![]() |
नेपाल सरकार राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (कार्यक्षेत्र: रुपन्देही र नवलपरासी (ब.सु.प)) |
|
कृषि मौसम सल्लाह बुलेटिन (बर्ष ११, अंक २४)
- गत साताको वर्षाको तथ्याङ्क अनुसार देशका अधिकांश भू-भागमा वर्षा मापन गरिएको छ। बागमती प्रदेश र कोशी प्रदेशका केही पहाडी भू-भागहरु, गण्डकी प्रदेशको मध्य भू-भाग र लुम्बिनी प्रदेशको पूर्वी तराईका भू-भागहरुमा सरदर भन्दा बढी वर्षा मापन गरिएको छ भने अन्य भू-भागहरुमा सरदर भन्दा कम वर्षा मापन गरिएको छ। धेरै केन्द्रहरुमा सरदर भन्दा कम वर्षा मापन गरिएको कारण अधिकांश भू-भागहरुमा साप्तहिक औसत अधिकतम र न्यूनतम तापक्रम सरदर भन्दा बढी मापन भएको छ।
- हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रही स्थानीय वायूको आंशिक प्रभाव रहेको छ। साताको मध्य र अन्त्यमा बंगालको खाडी र भारतको ओडिसा आसपासको क्षेत्रमा बन्ने न्यून चापीय प्रणालीको पनि प्रभाव पर्नसक्ने सम्भावना रहेको छ।
- उच्च पहाडी तथा हिमाली भू-भागः कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साताको सुरुमा थोरै स्थानहरूमा साथै मध्य र अन्त्यमा केही स्थानहरूमा तथा बाँकी प्रदेशमा साताको सुरुमा एक-दुई स्थानमा, मध्य र अन्त्यमा थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा/ हिमपातको सम्भावना छ। साताको मध्य र अन्त्यमा एक-दुई स्थानमा भारी बर्षाको पनि सम्भावना छ।
- पहाडी भू-भागः कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साताको सुरुमा थोरै स्थानहरूमा साथै मध्य र अन्त्यमा केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू-भागमा साताको सुरुमा एक-दुई स्थानमा, मध्य र अन्त्यमा थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा/हिमपातको सम्भावना छ। साताको मध्य र अन्त्यमा एक-दुई स्थानमा भारी बर्षाको पनि सम्भावना छ।
- तराई भू-भागः कोशी प्रदेशमा साताको सुरुमा थोरै स्थानहरूमा साथै मध्य र अन्त्यमा केही स्थानहरूमा तथा बाँकी प्रदेशमा साताको सुरुमा एक-दुई स्थानमा, मध्य र अन्त्यमा थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ। साताको मध्य र अन्त्यमा एक-दुई स्थानमा भारी बर्षाको पनि सम्भावना छ।
- यस साता देशभरको न्यूनतम तापक्रम र अधिकतम तापक्रम हल्का घट्ने सम्भावना छ।
- औसत सँग तुलना गर्दाः देशका पहाडी भू-भागमा औसत आसपास तथा तराई भू-भागमा औसत भन्दा कम वर्षा हुने सम्भावना छ। सबै प्रदेशमा अधिकतम तापक्रम औसत आसपास र न्यूनतम तापक्रम औसत भन्दा हल्का बढी रहने सम्भावना छ।
कृषि सारांश
- साताभर मनसुनी वायुको प्रभाव रहने भएकोले सबै किसिमका खाद्यान्न, फलफूल र तरकारी बालीमा पानी निकासको व्यवस्था गर्नुहोस्। साथै बालीनालीमा विषादी छर्कने कार्य मौसमको अवस्था हेरी तय गर्नुहोस्।
- आगामी साता तराई भू-भागमा औसत भन्दा कम वर्षा हुने तथा अधिकतम तापक्रम औसत आसपास र न्यूनतम तापक्रम औसत भन्दा हल्का बढी रहने सम्भावना देखिएकोले आवश्यकता अनुसार सिंचाई व्यवस्थापन गर्नुहोस्।
- धानको कालोपोके रोग लाग्न नदिन बेर्ना सारेको लगभग ८० दिनभित्र पहिलो पटक र लगभग १०० दिनभित्र दोश्रो पटक नेटिभो / सुपरटिभो ७५ डब्लु.जी., (tebuconazole 50% WG + trifloxystrobin 25% WG) ०.५ ग्राम प्रति लिटर पानीको दरले खेतमा रहेका धानका बालाहरुमा छर्केर उपचार गर्नुहोस्।
- उच्चपहाडको लागि सिफारिस गरिएका गहुँका जातहरु- मुडुले-१, हिमगंगा, तिला, सुर्मा, च्याखुरा, मुनाल, डब्लु.के. १२०४, स्वर्गद्वारी, पासाङ्ल्हामु, डाँफे, भेरीगंगा, कौटिला, मध्ये उपलब्ध जातको गणुस्तरिय बीउ ६.० के.जी. प्रति रोपनीको दरले बीउको व्यवस्था गर्नुहोस्।
- तराई तथा भित्री मधेशको लागि हिउँदे मकैका सिफारिस जातहरु- मनकामना-१, अरुण -३, अरुण -४, अरुण -६, रामपुर हाइब्रिड -२, रामपुर हाइब्रिड -४, रामपुर हाइब्रिड -६, रामपुर हाइब्रिड -८, रामपुर हाइब्रिड -१०, खुमल हाइब्रिड मकै -२ र पोसिलो मकै-२ मध्येबाट उपलब्ध जात छनौट गरि हाईब्रिडका लागि १.०-१.२५ के.जी. प्रति रोपनी वा ०.६-०.८ के.जी. प्रति कट्ठा र अन्य जातका लागि १-१.५ के.जी. प्रति रोपनी वा ०.६-१.० के.जी. प्रति कट्ठा बीउको दरले हाईब्रिडका लागि ६० x २५ र अन्यका लागि ७५ x २५ सेन्टिमिटर क्रमश: हार देखि हारको र बोट देखि बोटको दूरी कायम गरि रोप्नुहोस्।
- सुन्तलाजात फलफूल बगैँचामा फल कुहाउने औँसाको कारणले झरेका फलहरु संकलन गरी नष्ट गर्नुहोस्।
- स्याउ ढुवानीको सिलसिलामा तथा भण्डारणमा हुने क्षती कम एवं ढुवानी लागत घटाउन बगैंचामा स्याउ टिपे पश्चात डोकोको भित्रि भागको वरिपरी घाँस वा पछ्यौरा राखेर स्याउ प्याकेजिंग गरि ढुवानी गर्नुहोस्। भेट्नो काटेका स्याउका फलहरुलाई स्टाइरोफोम जाली भित्र राखी भेन्टिलेसन भएका १० के.जी. फल अट्ने ५ प्लाई १६० पि.एस.आई. क्षमताका कार्टुनहरुमा हरेक तहमा डेकप्लेट राखी प्याकेजिंग गरि ढुवानी गर्नुहोस्।
- तराई, भित्रि-मधेश तथा बेशीमा आलु लगाउने समय नजिकिँदै गरेको हुँदा खुमल सेतो-३, खुमल उपहार, खुमल उज्ज्वल, खुमल लक्ष्मी, खुमल रातो-२, आइपिवई-८, कुफ्री सिन्दुरी, डेजीरे, कार्डिनल, एम.एस. ४२.३ मध्य उपलब्ध जातहरुको गुणस्तरीय बीउ भरपर्दो श्रोतहरुबाट आवश्यक मात्रामा (८०-१०० के.जी. प्रति कट्ठा) व्यवस्था गरी शित भण्डारमा राखिएको बीउ आलु झिकी ओभानो ठाउँमा फिजाएर राम्ररी टुसाउन दिनुहोस्।
- बोरोन (सुक्ष्म खाद्यतत्व) को कमीले काउली बालीमा खैरो धब्बा आउन नदिन बोरोन ५००-७०० ग्राम प्रति रोपनीको दरले जग्गा तयारी गर्दा नै प्रयोग गर्नुहोस्।
- गोलभेँडामा अगौटे र पछौटे डढुवा रोग व्यवस्थापनको लागि रोगग्रस्त बोटहरु काँटछाँट गरि हावा खेल्ने ठाउँ बनाउनुहोस्। रोगी हाँगा र पातहरु टिपेर उचित व्यवस्थापन गर्नुका साथै साफ बिषादी तथा सेक्टिन (Sectin-60WG) बिषादी आलोपालो गरि हप्ता दिनको फरकमा २ एम.एल. पानीको घोलमा मिसाएर २-३ पटकसम्म सम्पूर्ण बोटहरु भिज्नेगरि छर्केर उपचार गर्नुहोस्।
- चाडबाडको समय नजिकिँदै गर्दा, पशु चौपायाको ओसारपसार का साथ साथै बिक्रि वितरण पनि बढ्दै जाने हुनाले पशुवस्तुमा लाग्ने रोगहरु फैलिने सम्भावना पनि संगसंगै बढ्छ। तसर्थ बिरामी तथा रोगी पशु चौपायाको बिक्रि विरतण र ओसारपसार नगर्नुहोस।
- ग्रामीण वा व्यवसायिक रुपमा पलिएका, वयस्क कुखुराहरुलाई रानीखेत रोग विरुद्ध ND Clone, ND F1 जस्ता एकल खोप वा ND+IB को मिश्रित खोप, पिउने पानीमा घोलेर खुवाउनुहोस्।
- अक्सिजनको कमी र तापक्रमको बदलावबाट माछालाई हुनसक्ने तनाव (Stress) कम गर्न प्रति हेक्टर जलाशयमा ०.७५ के.भी.ए. क्षमताको वायुयन्त्र (Aerator) को प्रयोग गर्नुहोस्।
- मौसम सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने चौविसै घण्टा उपलब्ध जल तथा मौसम विज्ञान विभागको फोन नम्बर-११५५ मा फोन गर्नुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक शुक्रबार साँझ ४ देखि ६ बजेसम्म फोन गर्नुहोस्।