![]() |
नेपाल सरकार राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (कार्यक्षेत्र: रुपन्देही र नवलपरासी (ब.सु.प)) |
|
कृषि मौसम सल्लाह बुलेटिन (बर्ष ११, अंक २९)
- गत साताको वर्षाको तथ्याङ्क अनुसार देशमा पश्चिमी वायु र अरब सागरमा बनेको न्यूनचापीय प्रणाली तथा बंगालको खाडीमा विकसित भएको चक्रवात “मोन्था”को प्रभावका कारण अधिकांश केन्द्रहरुमा सरदर भन्दा बढी वर्षा मापन गरिएको छ। विशेषगरि गण्डकी प्रदेशका हिमाली भू-भागहरुमा ५० मि.मि भन्दा बढी साप्ताहिक कुल वर्षा मापन गरिएको छ र त्यहाँ हिमपात पनि भएको छ। कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही हिमाली भू-भागमा ५.० डि.से. भन्दा कम साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएको छ। तराईका अधिकांश स्थानहरुमा ३०.० डि.से भन्दा बढी साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ।
- यस साताको शुरूमा बंगालको खाडीमा विकसित भएको चक्रवात “मोन्था” हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रुपमा रहेको र सो प्रणालीको कारणले नेपालको मौसम मिति २०८२/०७/१५ गते शनिबार बिहानसम्म प्रभावित हुने ततःपश्चात मौसममा क्रमिक रुपमा सुधार हुने देखिएको छ। साथै पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहने छ। साताको मध्य र अन्त्यमा पश्चिमी वायूको आंशिक प्रभाव रहने छ।
- उच्च पहाडी तथा हिमाली भू-भागः साताको सुरुमा कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षा/हिमपात, तथा एक-दुई स्थानमा भारी वर्षा/हिमपातको सम्भावना रहेको छ। साताको सुरुमा बाँकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ। साथै साताको मध्य तथा अन्त्यमा एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।
- पहाडी भू-भागः साताको सुरुमा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षा तथा थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। साताको मध्य तथा अन्त्यमा एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
- तराई भू-भागः साताको सुरुमा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षा तथा थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।
- देशका अधिकांश स्थानहरूमा यो साताको शुरूमा देशभर न्यूनतम तापक्रम तथा अधिकतम तापक्रम घट्ने तर साताको मध्य र अन्त्यमा केही बढ्ने सम्भावना रहेको छ। यो साता वर्षाको हकमा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सरदर भन्दा बढि तथा बाँकी प्रदेशमा सरदरको आसपास रहने देखिन्छ।
कृषि सारांश
- साताको शुरुमा पहाडी तथा तराई भूभागका धेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेकोले नकाटेको धानलाई मौसम सफा भई पानी पर्न रोकिएको ३-४ दिनपछि मौसमको अवस्था हेरेर मात्र धान काट्नुहोस्।
- धान खेतबाट पानीको निकास राम्रोसँग गर्नुहोस्। खेतको गराको विभिन्न ठाउँबाट कुलेसो काटी पानीको निकास गर्नुहोस्।
- काटेर खेतमै छोडेको धानको पाँजोलाई संकलन गरी पानी नजम्ने अग्लो स्थानमा ओतको व्यवस्था गरी राख्नुहोस्।
- मौसमको अवस्था हेरि सुन्तलाजात फलफूलको नर्सरीमा बिजु विरुवा उत्पादन गर्नको लागि आवश्यक पर्ने बीउ र कलमी विरूवा उत्पादनको लागि तीनपाते सुन्तलाको बीउ प्लास्टिक घरको नर्सरीमा जमाउनुहोस्।
- बिभिन्न फलफूल तथा तरकारी बालीहरुको नर्सरी ब्याडमा पानी जमेर बेर्ना कुहिने रोग लाग्न सक्ने भएकोले पानी निकासको प्रवन्ध गर्नुहोस्।
- प्लास्टिक घरमा खेति गरिएको गोलभेँडामा पछौटे डढुवा (Late blight) रोग व्यवस्थापनको लागि रोगग्रस्त बोटहरु काँटछाँट गरि हावा खेल्ने ठाउँ बनाउनुहोस्। रोगी हाँगा र पातहरु टिपेर उचित व्यवस्थापन गर्नुका साथै साफ बिषादी र सेक्टिन (Sectin-60WG) बिषादी आलोपालो गरि हप्ता दिनको फरकमा २ एम.एल. प्रति लिटर पानीको घोलमा मिसाएर २-३ पटकसम्म सम्पूर्ण बोटहरु भिज्नेगरि छर्केर उपचार गर्नुहोस्।
- अत्यधिक पानीको वहावले गर्दा खाद्यतत्व बगेर गई तरकारी बालीमा खाद्यतत्व अभावको लक्षणहरु देखिन सक्छ। अबको ३-४ दिन तरकारी बालीहरु निरन्तर अनुगमन गरी खाद्यतत्व अभावका लक्षणहरु पहिचान गरी आवश्यक खाद्यतत्व स्प्रे गर्नुहोस्।
- उच्च पहाडमा पशु चौपायालाई हिमपातको समयमा चरण तथा खर्कमा नलगी खोर तथा गोठमै उचित खुराकको ब्यवस्थापन गर्नुहोस्। साथै पशुवस्तुलाई मनतातो खोले/पानी खुवाउनुहोस्।
- चिसो ठाउँमा भण्डारण गरेको दानामा ढुसीको संक्रमण हुनसक्छ जसले गर्दा पशुवस्तुको स्वास्थ्यमा समस्या आउनुका साथै त्यसबाट उत्पन्न हुने बिषका कारण उपभोक्तामा समेत प्रतिकुल असर पर्ने भएकोले पशुपन्छी तथा माछाको दानालाई सकेसम्म सुख्खा राख्नुहोस्।
- साताको शुरुमा पहाडी तथा तराई भूभागका धेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेकोले हावामा आर्द्रता बढ्न सक्ने साथै खोर चिसो भएको अवस्थामा कुखुराहरुमा सुलसुले, जुम्रा जस्ता बाह्य परजिवीहरुको समस्या देखिएमा दक्ष प्राविधिकको सल्लाहमा विषादीले उपचार गर्नुहोस्।
- तराईका जिल्लाहरुमा कमन कार्प जातका माछाको प्रजनन गर्ने कृषकहरुले भाले र पोथी माउ माछालाई अलग-अलग पोखरीमा स्टक गर्नुहोस्। यसरी स्टक गर्दा भाले माउको संख्या पोथीको दोब्बर हुने गरी राख्नुहोस्।
- मौसम सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने चौविसै घण्टा उपलब्ध जल तथा मौसम विज्ञान विभागको फोन नम्बर-११५५ मा फोन गर्नुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक शुक्रबार साँझ ४ देखि ६ बजेसम्म फोन गर्नुहोस्।

