![]() |
नेपाल सरकार राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (कार्यक्षेत्र: रुपन्देही र नवलपरासी (ब.सु.प)) |
|
कृषि मौसम सल्लाह बुलेटिन (बर्ष ११, अंक २१)
- गत साताको वर्षाको तथ्याङ्क अनुसार देशका अधिकांश केन्द्रहरुमा वर्षा मापन गरिएको छ। कोशी प्रदेशका तराईका भू-भागमा साथै कर्णाली प्रदेश, सुदूर-पश्चिम प्रदेश र लुम्बिनी प्रदेशका पश्चिमी भू-भाग तथा गण्डकी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी भू-भागहरुमा सरदर भन्दा बढी वर्षा मापन गरिएको छ। तराईका अधिकांश भू-भागहरुमा साप्ताहिक औसत अधिकतम तापक्रम ३०.० डि.से भन्दा बढी मापन गरिएको छ। त्यसैगरी तराईका धेरै भू-भागहरुमा साप्ताहिक औसत न्यूनतम तापक्रम २५.० डि.से. भन्दा बढी मापन गरिएको छ।
- मनसुनको न्यून चापीय रेखा साताको सुरुमा सरदर स्थान भन्दा दक्षिणतिर तथा मध्य र अन्त्यमा सरदर स्थानको आसपासमा अवस्थित रहने सम्भावना छ।
- उच्च पहाडी तथा हिमाली भू-भागः कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साताको सुरु, मध्य र अन्त्यमा तथा लुम्बिनी प्रदेशमा साताको मध्यमा एक-दुई स्थानमा भारी वर्षा/हिमपात को सम्भावना छ। सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा/हिमपात सम्भावना छ।
- पहाडी भू-भागः कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश प्रदेशमा सुरु, मध्य र अन्त्यमा तथा लुम्बिनी प्रदेशमा, कर्णाली प्रदेशमा मध्यमा तथा सुदूरपश्चिम प्रदेशमा सुरुमा एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा साताको मध्यमा धेरै स्थानहरूमा तथा साताभर बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा सम्भावना छ।
- तराई भू-भागः साताको सुरुमा सुदूरपश्चिम प्रदेश,मध्यमा लुम्बिनी प्रदेश र अन्त्यमा कोशी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। साताभर प्रदेशमा थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।
- यो साताभरी देशभरको न्यूनतम तापक्रम र अधिकतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने सम्भावना छ।
- औसत सँग तुलना गर्दाः देशका पहाडी भू-भागमा औसत आसपास तथा तराई भू-भागमा औसत भन्दा कम वर्षा हुने सम्भावना छ। सबै प्रदेशमा अधिकतम तापक्रम र न्यूनतम तापक्रम औसत भन्दा बढी रहने सम्भावना छ।
कृषि सारांश
- धान बालीमा बाला निस्किने र फूल फुल्ने अवस्था चिस्यानको हिसाबले संवेदनशील चरण हो। यस अवस्थामा चिस्यानको कमीले उत्पादनमा नकारात्मक असर पार्छ। आगामी साता तराई भू-भागमा औसत भन्दा कम वर्षा हुने तथा अधिकतम तापक्रम र न्यूनतम तापक्रम औसत भन्दा बढी रहने सम्भावना रहेकाले सिंचाई कार्यलाई प्राथमिकताका साथ व्यवस्थापन गर्नुहोस्।
- धानबालीमा मरुवा / ब्लाष्ट रोग व्यवस्थापनको लागि वीम (Tricyclazole 75% WP) १ ग्राम वा हेक्जाकोनाजोल २ एम.एल. प्रति लिटर पानीका दरले १०-१२ दिनको फरकमा बोटको सम्पूर्ण पातहरु भिज्नेगरि २-३ पटक छर्केर उपचार गर्नुहोस्।
- बालीनालीमा रासयनिक विषादीको प्रयोग गर्दा सकेसम्म हरियो र नीलो लेबल भएको विषादी प्राविधिकको सल्लाह अनुसार प्रयोग गर्नुहोस्। कडा घाम लागेको, धेरै हावा लागेको र पानी परिरहेको बेलामा विषादी नछर्कनुहोस्। विषादी छर्कने बेलामा व्यक्तिगत सुरक्षा उपकरणहरु जस्तै- मास्क, पञ्जा, चस्मा, बुट र एप्रोनको प्रयोग गर्नुहोस्। विषादी छर्कँदा छर्दै अघि बढ्नु हुँदैन, पछि सर्दै आउनुहोस्।
- फलफूल तथा अलैँची, अदुवा र बेसार बालीको जरा तथा गानो कुहिने रोग व्यवस्थापनको लागि बगैँचा तथा नर्सरीमा पानी जम्न नदिनुहोस्। साथै रोग व्यवस्थापनको लागि कार्बेन्डाजिमयुक्त बिषादी बेभिष्टिन २ ग्राम प्रति लिटर पानीमा मिसाएर जरा भिज्नेगरि ड्रेन्चिङ गर्नुहोस्।
- कफिका विरुवा लगाईएका बगैँचाहरुमा नियमित अवलोकन गरि ५ फिटको उचाईमा आएका विरुवाहरुको टुप्पो काट्ने र जमीनको सतहबाट १ फीट माथि सम्मका हाँगाहरु हटाई बोर्डोपेष्टको लेप लगाउनुहोस्।
- बेमौसमी बकुल्ला सिमी लगाउन सुरु गर्नुहोस्।
- मध्य पहाडी जिल्लाहरुमा बन्दा तथा काठमाडौ लोकल जात काउलीको नर्सरी राख्नुहोस्।
- अदुवा, बेसार र अलैँचीमा गानो कुहिने रोग लागेको विरुवा उखेलेर हटाउने तथा कार्बेन्डाजिम (बेभिष्टिन) १ लिटर पानीमा २-३ ग्राम घोली बोटको फेद भिज्नेगरि ड्रेन्चिङ गर्नुहोस्।
- गोलभेँडामा अगौटे र पछौटे डढुवा रोग व्यवस्थापनको लागि रोगग्रस्त बोटहरु काँटछाँट गरि हावा खेल्ने ठाउँ बनाउनुहोस्। रोगी हाँगा र पातहरु टिपेर उचित व्यवस्थापन गर्नुका साथै साफ बिषादी तथा सेक्टिन बिषादी आलोपालो गरि हप्ता दिनको फरकमा २ एम.एल. पानीको घोलमा मिसाएर २-३ पटकसम्म सम्पूर्ण बोटहरु भिज्नेगरि छर्केर उपचार गर्नुहोस्।
- भदौ देखि मंसिर सम्म भैँसीहरु ऋतुकालमा आउने हुँदा ऋतुचक्रमा आएको लक्षणहरु याद गर्नुहोस्। भैँसीहरुले गाईको जस्तो लक्षण नदेखाई प्राय: सुक्ष्म ऋतुकालको लक्षण देखाउँने हुँदा, ऋतुकाल नगुमाउन राम्ररी अवलोकन गर्नुहोस्।
- हाल देशका विभिन्न स्थानमा गाई भैसीँमा लम्पी स्किन रोग देखा परिरहेको हुँदा जैविक सुरक्षाका उपायहरु अपनाई नजिकैको पशु सेवा कार्यालयमा सम्पर्क गरि उपलब्ध खोपहरु लगाउनुहोस्।
- बादल लागेको दिन र भोलिपल्ट बिहानीपख माछापोखरीमा अक्सिजनको कमिबाट हुन सक्ने क्षति तथा तापक्रमको बदलावबाट माछालाई हुनसक्ने तनाव कम गर्न प्रति हेक्टर जलाशयमा बिहान ४-६ बजेसम्म ०.७५ के.भी.ए. क्षमताको एरिएटरको प्रयोग गर्नुहोस्।
- मौसम सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने चौविसै घण्टा उपलब्ध जल तथा मौसम विज्ञान विभागको फोन नम्बर-११५५ मा फोन गर्नुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक शुक्रबार साँझ ४ देखि ६ बजेसम्म फोन गर्नुहोस्।