![]() |
नेपाल सरकार राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (कार्यक्षेत्र: रुपन्देही र नवलपरासी (ब.सु.प)) |
|
कृषि मौसम सल्लाह बुलेटिन (बर्ष ११, अंक २२)
- गत साताको वर्षाको तथ्याङ्क अनुसार देशका अधिकांश केन्द्रहरुमा वर्षा मापन गरिएको छ। मधेश प्रदेशका सबै भू-भागमा र कोशी प्रदेशका अधिकांश भू-भागमा साथै गण्डकी प्रदेशका केही भू-भागमा सरदर भन्दा बढी वर्षा मापन गरिएको छ। देशको अधिकांश पश्चिमी भू-भागमा सरदर भन्दा कम वर्षा मापन गरिएको छ। तराईका अधिकांश भू-भागहरुमा साप्ताहिक औसत अधिकतम तापक्रम ३०.० डि.से भन्दा बढी मापन गरिएको छ। त्यसैगरी तराईका धेरै भू-भागहरुमा साप्ताहिक औसत न्यूनतम तापक्रम २५.० डि.से. भन्दा बढी मापन गरिएको छ।
- मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहने सम्भावना छ।
- उच्च पहाडी तथा हिमाली भू-भागः कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साताको शुरु र अन्त्यमा एक-दुई स्थानमा भारी बर्षा तथा साताको मध्यमा एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा साताको मध्यमा एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा/हिमपातको सम्भावना छ।
- पहाडी भू-भागः साताको सुरु र मध्यमा केही स्थानहरूमा, अन्त्यमा थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशमा साताभर एक-दुई स्थानमा भारी बर्षाको पनि सम्भावना छ। साताको मध्यमा एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साताको मध्यमा एक-दुई स्थानमा भारी बर्षाको सम्भावना छ।
- तराई भू-भागः साताको मध्यमा एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। साताको सुरू र अन्त्यमा थोरै स्थानहरुमा तथा मध्यमा केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ।
- साताभरी नै देशभरको न्यूनतम तापक्रम र अधिकतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने सम्भावना छ।
- औसतसँग तुलना गर्दाः देशका पहाडी भू-भागमा औसत आसपास तथा तराई भू-भागमा औसत भन्दा कम वर्षा हुने सम्भावना छ। सबै प्रदेशमा अधिकतम तापक्रम औसत आसपास र न्यूनतम तापक्रम औसत भन्दा बढी रहने सम्भावना छ।
कृषि सारांश
- धान बालीमा बाला निस्किने र फूल फुल्ने अवस्था चिस्यानको हिसाबले संवेदनशील चरण हो। यस अवस्थामा चिस्यानको कमीले उत्पादनमा नकारात्मक असर पार्छ। आगामी साता तराई भू-भागमा औसत भन्दा कम वर्षा हुने तथा अधिकतम तापक्रम औसत आसपास र न्यूनतम तापक्रम औसत भन्दा बढी रहने सम्भावना रहेकाले सिंचाई कार्यलाई प्राथमिकताका साथ व्यवस्थापन गर्नुहोस्।
- धानको कालोपोके रोग लाग्न नदिन बेर्ना सारेको लगभग ८० दिनभित्र पहिलो पटक र लगभग १०० दिनभित्र दोश्रो पटक नेटिभो ७५ डब्लु.जी., (tebuconazole 50% WG + trifloxystrobin 25% WG) ०.५ ग्राम प्रति लिटर पानीको दरले खेतमा रहेका धानका बालाहरुमा छर्केर उपचार गर्नुहोस्।
- धानबालीमा जिंकको कमीले लाग्ने खैरा रोग (राते) तथा सल्फरको कमीले नयाँ पातहरुको टुप्पो पहेँलो हुँदै सुक्ने समस्या देखापरेमा जिंक सल्फेट १ के.जी. प्रति रोपनी वा ६७० ग्राम प्रति कठ्ठा वा ५ ग्राम प्रति लिटर पानीका दरले प्रयोग गर्नुहोस्।
- उच्चपहाडको लागि सिफारिस गरिएका गहुँका जातहरु- पासाङ्ल्हामु, डब्लु.के. १२०४, डाँफे, स्वर्गद्वारी, मुनाल, च्याखुरा, हिमगंगा र भेरीगंगा मध्ये उपलब्ध जातको गणुस्तरिय बीउ ६.० के.जी. प्रति रोपनीको दरले बीउको व्यवस्था गर्नुहोस्।
- तराई तथा भित्री मधेशको लागि हिउँदे मकैका सिफारिस जातहरु- मनकामना-१, अरुण -३, अरुण -४, अरुण -६, रामपुर हाइब्रिड -२, रामपुर हाइब्रिड -४, रामपुर हाइब्रिड -६, खुमल हाइब्रिड मकै -२ र पोसिलो मकै-२ मध्येबाट उपलब्ध जात छनौट गरि हाईब्रिडका लागि १.०-१.२५ के.जी. प्रति रोपनी वा ०.६-०.८ के.जी. प्रति कट्ठा र अन्य जातका लागि १-१.५ के.जी. प्रति रोपनी वा ०.६-१.० के.जी. प्रति कट्ठा बीउको दरले हाईब्रिडका लागि ६० x २५ र अन्यका लागि ७५ x २५ सेन्टिमिटर क्रमश: हार देखि हारको र बोट देखि बोटको दूरी कायम गरि रोप्नुहोस्।
- सुन्तलाजात फलफूल बगैँचामा फल कुहाउने औँसाको कारणले झरेका फलहरु संकलन गरी नष्ट गर्नुहोस्।
- स्याउ टिपिसकेपछि पनि बोटमा कत्ले कीराको प्रकोप रहिरहने हुँदा यसको व्यवस्थापनको लागि खनिज तेल १० देखी १५ एम.एल. प्रति लिटर पानीमा मिसाई कीरा लागेको स्थानमा भिज्नेगरि सात-सात दिनको अन्तरालमा तीनपटक मौसमको अवस्था हेरी छर्कनुहोस्।
- भदौ देखि मंसिर सम्म भैँसीहरु ऋतुकालमा आउने हुँदा ऋतुचक्रमा आएको लक्षणहरु याद गर्नुहोस्। भैँसीहरुले गाईको जस्तो लक्षण नदेखाई प्राय: सुक्ष्म ऋतुकालको लक्षण देखाउँने हुँदा, ऋतुकाल नगुमाउन राम्ररी अवलोकन गर्नुहोस्।
- ग्रामीण वा व्यवसायिक रुपमा पलिएका, वयस्क कुखुराहरुलाई रानीखेत रोग विरुद्ध ND Clone, ND F1 जस्ता एकल खोप वा ND+IB को मिश्रित खोप, पिउने पानीमा घोलेर खुवाउनुहोस्।
- बादल लागेको दिन र भोलिपल्ट बिहानीपख माछापोखरीमा अक्सिजनको कमिबाट हुन सक्ने क्षति तथा तापक्रमको बदलावबाट माछालाई हुनसक्ने तनाव कम गर्न प्रति हेक्टर जलाशयमा ०.७५ के.भी.ए. क्षमताको एरिएटरको प्रयोग गर्नुहोस्।
- मौसम सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने चौविसै घण्टा उपलब्ध जल तथा मौसम विज्ञान विभागको फोन नम्बर-११५५ मा फोन गर्नुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक शुक्रबार साँझ ४ देखि ६ बजेसम्म फोन गर्नुहोस्।