कृषि मौसम सल्लाह बुलेटिन (बर्ष ११, अंक २५)

मौसमी सारांश:

  • गत साताको वर्षाको तथ्याङ्क अनुसार देशभर वर्षा मापन गरिएको छ। गण्डकी प्रदेशका मध्य भू-भाग तथा बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही तराईका भू-भागहरुमा १०० मि.मि भन्दा बढी साप्ताहिक कुल वर्षा मापन गरिएको छ। विशेष गरी लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका अधिकांश भू-भागहरुमा सरदर भन्दा बढी वर्षा मापन गरिएको छ। धेरै केन्द्रहरुमा सरदर भन्दा कम वर्षा मापन गरिएको कारण अधिकांश भू-भागहरुमा साप्तहिक औसत अधिकतम र न्यूनतम तापक्रम सरदर भन्दा बढी मापन भएको छ।
  • उच्च पहाडी तथा हिमाली भू-भागः कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साताको सुरु र मध्यमा धेरै स्थानहरू र अन्त्यमा थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा/हिमपातको सम्भावना छ। साताको सुरु र मध्यमा थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित भारी र एक-दुई स्थानमा धेरै भारी/अति भारी बर्षाको पनि संभावना छ। सुदूरपश्चिम र कर्णाली प्रदेशमा साताको सुरु र अन्त्यमा थोरै स्थानहरूमा, मध्यमा एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा/ हिमपातको सम्भावना छ।
  • पहाडी भू-भागः कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साताको सुरु र मध्यमा धेरै स्थानहरू र अन्त्यमा थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ। साताको सुरु र मध्यमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित थोरै स्थानमा भारी र एक-दुई स्थानमा धेरै भारी/अति भारी बर्षाको पनि सम्भावना छ। सुदूरपश्चिम र कर्णाली प्रदेशमा साताको सुरु र अन्त्यमा थोरै स्थानहरू मध्यमा एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना तथा साताको सुरुमा एक-दुई स्थानमा भारी बर्षाको पनि सम्भावना छ।
  • तराई भू-भागः मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा  साताको सुरु र मध्यमा धेरै स्थानहरू र अन्त्यमा थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ। साताको सुरु र मध्यमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित थोरै स्थानमा भारी र एक-दुई स्थानमा धेरै भारी/अति भारी बर्षाको पनि सम्भावना छ। सुदूरपश्चिम प्रदेशमा साताको सुरु र अन्त्यमा थोरै स्थानहरू, मध्यमा एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ। साताको सुरुमा एक-दुई स्थानमा भारी बर्षाको पनि सम्भावना छ।
  • यस साता देशभरको न्यूनतम तापक्रम अधिकतम तापक्रम घट्ने सम्भावना छ। 
  • औसतसँग तुलना गर्दाः देशका पूर्वी भू-भागमा औसत भन्दा बढी र पश्चिमी भू-भागमा औसत भन्दा कम वर्षा हुने सम्भावना छ। सबै प्रदेशमा अधिकतम तापक्रम न्यूनतम तापक्रम औसत आसपास वा औसत भन्दा कम रहने सम्भावना छ।

कृषि सारांश

  • मनसुन सक्रिय रहने समयमा तरकारीबाली, फलफूल बगैँचा तथा पाक्न लागेका धान खेतहरुमा पानी निकासको उचित व्यवस्था गर्नुहोस्। मलखाद राख्ने र विषादी छर्कने कार्य रोक्नुहोस्।
  • खास गरेर नदी, खोला छेउमा स्थित संरचनाहरु (कृषि फार्म, संरक्षित संरचना) बाढीको जोखिममा पर्न सक्ने हुनाले सम्भव भएसम्म भण्डारणमा रहेका खाद्यान्न तथा अन्य सामग्रीहरु सुरक्षित स्थानमा व्यवस्थापन गर्नुहोस्।
  • साताको शुरूमा मनसुन सक्रिय रहने देखिएकाले धानबालीमा हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागी धान खेतबाट पानीको निकास राम्रोसँग गर्नुहोस्। खेतको गराको विभिन्न ठाउँबाट कुलेसो काटी पानीको निकास गर्नुहोस्। नकाटेको धानलाई मौसम सफा भई पानी पर्न रोकेको ३-४ दिनपछि मात्र धान काट्नुहोस्। हावाहुरीबाट लडेको धानको बोटलाई बाँधेर खडा गर्नुहोस्। बाँसको खम्बा गाडी त्यसमाथि भिजेको धानको बाला सुकाउनुहोस्। यसअघि नै काटेको धानको पाँजोलाई अग्लो ठाउँ जस्तै-आली, कान्लामा सुकाउनुहोस्। भिजेको धानको बाला छिटो सुकाउन काटिसकेको धानको बालालाई नल (पराल) बाट छुट्याउनुहोस्। चुटिसकेको धानलाई हावा आउने ठाउँमा फिजाई पंखाको सहयोगले हावा दिई बेला-बेलामा धानलाई चलाई छिटो सुकाउने प्रबन्ध गर्नुहोस्। भिजेर भण्डारण गर्न नमिल्ने धानलाई बिग्रनबाट जोगाउन नजिकको मिलसँग समन्वय गरी चिउरा र भुजा बनाई प्रयोगमा ल्याउनुहोस्।
  • आगामी साता हावाहुरीको समेत संभावना देखिएको हुँदा पसाएका केराको बोटमा टेको दिनुहोस्।
  • तरकारी बालीका नर्सरीमा पानीबाट कलिलो बेर्ना जोगाउन छापो तथा छानोको व्यवस्था गर्नुहोस्।
  • विभिन्न तरकारीबालीहरुको नर्सरी ब्याडमा पानी जमेर बेर्ना कुहिने रोग लाग्न सक्ने भएकोले पानी निकासको प्रवन्ध गर्नुहोस्।
  • मौरी घारमा रोग, सुलसुले र रानु भए नभएको नियमित अवलोकन गर्नुहोस्। देशका पूर्वी भू-भागमा औसत भन्दा बढी र पश्चिमी भू-भागमा औसत भन्दा कम वर्षा हुने तथा न्यूनतम तापक्रम अधिकतम तापक्रम ट्ने सम्भावना रहेकोले मौरीको छाउरामा कुहिने रोग (Foul brood disease) लाग्ने सम्भावना हुने भएकोले मौरी घारको नियमित अनुगमन गर्नुहोस्।
  • पशुवस्तुलाई पानीमा भिज्नेगरी नराख्नुहोस्। साथै पशुवस्तुलाई खुवाउने दानालाई सफा र ओभानो ठाँउमा भण्डारण गर्नुहोस्। भिजेका, र बाढी पसेका स्थानका घाँस, पराल, दाना वा अन्न नखुवाउनुहोस्।
  • चिसो ठाउँमा भण्डारण गरेको दानामा ढुसीको संक्रमण हुनसक्छ जसले गर्दा पशुवस्तुको स्वास्थ्यमा समस्या आउनुका साथै त्यसबाट  उत्पन्न हुने बिषका कारण उपभोक्तामा समेत प्रतिकुल असर पर्ने भएकोले पशुपन्छी तथा माछाको दानालाई सकेसम्म सुख्खा राख्नुहोस्। अतः दाना  उद्योगबाट उत्पादित दाना भएको खण्डमा उक्त दानालाई ढुसी लाग्न नदिन ओभानो एवं प्रशस्त हावा खेल्ने ठाउँमा राख्नुहोस्। यद्यपि दाना बनाउन चाहिने कच्चा पदार्थहरु आफैँ जोरजाम गरी आफैँले बनाउदै हुनुहुन्छ भने प्रति टन दाना बनाउँदा २ के.जी. टक्सिन बाइन्डर प्रयोग गर्ने गर्नुहोस्।  
  • पानी परिरहेको, हावामा आर्द्रता बढी भएको वा खोर चिसो र हिलो भएको अवस्थामा कुखुराहरुमा सुलसुले, जुम्रा जस्ता बाह्य परजिवीहरुको समस्या देखिने हुँदा दैनिक रुपमा खोरको अनुगमन गर्नुहोस्। यदि सुसलसुले जस्ता परजिवीहरु देखिएमा, बाह्य परजिवीनाशक विषादीहरु जस्तै- स्पिनोसाड, साईपरमेथ्रिन, वा एमिट्राज दक्ष प्राविधिकको सल्लाहमा आवश्यकता अनुसारले प्रयोग गर्नुहोस्।
  • मौसम सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने चौविसै घण्टा उपलब्ध जल तथा मौसम विज्ञान विभागको फोन नम्बर-११५५ मा फोन गर्नुहोस्।
  • कृषि पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक शुक्रबार साँझ देखि बजेसम्म फोन गर्नुहोस्।