कृषि मौसम सल्लाह बुलेटिन (बर्ष ११, अंक ३४)

मौसमी सारांश:

  • गत साताको वर्षाको तथ्याङ्क अनुसार देशमा पश्चिमी वायु र अरब सागरमा बनेको न्यूनचापीय प्रणाली तथा बंगालको खाडीमा विकसित भएको चक्रवात मोन्थाको प्रभावका कारण साताको सुरूमा सुदूर-पश्चिम प्रदेश बाहेक अरु प्रदेशका अधिकांश केन्द्रहरुमा सरदर भन्दा बढी वर्षा मापन गरिएको छ। विशेषगरि कोशी प्रदेशका तराईका भू-भागहरुमा १०० मि.मि भन्दा बढी साप्ताहिक कुल वर्षा मापन गरिएको छ। त्यसैगरी वर्षा र बदलीका कारण देशका अधिकांश केन्द्रहरुमा सरदर भन्दा कम अधिकतम तापक्रम मापन भएको छ भने अधिकांश केन्द्रहरुमा सरदर भन्दा बढी न्यूनतम तापक्रम मापन भएको छ।  
  • यस साता देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहने देखिन्छ ।
  • उच्च पहाडी तथा हिमाली भू-भागः कोशी, बागमती र गण्डकी प्रदेशमा साताभर र बाँकी प्रदेशमा साताको सुरु र अन्त्यमा एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ।
  • पहाडी भू-भागः कोशी प्रदेश र गण्डकी प्रदेशमा साताको सुरु र मध्यमा र बाँकी प्रदेशमा साताको सुरुमा एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
  • तराई भू-भागः साताभर मौसम मुख्यतया सफा रहने देखिन्छ ।
  • यो साता देशभर न्यूनतम तापक्रम अधिकतम तापक्रममा उल्लेखनिय परिवर्तन नहुने सम्भावना रहेको छ। यो साता अधिकतम तापक्रम सरदर भन्दा केही माथि रहने र न्यूनतम तापक्रम सरदर भन्दा केही कम रहने देखिन्छ।

  कृषि सारांश

  • पाकेको धान, कोदो र अन्य बाली मौसमको अवस्था हेरी भित्र्याउनुहोस्।
  • लागत न्यूनीकरण एवं कम समयमै धान भित्र्याउन उपलब्ध मेशिनहरु (रिपर, कम्बाईन हार्भेस्टर, थ्रेसर) ईत्यादी प्रयोग गर्नुहोस्।
  • सुन्तलाजात फलफूलको नर्सरीमा बिजु विरुवा उत्पादन गर्नको लागि आवश्यक पर्ने बीउ र कलमी विरूवा उत्पादनको लागि तीनपाते सुन्तलाको बीउ प्लास्टिक घरको नर्सरीमा जमाउनुहोस्। 
  • तापक्रम कम हुँदै जादाँ लाही कीराको प्रकोप बढ्दै जाने हुनाले करेसाबारी र कौसी खेती गर्दा व्यवस्थापनका लागि एक भाग गाईको गहुँत ४ भाग पानीमा मिसाएर रातभरि राखी लाही लागेको ठाँउमा भिज्नेगरि भोलीपल्ट छर्कनुहोस्।
  • स्याउ टिपिसकेपछि पनि बोटमा कत्ले कीराको प्रकोप रहिरहने हुँदा यसको व्यवस्थापनको लागि खनिज तेल १० देखी १५ एम.एल. प्रति लिटर पानीमा मिसाई कीरा लागेको स्थानमा भिज्नेगरि सात-सात दिनको अन्तरालमा तीनपटक छर्कनुहोस्।
  • तराई, भित्री-मधेश तथा बेशीमा शित भण्डारबाट निकाली राम्रोसँग टुसाएका गुणस्तरीय बिउ आलु रोप्नुहोस् l सकभर मझौला खालको (२५ देखि ५० ग्राम तौल भएका) सिंगो बीउआलु रोप्नुहोस् l
  • आलुमा लाग्ने धुले दादे रोग रोगको जीवाणु आलुको दानामा हुने हुनाले रोगमुक्त बीउ आलुको प्रयोग गर्नुहोस्। साथै, फ्लुयाजिनाम (५० एस.सी.) नामक बिषादी ५ एम.एल. प्रतिलिटर पानीको घोलमा आधा घण्टा डुबाई छहारीमा ओभाएर रोप्नुहोस्। बिषादीको बाँकी घोल आलु रोपिसकेपछि ड्रेन्चिङ गर्नुहोस्।
  • गोलभेँडामा पछौटे डढुवा रोग व्यवस्थापनको लागि रोगग्रस्त बोटहरु काँटछाँट गरी  हावा खेल्ने ठाउँ बनाउनुहोस्। रोगी हाँगा र पातहरु टिपेर उचित व्यवस्थापन गर्नुका साथै साफ बिषादी र सेक्टिन बिषादी आलोपालो गरि हप्ता दिनको फरकमा २ एम.एल. प्रति लिटर पानीको घोलमा मिसाएर २-३ पटकसम्म सम्पूर्ण बोटहरु भिज्नेगरि छर्केर उपचार गर्नुहोस्।
  • प्याजको बीउ नर्सरीमा राखी छापो लगाउनुहोस्। साथै बीउ राम्रोसँग उमार्नको लागि रोप्नुअघि १२ घन्टा जति पानीमा बीउ भिजाउनुहोस्।
  • धान काटेपछिको ओसिलो खेतमा, पानी जमेको, सिमसार, ढाप क्षेत्र जस्ता शंखेकिराको प्रकोप हुने स्थानहरुमा पशुवस्तुहरुलाई नचराउनुहोस्। नियमित रुपमा आ-आफ्ना पशुवस्तुहरुको गोबर परिक्षण गराई, नाम्लेमाटे समस्या देखिएमा, दक्ष प्राविधिकको सल्लाहमा अक्सिक्लोजानाईड वा यस्तै अन्य रशायनिक औषधिहरु,१५-२० मिलिग्राम प्रति केजी शारिरक तौलका दरले मात्रा पुग्ने गरी खुवाउनुहोस्।
  • तराईका जिल्लाहरुमा कमन कार्प जातका माछाको प्रजनन गर्ने कृषकहरुले भाले र पोथी माउ माछालाई अलग-अलग पोखरीमा स्टक गर्नुहोस्। यसरी स्टक गर्दा भाले माउको संख्या पोथीको दोब्बर हुने गरी राख्नुहोस्।
  • रेन्वो ट्राउट माछाको प्रजनन गर्ने कृषकहरुले परिपक्व माउ माछा (भाले, पोथी) छनौट गरी प्रजननको कार्य सुरु गर्नुहोस्।प्रजननको समयमा पानीको तापक्रम ९ डिग्री देखि १३ डिग्रीको बीचमा हुनुपर्दछ।   
  • मौसम सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने जल तथा मौसम विज्ञान विभागको फोन नम्बर-११५५ मा फोन गर्नुहोस्।
  • कृषि पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक शुक्रबार साँझ देखि बजेसम्म फोन गर्नुहोस्।