![]() |
नेपाल सरकार राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (कार्यक्षेत्र: रुपन्देही र नवलपरासी (ब.सु.प)) |
|
कृषि मौसम सल्लाह बुलेटिन (बर्ष ११, अंक ४३)
- साताभर कुनै उल्लेखनिय मौसमी प्रणालीको प्रभाव नरहने देखिन्छ।
- उच्च पहाडी तथा हिमाली भू-भागः साताको मध्य र अन्त्यमा कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना छ।
- पहाडी भू-भागः साताभर मुख्यतया सफा देखि आंशिक बदली रहेको सम्भावना छ।
- तराई भू-भागः देशका तराई भू-भागमा साताभर विहानपखको समयमा हुस्सु/कुहिरो रहने देखिन्छ। बिहानको समयमा लाग्ने हुस्सु/कुहिरो मध्यान्ह सम्ममा क्रमिक रुपमा सुधार हुने सम्भावना छ।
- यस साता देशका अधिकांश भू-भागमा अधिकतम र न्यूनतम तापक्रम हल्का बढ्ने सम्भावना छ।
- औसत सँग तुलना गर्दाः सबै प्रदेशमा अधिकतम तापक्रम र न्यूनतम तापक्रम औसत भन्दा हल्का बढी रहने सम्भावना छ।
कृषि सारांश
- तराई, भित्री मधेश र पहाडका बेँसीहरु (७०० मिटरसम्म) का लागि सिफारिस गरिएका चैते धानका हर्दिनाथ-१, चैते-२, चैते-४, चैते-५ र चैते-६ जातहरु मध्ये उपलब्ध जातको यथार्थ संकेतपत्र सहितको बीउ व्यवस्था गरी ब्याड राख्नुहोस्।
- चैते धानको लागि ब्याड बनाउँदा १ मीटर चौडाई र जमीन हेरी लम्बाई कायम गर्न सकिने तथा दुई ब्याड बिचमा ४०-५० से.मी. (२ बित्ता) को नाली बनाउनुहोस्। ब्याड बनाउनु अघि राम्ररी पाकेको कम्पोष्ट वा गोबर मल २-२.५ के.जी. प्रति वर्ग मीटरको दरले माटोमा राम्ररी मिलाउनुहोस्। ब्याडमा बीउ राख्नुअघि युरिया ४ ग्राम, डि.ए.पी ९ ग्राम तथा पोटास ५ ग्राम प्रति वर्ग मीटरको दरले माटोमा राम्ररी मिलाउनुहोस्।
- बागलुङ र सोलुखुम्बु जिल्लाहरुका एक-दुई स्थानका गहुँबालीमा पहेंलो सिन्दुरे रोग देखा पर्न शुरु भएकोले रोग अनुगमन गरी ढुसीनाशक बिषादी प्रोपिकोनाजोल (Tilt) १ एम. एल. वा नेटीभो ०.५ ग्राम प्रति लिटर पानीको दरले १०-१२ दिनको फरकमा मौसमको अवस्था हेरी आबश्यकता अनुसार २-३ पटकसम्म पातहरु भिज्नेगरि छर्केर उपचार गर्नुहोस् वा नजिकैको कृषि कार्यालयमा सम्पर्क राख्नुहोस्।
- यस साताको मौसम तोरी र मुसुरो बालीमा लाग्ने डढुवा रोगको लागि अनुकूल देखिएकोले नियमित अनुगमन गरी रोग व्यवस्थापनका लागि मेन्कोजेव + कार्बेन्डाजिमयुक्त विषादी ३ ग्राम प्रति लिटरका दरले वा कपर अक्सिक्लोराईडयुक्त विषादी २ ग्राम प्रति लिटर पानीका दरले ७-१० दिनको फरकमा २ पटक सम्पूर्ण बोट भिज्नेगरी छर्कनुहोस्।
- यस समयमा फूल फुल्ने फलफूलहरु जस्तै- कागती, लिची, आँप वालीहरुमा मौरी तथा अन्य कीराहरुले परागसेचन प्रकृया गर्ने भएकोले यिनीहरुको भ्रमणलाई प्रोत्साहान गर्न विषादी नछर्कनुहोस्। विषादीको प्रयोग गर्नैपर्ने भएमा प्राविधिकको सल्लाह अनुसार गर्नुहोस्।
- आगामी साता तराईका जिल्लाहरूमा मध्यान्हसम्म हुस्सु/कुहिरो लागिरहने भएकोले आलु र गोलभेँडा बालीमा पछौटे डढुवा रोगको नियमित अनुगमन गरी मौसमको अवस्था हेरी रोगको शुरूको अवस्थामा मेन्कोजेब ७५% डब्ल्यु.पी. २ ग्राम प्रति लिटर पानीमा मिसाई पातको तल्लो भाग समेत भिज्नेगरी छर्कनुहोस्।
- व्यवसायिक रुपमा उखु खेती गरिने तराई क्षेत्रका ठाँउहरूमा खेर गएको उखुको टुप्पाबाट साइलेज बनाई पशुवस्तुलाई आहाराको रुपमा प्रयोग गर्नुहोस्।
- लसुन प्याजको प्याजी डढुवा रोगको रोग ब्यबस्थापनको लागि रोगग्रस्त सुकेका पातहरु हटाएर म्यन्कोजेबयुक्त बिषादी २.५ ग्राम वा क्लोरोथालोनिल २ ग्राम प्रति लिटर पानीको दरले ८-१० दिनको फरकमा २-३ पटक सम्म सम्पूर्ण बोट भिज्ने गरि छर्केर उपचार गर्नुहोस् l
- चिसो सोत्तरको कारण स-साना पशुवस्तुमा छेर्ने समस्या भएमा सोत्तर तुरुन्तै फेर्नुहोस् र सुख्खा राखी प्राविधिकको सल्लाहमा सल्फा समूहका औषधिहरू मात्रा पुर्याएर खुवाउनुहोस्।
- हाल सुँगुर/बंगुरहरुमा अफ्रिकन स्वाइन फिभरको उच्च जोखिम रहेकोले फार्ममा जैविक सुरक्षा अपनाउनुहोस्। सुँगुर/बंगुरहरुमा उच्च ज्वरो आइ मृत्युदर बढी भएमा विशेष सतर्कता अपनाई नजिकैको पशु सेवा कार्यालयहरुमा सम्पर्क राख्नुहोस्।
- तराईका जिल्लाहरुमा कमन कार्प माछाको प्रजनन् समय भएको हुँदा हप्ता दिनको अन्तरमा तयार माउ छनौट गरी काकाबनयुक्त प्रजनन् पोखरीमा सेट राख्नुहोस्।
- मौसम सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने जल तथा मौसम विज्ञान विभागको फोन नम्बर-११५५ मा फोन गर्नुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक शुक्रबार साँझ ४ देखि ६ बजेसम्म फोन गर्नुहोस्।

