![]() |
नेपाल सरकार राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (कार्यक्षेत्र: रुपन्देही र नवलपरासी (ब.सु.प)) |
|
कृषि मौसम सल्लाह बुलेटिन (बर्ष ११, अंक २०्)
- गत साताको वर्षाको तथ्याङ्क अनुसार देशभर वर्षा मापन गरिएको छ। कोशी प्रदेश, मधेश प्रदेश, सुदूर-पश्चिम प्रदेश र कर्णाली प्रदेशका अधिकांश केन्द्रहरुमा सरदरभन्दा कम वर्षा मापन गरिएको छ। लुम्बिनी प्रदेशको उत्तरी र पूर्वी भागमा तथा गण्डकी प्रदेश र बागमती प्रदेशका मध्य भागहरूमा १०० मि.मि भन्दा साप्ताहिक कुल वर्षा मापन गरिएको छ। धेरै भू-भागहरुमा सरदर भन्दा कम वर्षाका कारण धेरै केन्द्रहरुमा दुबै साप्ताहिक औसत अधिकतम तापक्रम र न्यूनतम तापक्रम सरदर भन्दा बढी मापन भएको छ।
- मनसुनको न्यून चापीय रेखा साताभर पूर्वमा सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पश्चिममा सरदर स्थानको आसपासमा अवस्थित रहने सम्भावना छ।
- उच्च पहाडी तथा हिमाली भू-भागः कोशी प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साताको शुरु र मध्यमा तथा लुम्बिनी प्रदेशमा साताको शुरुमा एक-दुई स्थानमा भारी बर्षा/हिमपातको सम्भावना छ। कोशी प्रदेशमा साताको शुरु र मध्यमा केही स्थानहरूमा तथा अन्त्यमा थोरै स्थानहरूमा र बाँकी सबै प्रदेशमा साताको शुरु, मध्य र अन्त्यमा केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा/हिमपात सम्भावना छ।
- पहाडी भू-भागः सबै प्रदेशहरूमा साताको शुरु र मध्यमा एक-दुई स्थानहरूमा भारी बर्षाको सम्भावना छ। साथै सबै प्रदेशमा साताको शुरु र मध्यमा केही स्थानहरूमा तथा अन्त्यमा एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा सम्भावना छ।
- तराई भू-भागः साताको शुरुमा कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी बर्षाको पनि सम्भावना रहेको छ। साथै, सबै प्रदेशमा साताको शुरुमा केही स्थानहरुमा, मध्यमा थोरै स्थानहरूमा तथा अन्त्यमा एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।
- आगामी साताभरी देशभरको न्यूनतम तापक्रममा उल्लेखनिय परिवर्तन नहुने सम्भावना छ। अधिकतम तापक्रम साताको अन्त्यमा हल्का बढ्ने सम्भावना छ।
- औसतसँग तुलना गर्दाः देशका अधिकांश भू-भागमा औसत आसपास बर्षा हुने सम्भावना छ। सबै प्रदेशमा अधिकतम तापक्रम औसत भन्दा वढी रहने सम्भावना छ। पश्चिमी पहाडी भू-भागमा न्यूनतम तापक्रम औसत र बाँकी स्थानहरुमा औसत भन्दा थोरै बढी रहने सम्भावना छ।
कृषि सारांश
- धानबालीमा मरुवा / ब्लाष्ट रोग व्यवस्थापनको लागि वीम (Tricyclazole 75% WP) १ ग्राम वा हेक्जाकोनाजोल २ एम.एल. प्रति लिटर पानीका दरले १०-१२ दिनको फरकमा बोटको सम्पूर्ण पातहरु भिज्नेगरि २-३ पटक छर्केर उपचार गर्नुहोस्।
- उखुको पातको फड्के कीराको प्रकोप व्यवस्थापनको लागि पानी निकासको व्यवस्था मिलाउनुका साथै रोगी बोटको तल-तलका खुकुला, पुराना सुकेका पातहरु हटाउनुहोस्। प्रकोप ज्यादा भएमा वनस्पतिजन्य विषादी डेरिसोम २% इ.सी; २ एम.एल. प्रति लिटर पानीमा मिसाई बोट भिज्नेगरि छर्कनुहोस्।
- स्याउको फल परिपक्व नहुँदै टिप्दा फलको आकार सानो, स्वाद अमिलो तथा टर्रो, रङ्ग नचढेको, बास्ना नभएको तथा भण्डारणमा स्काल्ड विकृतिले फल खैरो भई गणुस्तर बिग्रने हुँदा सामान्यतया फल पूर्णरुपमा खान तयार भएपछि र अब फल नटिपे बिग्रन्छ भन्ने भएपछि मात्र टिप्ने गर्नुहोस्।
- फलफूल तथा अलैँची, अदुवा र बेसार बालीको जरा तथा गानो कुहिने रोग व्यवस्थापनको लागि बगैँचा तथा नर्सरीमा पानी जम्न नदिनुहोस्। साथै रोग व्यवस्थापनको लागि कार्बेन्डाजिमयुक्त बिषादी बेभिष्टिन २ ग्राम प्रति लिटर पानीमा मिसाएर जरा भिज्नेगरि ड्रेन्चिङ गर्नुहोस्।
- कफिका विरुवा लगाईएका बगैँचाहरुमा नियमित अवलोकन गरि ५ फिटको उचाईमा आएका विरुवाहरुको टुप्पो काट्ने र जमीनको सतहबाट १ फीट माथि सम्मका हाँगाहरु हटाई बोर्डोपेष्टको लेप लगाउनुहोस्।
- बेमौसमी बकुल्ला सिमी लगाउन सुरु गर्नुहोस्।
- मध्य पहाडी जिल्लाहरुमा बन्दा तथा काठमाडौ लोकल जात काउलीको नर्सरी राख्नुहोस्।
- अदुवा, बेसार र अलैँचीमा गानो कुहिने रोग लागेको विरुवा उखेलेर हटाउने तथा कार्बेन्डाजिम (बेभिष्टिन) १ लिटर पानीमा २-३ ग्राम घोली बोटको फेद भिज्नेगरि ड्रेन्चिङ गर्नुहोस्।
- गोलभेँडामा अगौटे र पछौटे डढुवा रोग व्यवस्थापनको लागि रोगग्रस्त बोटहरु काँटछाँट गरि हावा खेल्ने ठाउँ बनाउनुहोस्। रोगी हाँगा र पातहरु टिपेर उचित व्यवस्थापन गर्नुका साथै साफ बिषादी तथा सेक्टिन बिषादी आलोपालो गरि हप्ता दिनको फरकमा २ एम.एल. पानीको घोलमा मिसाएर २-३ पटकसम्म सम्पूर्ण बोटहरु भिज्नेगरि छर्केर उपचार गर्नुहोस्।
- भदौ देखि मंसिर सम्म भैँसीहरु ऋतुकालमा आउने हुँदा ऋतुचक्रमा आएको लक्षणहरु याद गर्नुहोस्। भैँसीहरुले गाईको जस्तो लक्षण नदेखाई प्राय: सुक्ष्म ऋतुकालको लक्षण देखाउँने हुँदा, ऋतुकाल नगुमाउन राम्ररी अवलोकन गर्नुहोस्।
- हाल देशका विभिन्न स्थानमा गाई भैसीँमा लम्पी स्किन रोग देखा परिरहेको हुँदा जैविक सुरक्षाका उपायहरु अपनाई नजिकैको पशु सेवा कार्यालयमा सम्पर्क गरि उपलब्ध खोपहरु लगाउनुहोस्।
- बादल लागेको दिन र भोलिपल्ट बिहानीपख माछापोखरीमा अक्सिजनको कमिबाट हुन सक्ने क्षति तथा तापक्रमको बदलावबाट माछालाई हुनसक्ने तनाव कम गर्न प्रति हेक्टर जलाशयमा बिहान ४-६ बजेसम्म ०.७५ के.भी.ए. क्षमताको एरिएटरको प्रयोग गर्नुहोस्।
- मौसम सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने चौविसै घण्टा उपलब्ध जल तथा मौसम विज्ञान विभागको फोन नम्बर-११५५ मा फोन गर्नुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक शुक्रबार साँझ ४ देखि ६ बजेसम्म फोन गर्नुहोस्।