![]() |
नेपाल सरकार राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (कार्यक्षेत्र: रुपन्देही र नवलपरासी (ब.सु.प)) |
|
कृषि मौसम सल्लाह बुलेटिन (बर्ष ११, अंक ४४)
- गत साताभरी नै देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। लुम्बिनी प्रदेशको एक- दुई केन्द्रमा हल्का वर्षा मापन भएको छ। विशेषगरी तराईका धेरै स्थानहरुमा साताभरी नै दिनभरसम्म हुस्सु/कुहिरो रहेको छ। गत साता तराईका धेरै केन्द्रहरुमा सरदर भन्दा बढी अधिकतम तापक्रम मापन भएको छ भने धेरै केन्द्रहरुमा सरदर भन्दा कम न्यूनतम तापक्रम मापन भएको छ। देशका धेरै हिमाली भू-भागमा शुन्य डि.से. भन्दा कम साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएको छ भने गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम -९.० डि.से. साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएको छ।
- साताभर पश्चिमी वायुको आंशिक प्रभाव रहने छ।
- उच्च पहाडी तथा हिमाली भू-भागः कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा साताभरी नै हल्का वर्षा/हिमपातको सम्भावना छ।
- पहाडी भू-भागः साताभर मौसम आंशिक बदली रहने देखिन्छ।
- तराई भू-भागः साताभर हुस्सु/कुहिरो रहने देखिन्छ। बिहानको समयमा लाग्ने हुस्सु/कुहिरो मध्यान्हसम्म क्रमिक रुपमा सुधार हुने सम्भावना छ।
- यो साता देशका धेरै स्थानहरूमा न्यूनतम तापक्रम र अधिकतम तापक्रममा उल्लेखनिय परिवर्तन नहुने सम्भावना छ।
कृषि सारांश
- चैते धानका सिफारिस जातहरू भरपर्दो श्रोतबाट व्यवस्था गर्नुहोस्।
- हिउँदे मकैबालीमा सिंचाई पश्चात नेपाल कृषि अनुसन्धान परिषद्बाट अध्यावधिक गरिएको सिफारिस मात्रा अनुसार युरिया मल टपड्रेस गर्नुहोस्।
- सुख्खा मौसमलाई ध्यानमा राख्दै सबै प्रकारका फलफूल तथा तरकारी बालीहरुमा सिंचाई व्यवस्थापन कार्य गर्नुहोस्।
- यसै वर्ष कागती खेती शुरु गर्नु भएका कृषकहरूले कागतीको पात र कलिला मुनालाई तुसारोबाट जोगाउन बाँसको भाटा उल्टो भी आकार (Ù) मा गाडेर परालले छोप्नुहोस्।
- किविफल, स्याउ, नासपाती जस्ता हिउँदे फलफूलमा २ वर्षभन्दा पुराना हाँगाहरूमा फल नलाग्ने हुनाले यसै हप्ताभित्र काँटछाँट गर्नुहोस्। काँटछाँट गरेको भागमा १०% बोर्डोपेष्ट लगाउनुहोस्।
- आगामी साता तराईका जिल्लाहरूमा मध्यान्हसम्म हुस्सु/कुहिरो लागिरहने साथै सापेक्षित आर्द्रता बढी हुने भएकोले आलुबालीमा पछौटे डढुवा रोगको नियमित अनुगमन गरी डढुवा रोगको शुरूको अवस्थामा मेन्कोजेब ७५% डब्ल्यु.पी. २ ग्राम प्रति लिटर पानीमा मिसाई पातको तल्लो भाग समेत भिज्नेगरी छर्कनुहोस्। प्रकोप बढी भएमा एक्रोब्याट (डाइमेथोर्फ ५०% डब्ल्यु.पी.) वा सेक्टिन (फेनामेडोन १०% + मेन्कोजेब ५०% डब्ल्यु.जी.) १.५ ग्राम प्रतिलिटर पानीमा मिसाई बोटको सम्पुर्ण भाग भिज्नेगरी छर्कनुहोस्।
- लसुनको डढुवा रोग व्यवस्थापनको लागि बारी सफा गरि रोगी पातहरू हटाई खाल्डो खनेर पुर्नुहोस्। रोगको अवस्था हेरि ७ दिनको फरकमा साफ वा सेक्टिन जस्ता बिषादीहरू २ ग्राम प्रति लिटर पानीका दरले सम्पूर्ण पातहरू भिज्नेगरि ३-४ पटकसम्म छर्केर उपचार गर्नुहोस्।
- लहरे तरकारी बालीहरूको बेर्ना उम्रिसकेको भए सेतो प्लास्टिकको छानोलाई दिनको समयमा उघार्ने र रातीको समयमा ओढाउनुहोस्।
- तापक्रम न्यून रहेकोले मौरी घारलाई चारैतिरबाट प्लाष्टिक वा जुटको बोराले बेरेर राख्नुहोस्। साथै घारको नियमित निरीक्षण गरी मौरीलाई खानेकुरा कम छ भने आवश्यकता अनुसार चिनी चास्नी बनाएर खुवाउनुहोस्।
- हाल देशमा गाई, भैँसीमा खोरेत रोग महामारीको रूपमा देखा परेको हुँदा रोकथामको लागि पशुहरूमा ३ महिनाको उमेर पुगेपछि पहिलो पटक र १ महिनापछि पुनः बुष्टर खोप लगाई प्रत्येक ६ महिनामा खोप दोहोर्याउनुहोस्। रोग देखा परेको अवस्थामा स्थानीय प्राविधिकहरुसँगको सल्लाहमा उपचार गर्नुहोस्।
- बिहानको समयमा लाग्ने हुस्सु/कुहिरो मध्यान्हसम्म रहने संभावना भएकोले माछापोखरीमा घुलित अक्सिजनको कमीबाट हुन सक्ने क्षति कम गर्न प्रति हेक्टर जलाशयमा बिहान ४-६ बजेसम्म ०.७५ के.भि.ए. क्षमताको वायुयन्त्र (Aerator) को प्रयोग गर्नुहोस् साथै बादल लागेको समयमा दाना दिन बन्द गर्नुहोस्।
- नर्सरीमा किम्बु, बैँस जस्ता डाले घाँसहरूको कटिङ राख्नुहोस्।
- मौसम सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने जल तथा मौसम विज्ञान विभागको फोन नम्बर-११५५ मा फोन गर्नुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक शुक्रबार साँझ ४ देखि ६ बजेसम्म फोन गर्नुहोस्।

