![]() |
नेपाल सरकार राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (कार्यक्षेत्र: रुपन्देही र नवलपरासी (ब.सु.प)) |
|
कृषि मौसम सल्लाह बुलेटिन (बर्ष ११, अंक २३)
- गत साताको वर्षाको तथ्याङ्क अनुसार देशका सबै केन्द्रहरुमा वर्षा मापन गरिएको छ। वर्षा मापन भएका अधिकांश केन्द्रहरुमा सरदर भन्दा बढी वर्षा मापन गरिएको छ। देशका धेरै भू-भागहरुमा १०० मि.मि. भन्दा बढी साप्ताहिक कुल वर्षा मापन गरिए पनि लुम्बिनी प्रदेशको उत्तर-पूर्वी भू-भाग, कर्णाली प्रदेशको अधिकांश भू-भाग र गण्डकी प्रदेशको उत्तर-पश्चिम भू-भागहरुमा ५० मि.मि. भन्दा कम साप्ताहिक कुल वर्षा मापन गरिएको छ। वर्षा र बदलीको कारण अधिकांश भू-भागमा साप्तहिक औसत अधिकतम तापक्रम सरदर भन्दा कम र धेरै भूभागहरुमा साप्तहिक औसत न्यूनतम तापक्रम सरदर भन्दा बढी मापन भएको छ।
- मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहने सम्भावना छ।
- उच्च पहाडी तथा हिमाली भू-भागः साताको शुरु र अन्त्यमा केही स्थानहरूमा तथा मध्यमा थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा/हिमपातको सम्भावना छ। कोशी प्रदेश र बागमती प्रदेशमा साताको शुरु र अन्त्यमा एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
- पहाडी भू-भागः साताको शुरु र अन्त्यमा केही स्थानहरूमा तथा मध्यमा थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशमा साताको शुरु र अन्त्यमा तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साताको शुरुमा एक-दुई स्थानमा भारी बर्षाको सम्भावना छ।
- तराई भू-भागः साताको शुरु र अन्त्यमा केही स्थानहरूमा तथा मध्यमा थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा साताको शुरु र अन्त्यमा एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
- साताको शुरु र अन्त्यमा देशभरको अधिकतम र न्यूनतम तापक्रममा उल्लेखनिय परिवर्तन नभएता पनि साताको मध्यमा अधिकतम तापक्रम हल्का बढ्ने सम्भावना छ।
- औसतसँग तुलना गर्दाः देशका पहाडी भू-भागमा औसत आसपास तथा तराई भू-भागमा औसत भन्दा कम वर्षा हुने सम्भावना छ। सबै प्रदेशमा अधिकतम तापक्रम औसत भन्दा बढी र न्यूनतम तापक्रम औसत आसपास रहने सम्भावना छ।
कृषि सारांश
- साताभर मनसुनी वायुको प्रभाव रहने भएकोले सबै किसिमका खाद्यान्न, फलफुल र तरकारी बालीमा पानी निकासको व्यवस्था गर्नुहोस्। साथै बालीनालीमा विषादी छर्कने कार्य मौसमको अवस्था हेरी तय गर्नुहोस्।
- तरकारी तथा फलफूल बालीहरुमा पानी जम्न नदिन निकासको व्यवस्था गर्नुहोस्।
- धान बालीमा बाला निस्किने र फूल फुल्ने अवस्था चिस्यानको हिसाबले संवेदनशील चरण हो। यस अवस्थामा चिस्यानको कमीले उत्पादनमा नकारात्मक असर पार्छ।
- आगामी साता तराई भू-भागमा औसत भन्दा कम वर्षा हुने तथा अधिकतम तापक्रम औसत भन्दा बढी र न्यूनतम तापक्रम औसत आसपास रहने सम्भावना देखिएकोले सिंचाई कार्यलाई प्राथमिकताका साथ व्यवस्थापन गर्नुहोस्।
- धानको कालोपोके रोग लाग्न नदिन बेर्ना सारेको लगभग ८० दिनभित्र पहिलो पटक र लगभग १०० दिनभित्र दोश्रो पटक नेटिभो / सुपरटिभो ७५ डब्लु.जी., (tebuconazole 50% WG + trifloxystrobin 25% WG) ०.५ ग्राम प्रति लिटर पानीको दरले खेतमा रहेका धानका बालाहरुमा छर्केर उपचार गर्नुहोस्।
- उच्चपहाडको लागि सिफारिस गरिएका गहुँका जातहरु- मुडुले-१, हिमगंगा, तिला, सुर्मा, च्याखुरा, मुनाल, डब्लु.के. १२०४, स्वर्गद्वारी, पासाङ्ल्हामु, डाँफे, भेरीगंगा, कौटिला, मध्ये उपलब्ध जातको गणुस्तरिय बीउ ६.० के.जी. प्रति रोपनीको दरले बीउको व्यवस्था गर्नुहोस्।
- तराई तथा भित्री मधेशको लागि हिउँदे मकैका सिफारिस जातहरु- मनकामना-१, अरुण -३, अरुण -४, अरुण -६, रामपुर हाइब्रिड -२, रामपुर हाइब्रिड -४, रामपुर हाइब्रिड -६, रामपुर हाइब्रिड -८, रामपुर हाइब्रिड -१०, खुमल हाइब्रिड मकै -२ र पोसिलो मकै-२ मध्येबाट उपलब्ध जात छनौट गरि हाईब्रिडका लागि १.०-१.२५ के.जी. प्रति रोपनी वा ०.६-०.८ के.जी. प्रति कट्ठा र अन्य जातका लागि १-१.५ के.जी. प्रति रोपनी वा ०.६-१.० के.जी. प्रति कट्ठा बीउको दरले हाईब्रिडका लागि ६० x २५ र अन्यका लागि ७५ x २५ सेन्टिमिटर क्रमश: हार देखि हारको र बोट देखि बोटको दूरी कायम गरि रोप्नुहोस्।
- फापर लगाउने समय भएकोले जग्गा तयार गरि मध्य तथा उच्च पहाडमा सिफारिस अनुसारका जातहरु- तितेफापर १ र तितेफापर २ लगाउनुहोस्।
- सुन्तलाजात फलफूल बगैँचामा फल कुहाउने औँसाको कारणले झरेका फलहरु संकलन गरी नष्ट गर्नुहोस्।
- स्याउ ढुवानीको सिलसिलामा तथा भण्डारणमा हुने क्षती कम एवं ढुवानी लागत घटाउन बगैंचामा स्याउ टिपे पश्चात डोकोको भित्रि भागको वरिपरी घाँस वा पछ्यौरा राखेर स्याउ प्याकेजिंग गरि ढुवानी गर्नुहोस्। भेट्नो काटेका स्याउका फलहरुलाई स्टाइरोफोम जाली भित्र राखी भेन्टिलेसन भएका १० के.जी. फल अट्ने ५ प्लाई १६० पि.एस.आई. क्षमताका कार्टुनहरुमा हरेक तहमा डेकप्लेट राखी प्याकेजिंग गरि ढुवानी गर्नुहोस्।
- विभिन्न तरकारी बालीहरुको नर्सरी ब्याडमा पानी जमेर बेर्ना कुहिने रोग लाग्न सक्ने भएकोले पानी निकासको प्रवन्ध गर्नुका साथै कार्बेन्डाजिमयुक्त विषादी-वेभिष्टिन २ ग्राम प्रतिलिटर पानीमा घोलेर नर्सरी ब्याड भिज्नेगरि छर्कनुहोस्।
- गोलभेँडामा अगौटे र पछौटे डढुवा रोग व्यवस्थापनको लागि रोगग्रस्त बोटहरु काँटछाँट गरि हावा खेल्ने ठाउँ बनाउनुहोस्। रोगी हाँगा र पातहरु टिपेर उचित व्यवस्थापन गर्नुका साथै साफ बिषादी तथा सेक्टिन (Sectin-60WG) बिषादी आलोपालो गरि हप्ता दिनको फरकमा २ एम.एल. पानीको घोलमा मिसाएर २-३ पटकसम्म सम्पूर्ण बोटहरु भिज्नेगरि छर्केर उपचार गर्नुहोस्।
- चाडबाडको समय नजिकिँदै गर्दा, पशु चौपायाको ओसारपसार का साथ साथै बिक्रि वितरण पनि बढ्दै जाने हुनाले पशुवस्तुमा लाग्ने रोगहरु फैलिने सम्भावना पनि संगसंगै बढ्छ। तसर्थ बिरामी तथा रोगी पशु चौपायाको बिक्रि विरतण र ओसारपसार नगर्नुहोस।
- ग्रामीण वा व्यवसायिक रुपमा पलिएका, वयस्क कुखुराहरुलाई रानीखेत रोग विरुद्ध ND Clone, ND F1 जस्ता एकल खोप वा ND+IB को मिश्रित खोप, पिउने पानीमा घोलेर खुवाउनुहोस्।
- गर्मी महिनामा भारी वर्षापछि पोखरीहरूको आकस्मिक परावर्तन ('प्रिमेच्योर टर्नओभर') हुन सक्छ, जसले माछा मर्ने जोखिम बढाउँछ। विशेष गरी ८ देखि १० फिट गहिराइ भएका पोखरीहरूमा गर्मीको समयमा पोखरीमा माथिल्लो तह न्यानो र अक्सिजनयुक्त हुन्छ भने तल्लो तह चिसो र अक्सिजनरहित हुन्छ। वर्षाको कारण तलको अक्सिजनरहित पानी माथिल्लो तहसँग मिसिँदा अक्सिजनको मात्रा पूरै पोखरीको पानीमा निकै कम हुन जान्छ, जसले गर्दा माछा मर्न सक्छन्। अक्सिजनको कमि र तापक्रमको बदलावबाट माछालाई हुनसक्ने तनाव (Stress) कम गर्न प्रति हेक्टर जलाशयमा ०.७५ के.भी.ए. क्षमताको वायुयन्त्र (Aerator) को प्रयोग गर्नुहोस्।
- मौसम सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने चौविसै घण्टा उपलब्ध जल तथा मौसम विज्ञान विभागको फोन नम्बर-११५५ मा फोन गर्नुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक शुक्रबार साँझ ४ देखि ६ बजेसम्म फोन गर्नुहोस्।