कृषि मौसम सल्लाह बुलेटिन (बर्ष ११, अंक ४५)

मौसमी सारांश:

  • गत साताभरी नै देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको तर कुनै पनि केन्द्रमा वर्षा मापन भएको छैन। गत साता देशका अधिकांश केन्द्रहरुमा सरदर भन्दा बढी अधिकतम तापक्रम मापन भएको छ भने धेरै केन्द्रहरुमा सरदर भन्दा बढी न्यूनतम तापक्रम मापन भएको छ। देशका धेरै हिमाली भू-भागमा शुन्य डि.से. भन्दा कम साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएको छ भने गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम -८.३ डि.से. साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएको छ।
  • साताभर पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहनेछ।
  • उच्च पहाडी तथा हिमाली भू-भागः साताको शुरु र मध्यमा लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरुमा, अन्त्यमा केही स्थानहरुमा तथा साताभर गण्डकी प्रदेशका केही स्थानहरुमा तथा कोशी र बगमती प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा/हिमपातको सम्भावना छ।
  • पहाडी भू-भागः साताको शुरु र मध्यमा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरुमा, अन्त्यमा केही स्थानहरुमा तथा साताभर गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा साताको अन्त्यमा बागमती प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना छ।  
  • तराई भू-भागः लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा साताको शुरू र मध्यमा केही स्थानहरुमा, अन्त्यमा थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना छ। बाँकी तराई भू-भागमा साताभर हुस्सु/कुहिरो रहने देखिन्छ। बिहानको समयमा लाग्ने हुस्सु/कुहिरो मध्यान्हसम्ममा क्रमिक रुपमा सुधार हुने सम्भावना छ।
  • यो साता देशका धेरै स्थानहरूमा अधिकतम तापक्रम हल्का घट्ने र न्यूनतम तापक्रम उल्लेखनिय परिवर्तन नहुने सम्भावना छ।
  • औसतसँग तुलना गर्दाः सबै प्रदेशमा अधिकतम तापक्रम औसत आसपास र न्यूनतम तापक्रम औसत भन्दा हल्का बढी रहने संभावना छ।

कृषि सारांश

  • साताको सुरु र मध्यमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केहि स्थानहरूमा तथा साताको अन्त्यमा बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का देखी मध्यम वर्षाको सम्भावना रहेकाले यस अवधिमा सो क्षेत्रहरुमा सबै किसिमका बालीहरुमा सिंचाई कार्य रोक्नुहोस्। साथै, यस अवधिमा गहुँबालीमा पहेंलो सिन्दुरे रोग र आलुबालीमा डढुवा रोगको जोखिम बढ्ने हुनाले नियमित अनुगमन गर्नुहोस्।
  • गहुँबालीमा लाही कीराको नियमित अनुगमन गर्न पहेँलो स्टिकि ट्रयाप (yellow sticky trap) प्रयोग गर्नुहोस्। कीरा व्यवस्थापनको लागि १ भाग गाईको गहुँत र ४ भाग पानी मिसाएर १२ घण्टा  राखेर लाही लागेको ठाँउमा भिज्नेगरि छर्कनुहोस्। क्षति बढी देखिएमा मौसमको अवस्था हेरी फ्लोनिकामिड ५० डब्लु.जी., १ ग्राम ३ लिटर पानीको दरले प्रयोग गर्नुहोस्।
  • तराई, भित्री मधेश र पहाडका बेँसीहरु (७०० मिटरसम्म) का लागि सिफारिस गरिएका चैते धानका हर्दिनाथ-१, चैते-२, चैते-४, चैते-५ र चैते-६ जातहरु मध्ये उपलब्ध जातको बीउ भरपर्दो श्रोतबाट व्यवस्था गर्नुहोस्।
  • मुसुरोमा ओइलाउने रोगको ब्यबस्थापनको लागि कार्बेन्डाजिम र मेन्कोजेबयुक्त ढुसीनाशक बिषादी २ ग्राम प्रति लिटर पानीको दरले सम्पूर्ण बोट भिज्नेगरी १० दिनको फरकमा २ पटकसम्म छर्कनुहोस्।
  • केरामा पोटासियमको कमी भएमा पुराना पातको टुप्पो पहेँलो हुने तथा भित्रै बांगिएर मर्ने (Chlorosis), बोटको आँख्ला छोटो भई होचो हुने तथा केराको काईँयो छोटो, पातलो, फलको आकार बिग्रिने हुनाले ४०० ग्राम म्युरेट अफ पोटास प्रति बोट प्रति वर्षको दरले राख्नुहोस्।
  • लसुन र प्याजको डढुवा रोग व्यवस्थापनको लागि बारी सफा गरि रोगी पातहरू हटाई खाल्डो खनेर पुर्नुहोस्। रोगको अवस्था हेरि ७ दिनको फरकमा साफ वा सेक्टिन जस्ता बिषादीहरू २ ग्राम प्रति लिटर पानीका दरले सम्पूर्ण पातहरू भिज्नेगरि ३-४ पटकसम्म  छर्केर उपचार गर्नुहोस्।
  • जुकेनी फर्सी (स्क्वास), काँक्रो, करेला, घिरौँला, लौका तथा मुन्टा खाने फर्सीको लागि सिफारिस गरे बमोजिमको दूरीमा खाल्डा खनी राम्रो पाकेको गोबर मल ५ के.जी., हड्डिको धुलो १०० ग्राम, पीना १०० ग्राम, डि.ए.पी. ४० ग्राम, पोटास ४० ग्राम र बायोजाईम, जिङ्क, बोरेक्स प्रत्येक ३/३ ग्रामका दरले माटोमा मिसाई विरुवा लगाउन शुरु गर्नुहोस्।
  • हाल देशमा गाई, भैँसीमा खोरेत रोग महामारीको रूपमा देखा परेको हुँदा रोकथामको लागि पशुहरूमा ३ महिनाको उमेर पुगेपछि पहिलो पटक र १ महिनापछि पुनः बुष्टर खोप लगाई प्रत्येक ६ महिनामा खोप दोहोर्याउनुहोस्। रोग देखा परेको अवस्थामा स्थानीय प्राविधिकहरुसँगको सल्लाहमा उपचार गर्नुहोस्।
  • बिहानको समयमा लाग्ने हुस्सु/कुहिरो मध्यान्हसम्म रहने संभावना भएकोले माछापोखरीमा घुलित अक्सिजनको कमीबाट हुन सक्ने क्षति कम गर्न प्रति हेक्टर जलाशयमा बिहान ४-६ बजेसम्म ०.७५ के.भि.ए. क्षमताको वायुयन्त्र (Aerator) को प्रयोग गर्नुहोस् साथै बादल लागेको समयमा दाना दिन बन्द गर्नुहोस्।
  • नर्सरीमा किम्बु, बैँस जस्ता डाले घाँसहरूको कटिङ राख्नुहोस्।
  • मौसम सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने जल तथा मौसम विज्ञान विभागको फोन नम्बर-११५५ मा फोन गर्नुहोस्।
  • कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक शुक्रबार साँझ ४ देखि ६ बजेसम्म फोन गर्नुहोस्।