![]() |
नेपाल सरकार राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (कार्यक्षेत्र: रुपन्देही र नवलपरासी (ब.सु.प)) |
|
कृषि मौसम सल्लाह बुलेटिन (बर्ष ११, अंक ३६)
- गत साता देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकोले कुनै पनि केन्द्रमा वर्षा मापन भएको छैन। देशका केही केन्द्रहरुमा सरदर भन्दा बढी अधिकतम तापक्रम मापन भएको छ भने धेरै केन्द्रहरुमा सरदर भन्दा कम न्यूनतम तापक्रम मापन भएको छ। देशको पूर्वी तराईको भन्दा पश्चिमी तराईमा तापक्रम घट्दै गईरहेको छ। विशेष गरि कर्णाली प्रदेश र गण्डकी प्रदेशका धेरै हिमाली भू-भागमा ०.० डि.से. भन्दा कम साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएको छ।
- यो साताभर विशेष मौसमी प्रणालीको प्रभाव नरहेता पनि साताको शुरूमा पश्चिमी वायूको आंशिक प्रभाव रहने देखिन्छ।
- उच्च पहाडी तथा हिमाली भू-भागः साताभर एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।
- पहाडी भू-भागः कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साताको शुरूमा एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
- तराई भू-भागः साताभर मौसम मुख्यतया सफा रहने देखिन्छ।
- यो साता देशका धेरै स्थानहरूमा न्यूनतम तापक्रम हल्का घट्ने र अधिकतम तापक्रममा उल्लेखनिय परिवर्तन नहुने सम्भावना छ।
- यो साता देशका धेरै स्थानहरूमा अधिकतम तापक्रम र न्यूनतम तापक्रम सरदर भन्दा केही माथि रहने तर वर्षा भने सरदर कै आसपास रहने सम्भावना छ।
कृषि सारांश
- कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा साताको शुरूमा एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकोले मौसमको अवस्था हेरी पाकेको धान, कोदो र अन्य बाली भित्र्याउनुहोस्।
- देशैभरका तराई भू-भागमा साताभर मौसम मुख्यतया सफा रहने भएकोले पाकेको धान, कोदो र अन्य बाली भित्र्याउनुहोस्।
- तराईको लागी सिफारिस गहुँका जातहरू- बाणगांगा, बी.एल. ४३४१, तिलोतमा, खजुरा ड्युरम-१, खजुरा ड्युरम-२, जिङ्क गहुँ -१, जिङ्क गहुँ-२, बोर्लोग -२०२० जातका गणुस्तरीय बीउलाई (४.० के .जी. प्रति कठ्ठाको दरले) भाइटाभेक्स २ ग्राम प्रति के.जी. बीउका दरले उपचार गरेर मात्र छर्नुहोस्। गहुँवालीमा सिन्दुरे रोगको प्रकोप कम गर्न तराईमा मंसिर १ देखि २५ गते (डिसेम्बर-१०) सम्म गहुँ छरिसक्नुहोस्।
- परम्परागत तरिकाले भन्दा कम लागत तथा बढी उत्पादन लिन सकिने जलवायु मैत्री-शुन्य खनजोत र न्यूनतम खनजोत प्रविधिबाट गहुँ खेती गर्नुहोस्।
- तराई भेगका लागि सिफारिस मुसुरोका जातहरु: शिशिर, सिमल, शिखर, शितल, खजुरा मुसुरो २, खजुरा मुसुरो ३, खजुरा मुसुरो-४, श्रध्दा कालो मुसुरो मध्ये उपलब्ध जातको गणुस्तरिय बीउ उपचार गरी १.३ के.जी. प्रति कठ्ठाका दरले लगाउनुहोस्।
- बालीनालीमा रासयनिक विषादीको प्रयोग गर्दा सकेसम्म हरियो र नीलो लेबल भएको विषादी प्राविधिकको सल्लाह अनुसार प्रयोग गर्नुहोस्। विषादी छर्कने बेलामा व्यक्तिगत सुरक्षा उपकरणहरु जस्तै- मास्क, पञ्जा, चस्मा, बुट र एप्रोनको प्रयोग गर्नुहोस्।
- तराई, भित्री-मधेश तथा बेशीमा शित भण्डारबाट निकाली राम्रोसँग टुसाएका गुणस्तरीय बीउ आलु रोप्नुहोस् l सकभर मझौला खालको (२५ देखि ५० ग्राम तौल भएका) सिंगो बीउ आलु रोप्नुहोस् l
- तापक्रम कम हुँदै जादाँ लाही कीराको प्रकोप बढ्दै जाने हुनाले करेसाबारी र कौसी खेती गर्दा व्यवस्थापनका लागि एक भाग गाईको गहुँत ४ भाग पानीमा मिसाएर रातभरि राखी लाही लागेको ठाँउमा भिज्नेगरि भोलीपल्ट छर्कनुहोस्। समस्या बढी भएमा डाइमेथोएट ३०% ई.सी., १.५ एम. एल. प्रति लिटर वा फ्लोनिकामिड ५० डब्लु.जी., १ ग्राम ३ लिटर पानीको दरले मिसाई लाही लागेको ठाँउमा भिज्नेगरि छर्कनुहोस्।
- काउली समूहका बालीमा लाग्ने गाँठे रोग व्यवस्थापनका लागि फ्लुआजिनाम विषादीको धुलो २-३ ग्राम प्रति लिटर पानीमा घोली बोट वरिपरि ड्रेन्चिङ गर्नुहोस्।
- आलु र गोलभेँडाको पछौटे डढुवा रोग व्यवस्थापनको लागि रोगग्रस्त बोटहरु काँटछाँट गरी हावा खेल्ने ठाउँ बनाउनुहोस्। रोगी हाँगा र पातहरु टिपेर उचित व्यवस्थापन गर्नुका साथै साफ बिषादी र सेक्टिन (Sectin-60WG) बिषादी आलोपालो गरि हप्ता दिनको फरकमा २ एम.एल. प्रति लिटर पानीको घोलमा मिसाएर २-३ पटकसम्म सम्पूर्ण बोटहरु भिज्नेगरि छर्केर उपचार गर्नुहोस्।
- हिउँदको समयमा पशुवस्तुलाई हरियो घाँस र पोषणतत्वको कमी हुने र उत्पादन तथा उत्पादकत्वमा पनि कमी आउने भएकोले उक्त समयमा उग्राउने पशुहरुलाई युरिया मिश्रितपशुहरुलाई ४% युरियाले उपचार गरिएको पराल वा युरिया मोलासेस ब्लक खुवाउनुहोस्।
- कार्प माउ माछापोखरीलाई हिँउदयाममा चिरा पर्नेगरी सुकाउनुहोस र घर पोत्ने चून १५ के.जी. प्रति कठ्ठा पोखरीको दरले पोखरीको चारै कुना पर्ने गरी छर्नुहोस्।
- मौसम सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने जल तथा मौसम विज्ञान विभागको फोन नम्बर-११५५ मा फोन गर्नुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक शुक्रबार साँझ ४ देखि ६ बजेसम्म फोन गर्नुहोस्।

