![]() |
नेपाल सरकार राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (कार्यक्षेत्र: रुपन्देही र नवलपरासी (ब.सु.प)) |
|
कृषि मौसम सल्लाह बुलेटिन (बर्ष ११, अंक ४६)
- गत साताभरी नै देशमा पश्चिमी वायूको प्रभाव रहेकोले देशका पश्चिमी भू-भागमा साताको सुरू र अन्त्यमा हल्का देखि मध्यम वर्षा मापन गरिएको छ। सबैभन्दा बढी सुदूर-पश्चिम प्रदेशको बैतडी जिल्लामा रहेको पाटन (नयाँ) केन्द्रमा ५६.८ मि.मि. साप्ताहिक कुल वर्षा मापन भएको छ। गत साता अधिकांश केन्द्रहरुमा अधिकतम तापक्रम र न्यूनतम तापक्रम सरदर भन्दा बढी मापन भएको छ। देशका धेरै हिमाली भू-भागमा हिउ परेकोले ०.० डि.से. भन्दा कम साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएको छ भने गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्डे केन्द्रमा सबैभन्दा कम -८.६ डि.से. साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएको छ।
- साताभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहनेछ।
- उच्च पहाडी तथा हिमाली भू-भागः साताको मध्यमा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा, कोशी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा, साताको सुरुमा कोशी र गण्डकी साथै साताको अन्त्यमा सबै प्रदेशको एक-दुई स्थानमा हल्का देखि मध्यम हिमपात र वर्षाको सम्भावना छ।
- पहाडी भू-भागः साताको मध्यमा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केहि स्थानहरूमा, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बागमती प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ।
- तराई भू-भागः लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा साताको मध्यमा थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ। बाँकी तराई भू-भागमा साताभर हुस्सु/कुहिरो रहने देखिन्छ। बिहानको समयमा लाग्ने हुस्सु/कुहिरो मध्यान्ह सम्ममा क्रमिक रुपमा सुधार हुने सम्भावना छ।
- यो साता देशका तराई भूभागमा अधिकतम तापक्रम हल्का बढ्ने तथा बाँकी भूभागमा अधिकतम तापक्रम र न्यूनतम तापक्रम उल्लेखनिय परिवर्तन नहुने सम्भावना छ।
- औसत सँग तुलना गर्दाः सबै प्रदेशमा अधिकतम तापक्रम र न्यूनतम तापक्रम औसत भन्दा हल्का बढी रहने सम्भावना छ।
कृषि सारांश
- यस साता तोरी र मुसुरो बालीमा डढुवा रोगको लागि अनुकूल मौसम देखिएकोले नियमित अनुगमन गरी रोग व्यवस्थापनका लागि मेन्कोजेव + कार्बेन्डाजिमयुक्त विषादी ३ ग्राम प्रति लिटरका दरले वा कपर अक्सिक्लोराईडयुक्त विषादी २ ग्राम प्रति लिटर पानीका दरले ७-१० दिनको फरकमा २ पटक सम्पूर्ण बोट भिज्नेगरी छर्कनुहोस्।
- यस साता तापक्रममा वृद्धि हुने भएकोले ढिलो गरी मंसिर महिनामा छरेको तोरी बाली, मसुरो र गहुँबालीमा लाही कीरा लागे-नलागेको नियमित अनुगमन गर्नुहोस् र आवश्यकता अनुसार फ्लोनिकामिड ५० डब्लु.जी., १ ग्राम ३ लिटर पानीको दरले अथवा डाईमेथोएट ३०% ई. सी. १.५ एम.एल. प्रति लिटर पानीमा घोलेर मौसमको अवस्था हेरी सात दिनको फरकमा २-३ पटक दिउँसो ३ बजेपछि छर्नुहोस्।
- तराई, भित्री मधेश र पहाडका बेँसीहरु (७०० मिटरसम्म) का लागि सिफारिस गरिएका चैते धानका हर्दिनाथ-१, चैते-२, चैते-४, चैते-५ र चैते-६ जातहरु मध्ये उपलब्ध जातको बीउ भरपर्दो श्रोतबाट व्यवस्था गर्नुहोस्।
- यस साताको मौसम मुसुरोमा ओइलाउने र जरा कुहिने रोगको लागि अनुकूल रहेकोले रोग ब्यबस्थापनको लागि मेन्कोजेब र कार्बेन्डाजिमयुक्त ढुसीनाशक बिषादी ३ ग्राम प्रति लिटर पानीको दरले सम्पूर्ण बोट भिज्नेगरी १० दिनको फरकमा २ पटकसम्म छर्कनुहोस्।
- आगामी साता तराईका जिल्लाहरूमा मध्यान्ह सम्म हुस्सु/कुहिरो लागिरहने भएकोले आलु र गोलभेँडा बालीमा पछौटे डढुवा रोगको नियमित अनुगमन गरी मौसमको अवस्था हेरी रोगको शुरूको अवस्थामा मेन्कोजेब ७५% डब्ल्यु.पी. २ ग्राम प्रति लिटर पानीमा मिसाई पातको तल्लो भाग समेत भिज्नेगरी छर्कनुहोस्।
- लसुन र प्याजको डढुवा रोग व्यवस्थापनको लागि बारी सफा गरि रोगी पातहरू हटाई खाल्डो खनेर पुर्नुहोस्। रोगको अवस्था हेरि ७ दिनको फरकमा साफ वा सेक्टिन जस्ता बिषादीहरू २ ग्राम प्रति लिटर पानीका दरले सम्पूर्ण पातहरू भिज्नेगरि ३-४ पटकसम्म छर्केर उपचार गर्नुहोस्।
- जुकेनी फर्सी (स्क्वास), काँक्रो, करेला, घिरौँला, लौका तथा मुन्टा खाने फर्सीको लागि सिफारिस गरे बमोजिमको दूरीमा खाल्डा खनी राम्रो पाकेको गोबर मल ५ के.जी., हड्डिको धुलो १०० ग्राम, पीना १०० ग्राम, डि.ए.पी. ४० ग्राम, पोटास ४० ग्राम र बायोजाईम, जिङ्क, बोरेक्स प्रत्येक ३/३ ग्रामका दरले माटोमा मिसाई विरुवा लगाउन शुरु गर्नुहोस्।
- व्यवसायिक रुपमा उखु खेती गरिने तराई क्षेत्रका ठाँउहरूमा खेर गएको उखुको टुप्पाबाट साइलेज बनाई पशुवस्तुलाई आहाराको रुपमा प्रयोग गर्नुहोस्।
- गर्भिणी पशुवस्तुहरुलाई साविकको भन्दा पोषिलो खानेकुराहरु, दैनिक १०-१५ ग्राम नून, ५० खनिजको मिश्रण र प्रशस्त पानी खुवाउनुहोस्। सम्भव भएसम्म पराल नखुवाउनुहोस्।
- बिहानको समयमा लाग्ने हुस्सु/कुहिरो मध्यान्हसम्म रहने संभावना भएकोले माछापोखरीमा घुलित अक्सिजनको कमीबाट हुन सक्ने क्षति कम गर्न प्रति हेक्टर जलाशयमा बिहान ४-६ बजेसम्म ०.७५ के.भि.ए. क्षमताको वायुयन्त्र (Aerator) को प्रयोग गर्नुहोस् साथै बादल लागेको समयमा दाना दिन बन्द गर्नुहोस्।
- तराई क्षेत्रमा कमन कार्प जातका माछाको प्रजनन माघको मध्यबाट सुरु हुने हुँदा भुरा राख्ने पोखरीको तयारी गर्नुहोस्।
- मौसम सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने जल तथा मौसम विज्ञान विभागको फोन नम्बर-११५५ मा फोन गर्नुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक शुक्रबार साँझ ४ देखि ६ बजेसम्म फोन गर्नुहोस्।

