कृषि मौसम सल्लाह बुलेटिन (बर्ष ११, अंक ३७)

मौसमी सारांश:

  • गत साता देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहे पनि गण्डकी प्रदेशको मुस्ताङ जिल्लामा रहेको लेते केन्द्रमा हल्का वर्षा मापन भएको छ। अन्य स्थानहरुका केन्द्रमा वर्षा मापन भएको छैन। देशका केही केन्द्रहरुमा सरदर भन्दा कम अधिकतम तापक्रम मापन भएको छ भने धेरै केन्द्रहरुमा सरदर भन्दा कम न्यूनतम तापक्रम मापन भएको छ। त्यसैगरि हिमाली तथा पश्चिमी उच्च पहाडी स्थानहरूमा तापक्रम घट्दै गईरहेको छ। विशेषगरि कर्णाली प्रदेश र गण्डकी प्रदेशका धेरै हिमाली भू-भागमा शुन्य डि.से. भन्दा कम साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएको छ। 
  • यो साताभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन।
  • उच्च पहाडी तथा हिमाली भू-भागः साताभर एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना छ।
  • पहाडी भू-भागः साताभर मौसम मुख्यतया सफा देखि आंशिक बदली रहने देखिन्छ।
  • तराई भू-भागः साताभर मौसम मुख्यतया सफा देखि आंशिक बदली रहने देखिन्छ। बिहानको समयमा हल्का हुस्सु / कुहिरोको सम्भावना रहने देखिन्छ।
  • यो साता देशका धेरै स्थानहरूमा न्यूनतम र अधिकतम तापक्रम हल्का घट्ने सम्भावना छ। 

कृषि सारांश

  • तराईको लागी सिफारिस गहुँका जातहरू- बाणगांगा, बी.एल. ४३४१, तिलोतमा, खजुरा ड्युरम-१, खजुरा ड्युरम-२, जिङ्क गहुँ -१, जिङ्क गहुँ-२, बोर्लोग -२०२० जातका गणुस्तरीय बीउलाई (४.० के .जी. प्रति कठ्ठाको दरले) भाइटाभेक्स २ ग्राम प्रति के.जी. बीउका दरले उपचार गरेर मात्र छर्नुहोस्। गहुँवालीमा सिन्दुरे रोगको प्रकोप कम गर्न तराईमा मंसिर २५ गते (डिसेम्बर-१०) सम्म गहुँ छरिसक्नुहोस्।
  • परम्परागत तरिकाले भन्दा कम लागत तथा बढी उत्पादन लिन सकिने जलवायु मैत्री-शुन्य खनजोत र न्यूनतम खनजोत प्रविधिबाट गहुँ खेती गर्नुहोस्।
  • तराई भेगका लागि सिफारिस मुसुरोका जातहरु- शिशिर, सिमल, शिखर, शितल, खजुरा मुसुरो २, खजुरा मुसुरो ३, खजुरा मुसुरो-४, श्रध्दा कालो मुसुरो मध्ये उपलब्ध जातको गणुस्तरिय बीउ उपचार गरी १.३ के.जी. प्रति कठ्ठाका दरले लगाउनुहोस्।
  • पतझड फलफूलको बगैँचा स्थापनाको लागि एक घन मिटर साइजको खाडल (१ मिटर गहिरो तथा १ मिटर ब्यास भएको) खनी करिब एक महिना सुकाउनुहोस्। सो खाडलमा सुकेका पातपतिंगर तथा झारपात राखी जलाउनुहोस्।
  • सिँचाई सुविधा भएका सबै किसिमका फलफूल बगैँचामा सिँचाईको व्यवस्थापन गर्नुहोस्। साथै चिस्यान संरक्षण गर्न स्याउला, घाँसपात वा कालो प्लाष्टिकको छापो राख्नुहोस्।
  • तापक्रम कम हुँदै जादाँ लाही कीराको प्रकोप बढ्दै जाने हुनाले करेसाबारी र कौसी खेती गर्दा व्यवस्थापनका लागि एक भाग गाईको गहुँत ४ भाग पानीमा मिसाएर रातभरि राखी लाही लागेको ठाँउमा भिज्नेगरि भोलीपल्ट छर्कनुहोस्। समस्या बढी भएमा डाइमेथोएट ३०% ई.सी., १.५ एम. एल. प्रति लिटर वा फ्लोनिकामिड ५० डब्लु.जी., १ ग्राम ३ लिटर पानीको दरले मिसाई लाही लागेको ठाँउमा भिज्नेगरि छर्कनुहोस्।
  • काउली समूहका बालीमा लाग्ने गाँठे रोग व्यवस्थापनका लागि फ्लुआजिनाम विषादीको धुलो २-३ ग्राम प्रति लिटर पानीमा घोली बोट वरिपरि ड्रेन्चिङ गर्नुहोस्।
  • आलु र गोलभेँडाको पछौटे डढुवा रोग व्यवस्थापनको लागि रोगग्रस्त बोटहरु काँटछाँट गरी  हावा खेल्ने ठाउँ बनाउनुहोस्। रोगी हाँगा र पातहरु टिपेर उचित व्यवस्थापन गर्नुका साथै साफ बिषादी र सेक्टिन (Sectin-60WG) बिषादी आलोपालो गरि हप्ता दिनको फरकमा २ एम.एल. प्रति लिटर पानीको घोलमा मिसाएर २-३ पटकसम्म सम्पूर्ण बोटहरु भिज्नेगरि छर्केर उपचार गर्नुहोस्।
  • तापक्रम घट्ने क्रम जारी भएकोले मौरी घारलाई चारैतिरबाट प्लास्टिक वा जुटको बोराले बेरेर राख्नुहोस्। साथै घारको नियमित निरीक्षण गरी मौरीलाई खानेकुरा कम छ भने आवश्यकता अनुसार चिनी चास्नी बनाएर खुवाउनुहोस्।
  • बाहिरी तापक्रम घट्ने क्रममा रहेकोले गाई, भैँसी, भेडा, बाख्रा आदिमा रुघाखोकी लाग्ने, ज्वरो आउने, श्वासप्रश्वास सम्वन्धि अन्य रोग लाग्ने हुँदा पशुवस्तुको खोर-गोठ न्यानो राख्नुहोस्। भर्खर जन्मेका र साना बाच्छा-वाच्छी/पाठा-पाठीमा निमोनिया र छेर्ने समस्याका साथै कक्सिडियोसिसको समस्या देखिने हुँदा विशेष ध्यान दिनुहोस्।
  • हिउँदको समयमा पशुवस्तुलाई हरियो घाँस र पोषणतत्वको कमी हुने र उत्पादन तथा उत्पादकत्वमा पनि कमी आउने भएकोले उक्त समयमा उग्राउने पशुहरुलाई युरिया मिश्रित पराल खुवाउनुहोस् वा युरिया मोलासेस ब्लक चटाउनुहोस्।
  • चिसो समयमा जंगली माछाले पोखरीमा भएका कार्प जातका माछामा इ.यु.एस. (Epizootic Ulcerative Syndrome) संक्रमण बढाउन सक्ने भएको हुँदा जंगली माछाको प्रवेश रोक्न माछापोखरीको ईनलेटमा मसिनो जाली लगाउनुहोस्।
  • मौसम सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने जल तथा मौसम विज्ञान विभागको फोन नम्बर-११५५ मा फोन गर्नुहोस्।
  • कृषि पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक शुक्रबार साँझ देखि बजेसम्म फोन गर्नुहोस्।