![]() |
नेपाल सरकार राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (कार्यक्षेत्र: रुपन्देही र नवलपरासी (ब.सु.प)) |
|
कृषि मौसम सल्लाह बुलेटिन (बर्ष ११, अंक २८)
- गत साताको वर्षाको तथ्याङ्क अनुसार देशका पश्चिमी भू-भागमा साताको अन्त्यमा थोरै केन्द्रहरुमा हल्का वर्षा मापन गरिएको छ। त्यसैगरि देशका अधिकांश केन्द्रहरुमा साप्ताहिक अधिकतम तापक्रम र न्यूनतम तापक्रम दुवै सरदर भन्दा बढी मापन भएको छ। मधेश प्रदेशका थोरै स्थानहरुमा तथा कोशी प्रदेशका एक-दुई तराईका स्थानहरुमा ३५.० डि.से भन्दा बढी र अन्य तराईका स्थानहरुमा ३०.० डि.से भन्दा बढी साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ। देशको पश्चिमी भू-भागका केही उच्च पहाडी स्थानहरूमा ५.० डि.से. भन्दा कम साप्ताहिक औसत न्यूनतम तापक्रम मापन गरिएको छ।
- यस साता देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहने देखिन्छ। साताको मध्य र अन्त्यमा न्यूनचापीय प्रणालीको आंशिक प्रभाव समेत रहने देखिन्छ।
- उच्च पहाडी तथा हिमाली भू-भाग: साताको शुरु र मध्यमा सबै प्रदेशको एक-दुई स्थानमा तथा साताको अन्त्यमा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिमका थोरै स्थानहरूमा साथै साताको अन्त्यमा कोशी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा/हिमपातको सम्भावना छ।
- पहाडी भू-भाग: सबै प्रदेशमा साताको सुरु र मध्यमा एक-दुई स्थानमा तथा साताको अन्त्यमा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिमका थोरै स्थानहरूमा साथै साताको अन्त्यमा कोशी प्रदेशका केहि स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ।
- तराई भू-भाग: साताको मध्य र अन्त्यमा गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा साथै साताको अन्त्यमा कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ।
- यस साता देशभर न्यूनतम तापक्रम उल्लेखनिय परिवर्तन नहुने तथा अधिकतम तापक्रम साताको मध्य र अन्त्यमा हल्का घट्ने सम्भावना छ। यस साता न्यूनतम तापक्रम र अधिकतम तापक्रम सरदर भन्दा केही बढी रहने देखिन्छ।
कृषि सारांश
- यस साता देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहने साथै साताको मध्य र अन्त्यमा न्यूनचापीय प्रणालीको आंशिक प्रभाव समेत रहने देखिएकोले पाकिसकेको धान मौसमको अवस्था हेरी भित्र्याउनुहोस्।
- कम्बाईन हार्भेष्टरले धान काट्दा खेतमा छोडेको पराल जलाउँदा खेत र वातावरणमा प्रतिकुल प्रभाव पार्ने तथा पशु आहारामा समेत असर पार्ने हुँदा बेलर मेसिन अथवा अन्य विधिहरु बाट पराल जम्मा गर्नुहोस्।
- धान काटिसकेपछिको समय माटोको नमुना संकलन गर्ने र माटो जाँच्ने सबैभन्दा उपयुक्त समय भएकोले आफ्नो खेत, बारीको माटो जाँच गरी माटोको स्वस्थताको अवस्था थाहा पाउनुहोस्।
- गहुँवालीमा सिन्दुरे रोगको प्रकोप कम गर्न पहाडमा कार्तिक १ देखि २५ गते (नोभेम्बर १०) भित्र र तराईमा मंसिर १ देखि २५ गते (डिसेम्बर १०) भित्र गहुँ छरिसक्नुहोस्। पहाडका लागि सिन्दुरे रोग अवरोधी बीउहरु: स्वर्गद्वारी, मुनाल, च्याखुरा तथा तराईका लागि बाणगंगा, बि.एल. ४३४१, एन.एल. ९७१, आदित्य जातका बीउलाई भाइटाभेक्स २ ग्राम प्रति के.जी. बीउका दरले उपचार गरेर मात्र छर्नुहोस्।
- पहाडको लागि सिफारिस मुसुरोका जातहरुको बीउ ढुसीनाशक बिषादी-बेभिष्टिन २ ग्राम प्रति के.जी. बीउको दरले र त्यसपछि राईजोवियम जीवाणुले उपचार गरी छर्नुहोस्।
- स्याउ टिपिसकेपछि पनि बोटमा कत्ले कीराको प्रकोप रहिरहने हुँदा यसको व्यवस्थापनको लागि खनिज तेल १० देखी १५ एम.एल. प्रति लिटर पानीमा मिसाई कीरा लागेको स्थानमा भिज्नेगरि सात-सात दिनको अन्तरालमा तीनपटक छर्कनुहोस्।
- तराई, भित्री-मधेश तथा बेँशीमा आलुका सिफारिस जातहरु (खुमल सेतो-३, खुमल उपहार, खुमल उज्वल, खुमल लक्ष्मी, खुमल रातो २, आईपिवाई ८, कुफ्रि सिन्दुरी, डेजिरे, कार्डिनल, एम.एस. ४२.३) मध्ये उपलब्ध जातहरूको गुणस्तरीय बीउ भरपर्दो श्रोतहरुबाट व्यवस्थापन गरि आवश्यक मात्रामा (८०-१०० के.जी. प्रति कट्ठा) रोप्नुहोस्। जग्गा तयारीको बेलामा ७५० के.जी. कम्पोष्ट, ७.३ के.जी. डि.ए.पी., १.५ के.जी. युरिया र ३.३ के.जी. एम.ओ.पी. प्रति कठ्ठाका दरले माटोमा मिलाउनुहोस्।
- ५० ग्राम भन्दा ठूलो साईजका बीउ आलु काटेर लगाउनु परेमा आलु काट्दा कम्तीमा २० ग्राम तौल, २-३ वटा आँखाहरु पर्ने गरी ठाडो चिरामा काट्नुहोस्। काटेको बीउमा बेभिष्टिन २ ग्राम प्रति लिटर पानीको घोलमा २०-२५ मिनेटसम्म डुबाई केही समय छहारीमा ओभाउन दिई रोप्नुहोस्। साथै, बीउ आलु काट्ने चक्कुलाई आलुको प्रत्येक कटाईपछि मट्टितेलमा डुबाउनुहोस्।
- बोरोन सुक्ष्म खाद्यतत्वको कमीले काउली बालीमा मुख्य बढ्ने भाग कालो भएर सुक्ने वा मर्ने र पछि डाँठ नै खोक्रो बन्ने भएकोले यसको व्यवस्थापनको लागी बोरेक्स १००० ग्राम प्रति रोपनीको दरले जग्गा तयारी गर्दा नै प्रयोग गर्नुहोस्।
- मोलिब्डेनमको कमीले काउली बालीका पातहरु साँघुरा, लाम्चा र फित्ता जस्ता हुने (whiptail-दाबिलो आकार) भएकोले यसको व्यवस्थापनको लागी सोडियम मेलिब्डेट १०० ग्राम प्रति रोपनीको दरले जग्गा तयारी गर्दा प्रयोग गर्नुहोस्।
- चिसो ठाउँमा भण्डारण गरेको दानामा ढुसीको संक्रमण हुनसक्छ जसले गर्दा पशुवस्तुको स्वास्थ्यमा समस्या आउनुका साथै त्यसबाट उत्पन्न हुने बिषका कारण उपभोक्तामा समेत प्रतिकुल असर पर्ने भएकोले पशुपन्छी तथा माछाको दानालाई सकेसम्म सुख्खा राख्नुहोस्।
- यस साता देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहने साथै साताको मध्य र अन्त्यमा न्यूनचापीय प्रणालीको आंशिक प्रभाव समेत रहने देखिएकोले हावामा आर्द्रता बढ्न सक्ने साथै खोर चिसो भएको अवस्थामा कुखुराहरुमा सुलसुले, जुम्रा जस्ता बाह्य परजिवीहरुको समस्या देखिएमा दक्ष प्राविधिकको सल्लाहमा विषादीले उपचार गर्नुहोस्।
- तराईका जिल्लाहरुमा कमन कार्प जातका माछाको प्रजनन गर्ने कृषकहरुले भाले र पोथी माउ माछालाई अलग-अलग पोखरीमा स्टक गर्नुहोस्। यसरी स्टक गर्दा भाले माउको संख्या पोथीको दोब्बर हुने गरी राख्नुहोस्।
- मौसम सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने चौविसै घण्टा उपलब्ध जल तथा मौसम विज्ञान विभागको फोन नम्बर-११५५ मा फोन गर्नुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक शुक्रबार साँझ ४ देखि ६ बजेसम्म फोन गर्नुहोस्।

