![]() |
नेपाल सरकार राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (कार्यक्षेत्र: रुपन्देही र नवलपरासी (ब.सु.प)) |
|
कृषि मौसम सल्लाह बुलेटिन (बर्ष ११, अंक ३०)
· गत साताको वर्षाको तथ्याङ्क अनुसार देशभर वर्षा मापन गरिएको छ। देशको पश्चिमी भू-भागभन्दा पूर्वी भू-भागमा बढी वर्षा मापन गरिएको छ। विशेषगरी मधेश प्रदेशका अधिकांश भू-भागहरुमा, कोशी प्रदेशका तराईका अधिकांश भू-भागहरुमा र बागमती प्रदेशका थोरै भू-भागमा २०० मि.मि भन्दा बढी साप्ताहिक कुल वर्षा मापन गरिएको छ। सबैभन्दा बढी मधेश प्रदेशको रौतहट जिल्लामा रहेको गौर केन्द्रमा ५१८.५ मि.मि. साप्ताहिक कुल वर्षा मापन भएको छ। वर्षाको कारण अधिकांश केन्द्रहरुमा साप्तहिक औसत अधिकतम तापक्रम सरदर भन्दा कम मापन भएको छ। साथै बदलीका कारण धेरै केन्द्रहरुमा न्यूनतम तापक्रम सरदर भन्दा बढी मापन भएको छ।
· साताको सूरुमा देशभर सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानहरूमा पश्चिमी वायूको प्रभाव तथा बाँकी भू-भागमा मनसुनी वायु तथा स्थानीय वायुको कमजोर प्रभाव रहेको छ। साथै मध्य र अन्त्यमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रवाभ रहने देखिन्छ।
· उच्च पहाडी तथा हिमाली भू-भागः कोशी, बागमती र गण्डकी प्रदेशमा साताभर र बाँकी प्रदेशमा साताको सुरु र मध्यमा एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा/ हिमपातको सम्भावना छ।
· पहाडी भू-भागः कोशी र बागमती प्रदेशमा साताभर र वाँकी प्रदेशमा साताको सुरु र मध्यमा एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ।
· तराई भू-भागः साताको सुरु र मध्यमा कोशी र मधेश प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना तथा बाँकी भू-भागमा आंशिक बदली देखि मूख्यतया सफा रहने देखिन्छ।
· यो साता देशभर हिमाली र पहाडी भू-भागमा न्यूनतम तापक्रम र अधिकतम तापक्रम हल्का घट्ने तथा तराई भू-भागमा उल्लेखनिय परिवर्तन नहुने सम्भावना छ।
मनसुन बहिर्गमनको अवस्था
· २०८२ असोज २० का दिन यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्विनी प्रदेशको पश्चिमी भू-भागको धेरै स्थानहरु र गण्डकी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानहरुबाट बाहिरिएको छ। मनसूनी वायु कमजोर हुँदै गईरहेको हुनाले नेपालको बाँकी भू-भागबाट पनि केही दिनमा मनसुन बाहिरिने संभावना छ।
कृषि सारांश
· हावाहुरीबाट लडेको धानको बालालाई सक्दो चाँडै काटेर, थ्रेश गरी र दाना सुकाई बिक्रि गर्नुहोस्। भिजेर भण्डारण गर्न नमिल्ने धानलाई बिग्रनबाट जोगाउन नजिकको मिलसँग समन्वय गरी बिक्रि गर्ने वा चिउरा, भुजा बनाई प्रयोगमा ल्याउनुहोस्।
· कोशी र बागमती प्रदेशमा साताभर र वाँकी प्रदेशमा साताको सुरु र मध्यमा एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना भएकाले पाकिसकेको धान मौसमको अवस्था हेरी भित्राउनुहोस्।
· धानबालीमा मिलीबग कीराको क्षतिको पहिचान र व्यवस्थापनको लागि रासायनिक विषादीहरु जस्तै-इमिडाक्लोपिड १७.८ एस.सी. ४ देखी ८ एम.एल. वा थायोमिथोक्जाम २५% एस.जी. ३.२- ५ ग्राम वा निटेनपाइराम १०% २- ५ एम.एल. प्रति १६ लिटर पानीको दरले स्टिकर मिसाएर विरुवाको तल्लो भागमा पर्नेगरि साताको शुरुमा नै छर्कनुहोस्।
· उच्चपहाडको लागि सिफारिस गरिएका गहुँका जातहरु- मुडुले-१, हिमगंगा, तिला, सुर्मा, च्याखुरा, मुनाल, डब्लु.के. १२०४, स्वर्गद्वारी, पासाङ्ल्हामु, डाँफे, भेरीगंगा, कौटिला, मध्ये उपलब्ध जातको गणुस्तरिय बीउ ६.० के.जी. प्रति रोपनीको दरले बीउको व्यवस्था गर्नुहोस्।
· यो समयमा सुन्तलाजात फलफूल बालीमा औँसा कीराको गतिविधिले झरेको फलहरुलाई संकलन पश्चात प्लाष्टिकको झोलामा हावा नछिर्ने गरेर बन्द गरी नष्ट गर्नुहोस् वा गहिरो खाल्डो खनेर गाड्नुहोस्। साथै वगैँचाको सरसफाई गर्नुहोस्।
· विभिन्न तरकारी बालीहरुको नर्सरी ब्याडमा पानी जमेर बेर्ना कुहिने रोग लागेमा कार्बेन्डाजिमयुक्त विषादी-वेभिष्टिन २ ग्राम प्रति लिटर पानीमा घोलेर नर्सरी ब्याड भिज्नेगरि छर्कनुहोस्।
· केही दिन अघिको भारी बर्षाको कारण पशुवस्तुले पिउने पानीको मुहान संक्रमित भएकाले हिलो, लेदो, फोहोर जमेको स्थानका पानी पशुवस्तुलाई नखुवाउनुहोस्।
· चिसो ठाउँमा भण्डारण गरेको दानामा ढुसीको संक्रमण हुनसक्छ जसले गर्दा पशुवस्तुको स्वास्थ्यमा समस्या आउनुका साथै त्यसबाट उत्पन्न हुने बिषका कारण पशुपन्छी तथा माछामा प्रतिकूल असर पर्ने भएकोले दानालाई सकेसम्म सुख्खा राख्नुहोस्।
· हावामा आर्द्रता बढी भएको वा खोर चिसो र हिलो भएको अवस्थामा कुखुराहरुमा सुलसुले, जुम्रा जस्ता बाह्य परजिवीहरुको समस्या देखिने हुँदा दैनिक रुपमा खोरको अनुगमन गर्नुहोस्। यदि सुसलसुले जस्ता परजिवीहरु देखिएमा, बाह्य परजिवीनाशक विषादीहरु जस्तै- स्पिनोसाड, साईपरमेथ्रिन, वा एमिट्राज दक्ष प्राविधिकको सल्लाहमा आवश्यकता अनुसारले प्रयोग गर्नुहोस्।
· केही दिन अघिको भारी वर्षा भएका स्थानहरुका माछापोखरीहरू बाट पोषक तत्त्वहरू बगेर गएका हुनाले पोखरीको उत्पादन क्षमता कायम राख्न पि.एच. सन्तुलन गर्नुका साथै सिफारिश मात्रामा मल र चुनाको प्रयोग गर्नुहोस्।
· मौसम सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने चौविसै घण्टा उपलब्ध जल तथा मौसम विज्ञान विभागको फोन नम्बर-११५५ मा फोन गर्नुहोस्।
· कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक शुक्रबार साँझ ४ देखि ६ बजेसम्म फोन गर्नुहोस्।

