते-६ जातहरू मध्ये उपलब्ध जातको प्रमाणित वा यथार्थ संकेतपत्र सहितको बीउ व्यवस्था गरी ब्याड राख्नुहोस्।
- चैते धानको लागि ब्याड बनाउँदा १ मिटर चौडाइ र जमिन हेरी लम्बाइ कायम गर्न सकिने तथा दुई ब्याड बीचमा ४०-५० से.मी. (२ बित्ता) को नाली बनाउनुहोस्। ब्याड बनाउनुअघि राम्ररी पाकेको कम्पोष्ट वा गोबर मल २-२.५ के.जी. प्रति वर्ग मिटरको दरले माटोमा राम्ररी मिलाउनुहोस्। ब्याडमा बीउ राख्नुअघि युरिया ४ ग्राम, डि.ए.पी. ९ ग्राम तथा पोटास ५ ग्राम प्रति वर्ग मिटरको दरले माटोमा राम्ररी मिलाउनुहोस्।
- गहुँबालीमा पहेँलो सिन्दुरे रोग तथा खैरो सिन्दुरे रोग देखा पर्न सुरु भएकोले रोग अनुगमन गरी प्रोपिकोनाजोल १ एम.एल. वा ट्याबुकोनाजोल ५०% र ट्राइफ्लोक्सिस्ट्रोबिन २५% मिश्रित ढुसीनाशक विषादी ०.५ ग्राम प्रति लिटर पानीको दरले १०-१२ दिनको फरकमा मौसमको अवस्था हेरी आबश्यकता अनुसार २-३ पटकसम्म पातहरू भिज्नेगरी छर्कनुहोस् वा नजिकैको कृषि कार्यालयमा सम्पर्क राख्नुहोस्।
- सबै प्रकारका फलफूल बगैँचामा आवश्यकता अनुसार सिँचाई गर्नुहोस्। सिँचाई सुविधा नभएमा स्याउला, घाँसपात वा कालो प्लाष्टिकको छापो राखी चिस्यान कायम राख्नुहोस्। मलखाद राख्ने उपयुक्त समय भएकोले चिस्यान कायम गरि सिफारिस गरिएको मात्रामा मलखाद राख्नुहोस्।
- लहरे तरकारी बालीहरुका लागि सिफारिस गरे बमोजिमको दूरीमा खाल्डा खनी राम्रो पाकेको गोबर मल ५ के.जी., हड्डिको धुलो १०० ग्राम, पीना १०० ग्राम, डि.ए.पी. ४० ग्राम, पोटास ४० ग्राम र बायोजाईम, जिङ्क, बोरेक्स प्रत्येक ३/३ ग्रामका दरले माटोमा मिसाई बिरुवा लगाउन शुरु गर्नुहोस्।
- लसुन प्याजको प्याजी डढुवा रोगको रोग व्यवस्थापनको लागि रोगग्रस्त सुकेका पातहरू हटाएर मेन्कोजेबयुक्त विषादी २.५ ग्राम वा क्लोरोथालोनिल २ ग्राम प्रति लिटर पानीको दरले ८-१० दिनको फरकमा २-३ पटकसम्म सम्पूर्ण बोट भिज्नेगरी छर्केर उपचार गर्नुहोस्।
- गोठेमल वा कम्पोष्ट मललाई खेतवारीमा थुप्रो पारेर वा फिँजाएर राख्दा नाइट्रोजन तत्व नोक्सान हुने भएकोले खुल्ला नछोडी लगत्तै जमीन जोतेर माटोमा मिलाउनुहोस्।
- ग्रामीणस्तरमा खुला रुपमा छाडेर पालिएका कुखुराहरुलाई आन्तरिक परजिवी विरुद्ध जुकाको औषधि खुवाउनुहोस् र रानिखेत रोग विरुद्ध Thermostable ND I-2 खोप प्रयोग लगाउनुहोस्।
- हाल सुँगुर/बंगुरहरूमा अफ्रिकन स्वाइन फिभरको उच्च जोखिम रहेकोले फार्ममा जैविक सुरक्षा अपनाउनुहोस्। सुँगुर/बंगुरहरूमा उच्च ज्वरो आइ मृत्युदर बढी भएमा विशेष सतर्कता अपनाई नजिकैको पशु सेवा कार्यालयहरूमा सम्पर्क राख्नुहोस्।
- प्रजननका लागि छुट्याइएका कार्प जातका भाले र पोथी (२:१) माछालाई छुट्टाछुट्टै पोखरीमा राखी कुल तौलको ३-४ प्रतिशतका दरले २८-३० प्रतिशत प्रोटिन रहेको दाना दिनहुँ नियमित समयमा दिनुहोस्।
- मौसम सम्वन्धी जिज्ञासाको लागि पैसा नलाग्ने जल तथा मौसम विज्ञान विभागको फोन नम्बर-११५५ मा फोन गर्नुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागि पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक शुक्रबार साँझ ४ देखि ६ बजेसम्म फोन गर्नुहोस्।

