कृषि मौसम सल्लाह बुलेटिन (बर्ष ११, अंक ३५)

मौसमी सारांश:

  • गत साता देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकोले कुनै पनि केन्द्रमा वर्षा मापन भएको छैन। त्यसैगरी आंशिक बदलीका कारण देशका धेरै केन्द्रहरुमा सरदर भन्दा बढी अधिकतम तापक्रम मापन भएको छ भने केही केन्द्रहरुमा सरदर भन्दा बढी न्यूनतम तापक्रम मापन भएको छ। कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही हिमाली भू-भागमा ०.० डि.से. भन्दा कम साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएको छ।
  • यो साताको शुरुमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहने तथापि साताको मध्य र अन्त्यमा देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहने देखिन्छ।
  • उच्च पहाडी तथा हिमाली भू-भागः कोशी प्रदेशमा साताभर र बाँकी प्रदेशमा साताको मध्य र अन्त्यमा एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना छ।
  • पहाडी भू-भागः कोशी प्रदेश र गण्डकी प्रदेशमा साताको मध्य र अन्त्यमा तथा बागमती प्रदेशमा सातको अन्त्यमा एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
  • तराई भू-भागः साताभर मौसम मुख्यतया सफा रहने देखिन्छ।
  • यो साता देशभर न्यूनतम तापक्रम हल्का घट्ने अधिकतम तापक्रममा उल्लेखनिय परिवर्तन नहुने सम्भावना छ। यो साता अधिकतम तापक्रम सरदर भन्दा केही माथि रहने र न्यूनतम तापक्रम सरदर भन्दा हल्का कम रहने देखिन्छ। -values ??

कृषि सारांश

  • आगामी साताको मौसम सामान्यतया सफा रहने भएकोले पाकेको धान, कोदो र अन्य बाली भित्र्याउनुहोस्।
  • लागत न्यूनीकरण एवं कम समयमै धान भित्र्याउन उपलब्ध मेशिनहरु (रिपर, कम्बाईन हार्भेस्टर, थ्रेसर) ईत्यादी प्रयोग गर्नुहोस्।
  • सुन्तलाजात फलफूलको नर्सरीमा बिजु विरुवा उत्पादन गर्नको लागि आवश्यक पर्ने बीउ र कलमी विरूवा उत्पादनको लागि तीनपाते सुन्तलाको बीउ प्लास्टिक घरको नर्सरीमा जमाउनुहोस्। 
  • तापक्रम कम हुँदै जाँदा फलफूल बाली (मेवा, आँप, एभोकाडो आदि) का बोटमा मिली बगको प्रकोप कम गर्न बगैँचाको सरसफाईमा ध्यान दिनुको साथै बोटको मुल काण्डको १ फीट माथि चारैतिर लेसिलो पट्टि लगाउने वा ४०० गेजको २५ से.मी. चौडा बाक्लो पहेँलो प्लाष्टिक बोटको फेदमा बाँध्नुहोस्।
  • तराई, भित्री-मधेश तथा बेशीमा शित भण्डारबाट निकाली राम्रोसँग टुसाएका गुणस्तरीय बिउ आलु रोप्नुहोस् l सकभर मझौला खालको (२५ देखि ५० ग्राम तौल भएका) सिंगो बीउ आलु रोप्नुहोस् l
  • आलुमा लाग्ने धुले दाद रोग रोगको जीवाणु आलुको दानामा हुने हुनाले रोगमुक्त बीउ आलुको प्रयोग गर्नुहोस्। साथै, फ्लुयाजिनाम (५० एस.सी.) नामक बिषादी ५ एम.एल. प्रतिलिटर पानीको घोलमा आधा घण्टा डुबाहारीमा ओभाएर रोप्नुहोस्। बिषादीको बाँकी घोल आलु रोपिसकेपछि ड्रेन्चिङ गर्नुहोस्।
  • काउली समूहका बालीमा लाग्ने गाँठे रोग व्यवस्थापनका लागि फ्लुआजिनाम विषादीको धुलो २-३ ग्राम प्रति लिटर पानीमा घोली बोट वरिपरि ड्रेन्चिङ गर्नुहोस्।
  • गोलभेँडामा पछौटे डढुवा रोग व्यवस्थापनको लागि रोगग्रस्त बोटहरु काँटछाँट गरी  हावा खेल्ने ठाउँ बनाउनुहोस्। रोगी हाँगा र पातहरु टिपेर उचित व्यवस्थापन गर्नुका साथै साफ बिषादी र सेक्टिन (Sectin-60WG) बिषादी आलोपालो गरि हप्ता दिनको फरकमा २ एम.एल. प्रति लिटर पानीको घोलमा मिसाएर २-३ पटकसम्म सम्पूर्ण बोटहरु भिज्नेगरि छर्केर उपचार गर्नुहोस्।
  • धान काटेपछिको ओसिलो खेतमा, पानी जमेको, सिमसार, ढाप क्षेत्र जस्ता शंखेकिराको प्रकोप हुने स्थानहरुमा पशुवस्तुहरुलाई नचराउनुहोस्। नियमित रुपमा आ-आफ्ना पशुवस्तुहरुको गोबर परिक्षण गराई, नाम्लेमाटे समस्या देखिएमा, दक्ष प्राविधिकको सल्लाहमा अक्सिक्लोजानाईड वा यस्तै अन्य रशायनिक औषधिहरु,१५-२० मिलिग्राम प्रति केजी शारिरक तौलका दरले मात्रा पुग्ने गरी खुवाउनुहोस्।
  • गाई-भैँसीमा हुने बाँझोपन कम गर्न बाली खोजेको ८-१२ घण्टाभित्र कृत्रिम गर्भाधान गर्ने र उल्टिरहने समस्या भएमा एक पटक पोभिडिन आयोडिनको (१%) झोल प्रयोग गरी प्राविधिकको सल्लाह बमोजिम पाठेघर सफा गराउनुहोस्।
  • पंगास जातको माछाले चिसो मौसम सहन नसक्ने हुँदा बिक्रीयोग्य साईजको माछालाई अलग्गै छुट्टाई अन्य माछालाई करिब २-२.५ मिटर गहिरो पोखरीमा स्टकिंग गर्नका लागि आवश्यक तयारी गर्नुहोस्।
  • मौसम सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने जल तथा मौसम विज्ञान विभागको फोन नम्बर-११५५ मा फोन गर्नुहोस्।
  • कृषि पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक शुक्रबार साँझ देखि बजेसम्म फोन गर्नुहोस्।