![]() |
नेपाल सरकार राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (कार्यक्षेत्र: रुपन्देही र नवलपरासी (ब.सु.प)) |
|
कृषि मौसम सल्लाह बुलेटिन (बर्ष ११, अंक ४२)
- गत साता देशका केही केन्द्रमा हल्का वर्षा मापन भएको छ। कोशी प्रदेशका सुनसरी र तेह्रथुम जिल्ला तथा लुम्बिनी प्रदेशको रूपन्देही जिल्लाका एक-दुई केन्द्रहरुमा हल्का वर्षा मापन भएको छ। विशेषगरी तराईका केही स्थानहरुमा साताभरी नै दिनभरसम्म हुस्सु/कुहिरो रहेको छ। गत साता तराईका धेरै केन्द्रहरुमा सरदर भन्दा कम अधिकतम तापक्रम मापन भएको छ भने अधिकांश केन्द्रहरुमा सरदर भन्दा बढी न्यूनतम तापक्रम मापन भएको छ। देशका धेरै हिमाली भू-भागमा शुन्य डि.से. भन्दा कम साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएको छ भने गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्डे केन्द्रमा सबैभन्दा कम -६.७ डि.से. साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएको छ।
- साताभर पश्चिमी वायुको आंशिक प्रभाव रहने छ।
- उच्च पहाडी तथा हिमाली भू-भागः साताको शुरुमा कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा मध्यमा एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना छ। तथापी, बागमती प्रदेशमा साताको शुरुमा एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना छ।
- पहाडी भू-भागः साताभर मौसम आंशिक बदली रहने देखिन्छ। साताको शुरुमा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
- तराई भू-भागः साताभर हुस्सु/कुहिरो रहने देखिन्छ। बिहानको समयमा लाग्ने हुस्सु/कुहिरो साताको शुरुमा मध्यान्हसम्म तथा मध्य र अन्त्यमा मध्यान्हपछि क्रमिक रुपमा सुधार हुने सम्भावना छ।
- यो साता देशका धेरै स्थानहरूमा न्यूनतम तापक्रममा उल्लेखनिय परिवर्तन नहुने तथा र अधिकतम तापक्रम हल्का घट्ने सम्भावना छ।
कृषि सारांश
- मनसुनको अन्त्यतिर भएको भारी वर्षाले गर्दा डुबान भएका विशेष गरी तराईका दक्षिणी भेगहरुमा गहुँ बाली लगाउन नसकिएको जग्गामा जै घाँससँग बर्सिम वा भेच वा तोरीको मिश्रण छर्नुहोस्। यसरी गरिएको खेतीबाट बीउ उत्पादन गर्न नसकिए पनि दुई कटिङ घाँसको उत्पादन लिन सकिन्छ।
- चैते धानका सिफारिस जातहरु भरपर्दो श्रोतबाट व्यवस्था गर्नुहोस्।
- सुख्खा मौसमलाई ध्यानमा राख्दै गहुँको मुकुट जरा आउने (crown root initiation) अवस्थामा जरा भिज्नेगरि पहिलो सिँचाई पश्चात सिफारिस मात्रामा युरिया मल टपड्रेस गर्नुहोस्। जिरो टिलेज प्रविधिबाट लगाइएको गहुँ खेतमा परम्परागत तरिकाबाट लगाईएको गहुँको तुलनामा कम पानीको मात्राले सिंचाई गर्न सकिन्छ। गहुँ पहेँलो हुने समस्याबाट बच्न सिँचाई गर्दा पानी जम्न नदिन विशेष ध्यान दिनुहोस्।
- मुसुरोमा ओइलाउने रोगको ब्यबस्थापनको लागि कार्बेन्डाजिम र मेन्कोजेबयुक्त ढुसीनाशक बिषादी २ ग्राम प्रति लिटर पानीको दरले सम्पूर्ण बोट भिज्नेगरी १० दिनको फरकमा २ पटकसम्म छर्कनुहोस्।
- पतझड फलफूलको बगैँचा स्थापनाको लागि तयारी एक घन मिटर साइजको खाडलमा विश्वसनिय श्रोतबाट बिरुवा व्यवस्था गरी रोप्नुहोस्।
- किविफल, स्याउ, नासपाती जस्ता हिउँदे फलफूलमा २ वर्षभन्दा पुराना हाँगाहरुमा फल नलाग्ने हुनाले यसै हप्ताभित्र काँटछाँट गर्नुहोस्। काँटछाँट गरेको भागमा १०% बोर्डोपेष्ट लगाउनुहोस्।
- आगामी साता तराईका जिल्लाहरुमा मध्यान्हसम्म हुस्सु/कुहिरो लागिरहने साथै सापेक्षित आर्द्रता बढी हुने भएकोले आलुबालीमा पछौटे डढुवा रोगको नियमित अनुगमन गरी डढुवा रोगको शुरूको अवस्थामा मेन्कोजेब ७५% डब्ल्यु.पी. २ ग्राम प्रति लिटर पानीमा मिसाई पातको तल्लो भाग समेत भिज्नेगरी छर्कनुहोस्। प्रकोप बढी भएमा एक्रोब्याट (डाइमेथोर्फ ५०% डब्ल्यु.पी.) वा सेक्टिन (फेनामेडोन १०% + मेन्कोजेब ५०% डब्ल्यु.जी.) १.५ ग्राम प्रतिलिटर पानीमा मिसाई बोटको सम्पुर्ण भाग भिज्नेगरी छर्कनुहोस्।
- तराईमा बीउका लागि लगाइएको आलुबालीमा लाही कीराको प्रकोप देखिएमा फ्लोनिकामिड ५०% डब्लु.जी., ०.३ ग्राम वा डाईमेथोएट ३०% ई.सी. १.५ एम.एल. प्रति लिटर पानीका दरले आलुको सम्पूर्ण बोट भिज्नेगरी छर्कनुहोस्।
- लहरे तरकारी बालीहरुको बेर्ना उम्रिसकेको भए सेतो प्लास्टिकको छानोलाई दिनको समयमा उघार्ने र रातीको समयमा ओढाउनुहोस्।
- प्याज र लसुनको जरा कुहिने रोग ब्यवस्थापनको लागि ढुसीनाशक विषादी-वेभिष्टिन (Carbendazim ५०% WP) २ ग्राम प्रति लिटर पानीका दरले १४ दिनको फरकमा ३ देखि ४ पटकसम्म सम्पूर्ण जरा भिज्नेगरि हाल्नुहोस्।
- बाहिरी तापक्रम घट्ने क्रममा रहेकोले गाई, भैँसी, भेडा, बाख्रा आदिमा रुघाखोकी लाग्ने, ज्वरो आउने, श्वासप्रश्वास सम्वन्धी अन्य रोग लाग्ने र छेर्ने हुँदा पशुवस्तुको खोर-गोठ न्यानो राख्नुहोस्।
- न्युनतम तापक्रम कम हुने सम्भावना रहेकोले मौरी घारलाई चारैतिरबाट प्लाष्टिक वा जुटको बोराले बेरेर राख्नुहोस्। साथै घारको नियमित निरीक्षण गरी मौरीलाई खानेकुरा कम छ भने आवश्यकता अनुसार चिनी चास्नी बनाएर खुवाउनुहोस्।
- यो समयमा दिन छोटो हुने र रात लामो हुने भएकाले अन्डा उत्पादनका लागि पालिएका लेयर्स कुखुरालाई कम्तीमा १६ घण्टासम्म प्रकाश हुने गरि बत्तीको व्यवस्था गर्नुहोस्।
- साताको शुरुमा बिहानको समयमा लाग्ने हुस्सु/कुहिरो मध्यान्हसम्म रहने संभावना भएकोले माछापोखरीमा घुलित अक्सिजनको कमीबाट हुन सक्ने क्षति कम गर्न प्रति हेक्टर जलाशयमा बिहान ४-६ बजेसम्म ०.७५ के.भि.ए. क्षमताको वायुयन्त्र (Aerator) को प्रयोग गर्नुहोस् साथै बादल लागेको समयमा दाना दिन बन्द गर्नुहोस्।
- मौसम सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने जल तथा मौसम विज्ञान विभागको फोन नम्बर-११५५ मा फोन गर्नुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक शुक्रबार साँझ ४ देखि ६ बजेसम्म फोन गर्नुहोस्।

