![]() |
नेपाल सरकार राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (कार्यक्षेत्र: रुपन्देही र नवलपरासी (ब.सु.प)) |
|
कृषि मौसम सल्लाह बुलेटिन (बर्ष ११, अंक १९)
- गत साताको वर्षाको तथ्याङ्क अनुसार देशभर वर्षा मापन गरिएको छ। वर्षा मापन भएका सबैजसो तराई र कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागहरुमा सरदर भन्दा कम वर्षा मापन गरिएको छ। अधिकांश भू-भागहरुमा सरदर भन्दा कम वर्षाका कारण अधिकांश केन्द्रहरुमा साप्ताहिक औसत अधिकतम तापक्रम सरदर भन्दा बढी र धेरै केन्द्रहरुमा साप्ताहिक औसत न्यूनतम तापक्रम सरदर भन्दा बढी मापन भएको छ।
- मनसुनको न्यून चापीय रेखा साताको शुरूमा सरदर स्थानको आसपास रहने, मध्यमा सरदर स्थानको थोरै उत्तरतर्फ सर्ने र साताको अन्त्यमा सरदर स्थानको दक्षिणतर्फ सर्ने सम्भावना छ।
- उच्च पहाडी तथा हिमाली भू-भागः बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा साताको शुरु र मध्यमा तथा कोशी प्रदेशमा साताको मध्यमा एक-दुई स्थानमा भारी बर्षा/हिमपात को सम्भावना छ। कोशी प्रदेशमा साताको शुरु र मध्यमा केही स्थानहरूमा तथा अन्त्यमा थोरै स्थानहरूमा र बाँकी सबै प्रदेशमा साताको शुरु, मध्य र अन्त्यमा केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा/हिमपात सम्भावना छ।
- पहाडी भू-भागः सबै प्रदेशहरूमा साताको शुरु र मध्यमा थोरै स्थानहरूमा भारी बर्षाको सम्भावना छ। साथै सबै प्रदेशमा साताको शुरु, मध्य र अन्त्यमा केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा सम्भावना छ।
- तराई भू-भागः साताको शुरु र मध्यमा लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशको थोरै स्थानहरूमा, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा तथा कोशी प्रदेश र मधेश प्रदेशमा साताको मध्यमा एक-दुई स्थानमा भारी बर्षाको पनि सम्भावना छ। साथै सबै प्रदेशमा साताको शुरु र मध्यमा केही स्थानहरूमा तथा अन्त्यमा थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।
- यो साताभरी देशभरको अधिकतम र न्यूनतम तापक्रममा उल्लेखनिय परिवर्तन नहुने सम्भावना छ।
- औसत संग तुलना गर्दाः पूर्वी र मध्य तराईका साथै पूर्वी पहाडी भू-भागमा औसत भन्दा कम वर्षा हुने, पश्चिमी पहाडी भू-भागमा औसत भन्दा थोरै बढी र बाँकी स्थानहरूमा औसत आसपास बर्षा हुने सम्भावना छ। सबै प्रदेशमा अधिकतम तापक्रम औसतको आसपास रहने सम्भावना छ। पश्चिमी पहाडी भू-भागमा न्यूनतम तापक्रम औसत भन्दा थोरै बढी र बाँकी स्थानहरूमा औसत आसपास रहने सम्भावना छ।
कृषि सारांश
- धान खेतमा झारपात व्यवस्थापनको लागी बिस्पाईरीबेक (Bispyribac Sodium 10 % SC) २५ लिटर पानीमा १२ मिलीलीटरको दरले एक रोपनीमा वा १७ लिटर पानीमा ८ एम.एल. को दरले एक कठ्ठामा धान छरेको १५-२५ दिनभित्र माटोमा छिपछिपे पानी भएको अवस्थामा स्टिकर मिसाई फ्लाट फ्यान नोजलको प्रयोगले स्प्रे गर्नुहोस्।
- धानबालीमा मरुवा (Blast) रोग व्यवस्थापनको लागि वीम (Tricyclazole 75% WP) १ ग्राम वा हेक्जाकोनाजोल २ एम.एल. प्रति लिटर पानीका दरले १०-१२ दिनको फरकमा बोटको सम्पूर्ण पातहरु भिज्नेगरि २-३ पटक छर्केर उपचार गर्नुहोस्।
- धान रोपेको २-३ हप्तापछि खेतमा निरन्तर पानी जमेको अवस्थामा धानबालीमा फेद कुहिने रोग लाग्न हुनाले नियमित अवलोकन गर्नुहोस्। नियन्त्रणको लागि रोगी बोटहरु उखेलेर नष्ट गर्नुहोस्। प्रकोप ज्यादा देखिएमा खेतमा जमेको पानी निकास गरेपछि २ ग्राम बेभिष्टिन प्रति लिटर पानीमा मिसाई ८-१० दिनको फरकमा २-३ पटक जरा भिज्नेगरि ड्रेन्चिङ गर्नुहोस्।
- स्याउमा लाग्ने धुले ढुसी रोग (Powdery mildew) को व्यवस्थापनको लागि चोर हाँगाहरु हटाई बगैँचाको सरसफाई गर्नुहोस्। डाउनोक्याप (४८% ई.सी.) ३ एम.एल. प्रति लिटर पानीमा मिसाई छर्कनुहोस् अथवा लाईम सल्फर (२२% एस.सी.) २ ग्राम प्रति लिटर पानीमा मिसाई छर्कनुहोस्।
- स्याउको फल परिपक्व नहुँदै टिप्दा फलको आकार सानो, स्वाद अमिलो तथा टर्रो, रङ्ग नचढेको, बास्ना नभएको तथा भण्डारणमा स्काल्ड विकृतिले फल खैरो भई गणुस्तर बिग्रने हुँदा सामान्यतया फल पूर्णरुपमा खान तयार भएपछि र अब फल नटिपे बिग्रन्छ भन्ने भएपछि मात्र टिप्ने गर्नुहोस्।
- फलफूल तथा अलैँची, अदुवा र बेसार बालीको जरा तथा गानो कुहिने रोग व्यवस्थापनको लागि बगैँचा तथा नर्सरीमा पानी जम्न नदिनुहोस्। साथै रोग व्यवस्थापनको लागि कार्बेन्डाजिमयुक्त बिषादी बेभिष्टिन २ ग्राम प्रति लिटर पानीमा मिसाएर जरा भिज्नेगरि ड्रेन्चिङ गर्नुहोस्।
- मध्य पहाडी जिल्लाहरुमा खुमल ज्यापू र काठमाडौ लोकल जात काउलीको नर्सरी राख्नुहोस्।
- गोलभेँडामा अगौटे र पछौटे डढुवा रोग व्यवस्थापनको लागि रोगग्रस्त बोटहरु काँटछाँट गरि हावा खेल्ने ठाउँ बनाउनुहोस्। रोगी हाँगा र पातहरु टिपेर उचित व्यवस्थापन गर्नुका साथै साफ बिषादी तथा सेक्टिन बिषादी आलोपालो गरि हप्ता दिनको फरकमा २ एम.एल. पानीको घोलमा मिसाएर २-३ पटकसम्म सम्पूर्ण बोटहरु भिज्नेगरि छर्केर उपचार गर्नुहोस्।
- भदौ देखि मंसिर सम्म भैँसीहरु ऋतुकालमा आउने हुँदा ऋतुचक्र (Estrus cycle) मा आएको लक्षणहरु याद गर्नुहोस्। भैँसीहरुले गाईको जस्तो लक्षण नदेखाई प्राय: सुक्ष्म ऋतुकाल (Silent heat) को लक्षण देखाउँने हुँदा, ऋतुकाल नगुमाउन राम्ररी अवलोकन गर्नुहोस्।
- हाल देशका विभिन्न स्थानमा गाई भैसीँमा लम्पी स्किन रोग देखा परिरहेको हुँदा जैविक सुरक्षाका उपायहरु अपनाई नजिकैको पशु सेवा कार्यालयमा सम्पर्क गरि उपलब्ध खोपहरु लगाउनुहोस्।
- यो साता सबै प्रदेशका केही स्थानहरूमा वर्षा औसत वा सो भन्दा बढी रहने सम्भावना रहेकोले माछापोखरीमा धमिलो पानी मिसिन नदिनुहोस्। माछापोखरीको प्रवेशद्वार र निकासद्वारमा माछाको साइज अनुसारको जाली लगाई माछा बगेर जान नदिनुहोस्।
- मौसम सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने चौविसै घण्टा उपलब्ध जल तथा मौसम विज्ञान विभागको फोन नम्बर-११५५ मा फोन गर्नुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक शुक्रबार साँझ ४ देखि ६ बजेसम्म फोन गर्नुहोस्।