![]() |
नेपाल सरकार राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (कार्यक्षेत्र: रुपन्देही र नवलपरासी (ब.सु.प)) |
|
कृषि मौसम सल्लाह बुलेटिन (बर्ष ११, अंक १८)
- गत साताको वर्षाको तथ्याङ्क अनुसार देशभर वर्षा मापन गरिएको छ। वर्षा मापन भएका भू-भागहरु मध्ये कोशी प्रदेश र गण्डकी प्रदेशका अधिकांश भू-भागहरुमा सरदर भन्दा बढी वर्षा मापन गरिएको छ भने सबैभन्दा बढी गण्डकी प्रदेशको कास्की जिल्लामा रहेको लुम्ले केन्द्रमा ४७१.७ मि. मि. साप्ताहिक कुल वर्षा मापन भएको छ। वर्षा र बदलीको कारण धेरै भू-भागहरुमा साप्ताहिक औसत अधिकतम तापक्रम सरदर भन्दा कम तथा अधिकांश भू-भागहरुमा साप्ताहिक औसत न्यूनतम तापक्रम सरदर भन्दा बढी मापन भएको छ।
- यो साताभर मनसुनी वायूको प्रभाव रहने देखिन्छ। मनसुनको न्यून चापीय रेखा साताको सुरूमा सरदर स्थानको दक्षिणतर्फ तथा मध्य र अन्त्यमा सरदर स्थानमा रहने सम्भावना छ।
- उच्च पहाडी तथा हिमाली भू-भागः साताभर कोशी र बागमती प्रदेशका केही स्थानहरुमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। साताको मध्य र अन्त्यमा कोशी प्रदेश र बागमती प्रदेश एक-दुई स्थानमा भारी बर्षाको पनि सम्भावना छ।
- पहाडी भू-भागः साताभर कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। साताको मध्य र अन्त्यमा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा साथै बागमती र गण्डकी प्रदेशका साताको शुरु र अन्त्यमा एक-दुई स्थानमा तथा साताको मध्यमा थोरै स्थानहरुमा भारी बर्षाको पनि सम्भावना छ।
- तराई भू-भागः साताको मध्य र अन्त्यमा कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी बर्षाको पनि सम्भावना छ।
- यो साता देशभरको अधिकतम र न्यूनतम तापक्रममा उल्लेखनिय परिवर्तन नहुने सम्भावना छ।
- औसतसँग तुलना गर्दाः यो साता सबै प्रदेशका केही स्थानहरूमा वर्षा, अधिकतम तापक्रम तथा न्यूनतम तापक्रम औसत वा सो भन्दा बढी रहने सम्भावना छ।
कृषि सारांश
- मधेश प्रदेश तथा तराईका विभिन्न स्थानहरुमा गत साता सरदर र सरदर भन्दा बढी वर्षा भएको र आगामी सातामा पनि केही स्थानहरुमा मध्यम वर्षाको संभावना भएकोले धान रोप्न बाँकी भएमा बेर्नाको उपलब्धता हेरी प्रति रोपो २-३ वटाको दरले रोप्नुहोस्। हार देखी हार २० सेन्टिमिटर र रोपो देखी रोपो १५ सेन्टिमिटर दूरीमा र सूचिकृत गरिएका बर्णशंकर धान १ गोटा बेर्नाको दरले हार देखी हार २० सेन्टिमिटर र रोपो देखी रोपो २० सेन्टिमिटर दूरीमा रोप्नुहोस्।
- रोपेको धानबालीमा झारपात ब्यवस्थापनको लागी ब्यूटाक्लोर (Butachlor 5%G) १ के.जी. प्रति रोपनी वा ०.६ के.जी. प्रति कट्ठाको दरले धानरोपेको ५ दिनभित्र खेतमा छिपछिपे पानी भएको अवस्थामा प्रयोग गर्नुहोस् अथवा प्रेटिलाक्लोर (Pretilachlor 50% EC) २५ लिटरमा पानीमा ७५ एम.एल.को दरले एक रोपनीमा वा १७ लिटरमा पानीमा ५१ एम.एल.को दरले एक कट्ठामा धानरोपेको ५ दिनभित्र खेतमा छिपछिपे पानी भएको अवस्थामा फ्लाट फेन नोजलको सहायताले स्प्रे गर्नुहोस्।
- सुख्खा छरुवा धानमा साथै रोपेको धानमा झारपात व्यवस्थापनको लागी बिस्पाईरीबेक (Bispyribac Sodium 10 % SC) २५ लिटर पानीमा १२ मिलीलीटरको दरले एक रोपनीमा वा १७ लिटर पानीमा ८ एम.एल. को दरले एक कठ्ठामा धान छरेको १५-२५ दिनभित्र माटोमा छिपछिपे पानी भएको अवस्थामा स्टिकर मिसाई फ्लाट फ्यान नोजलको प्रयोगले स्प्रे गर्नुहोस्।
- धान रोपेको २-३ हप्तापछि खेतमा निरन्तर पानी जमेको अवस्थामा धानबालीमा फेद कुहिने रोग लाग्न हुनाले नियमित अवलोकन गर्नुहोस्। नियन्त्रणको लागि रोगी बोटहरु उखेलेर नष्ट गर्नुहोस्। प्रकोप ज्यादा देखिएमा खेतमा जमेको पानी निकास गरेपछि २ ग्राम बेभिष्टिन प्रति लिटर पानीमा मिसाई ८-१० दिनको फरकमा २-३ पटक जरा भिज्नेगरि ड्रेन्चिङ गर्नुहोस्।
- धानखेतमा पात वेरुवा कीराको बढी क्षती देखिएमा ल्याम्ब्डासायालोथ्रीन ५% EC, १ एम.एल. प्रति लिटर पानीमा मिसाएर २० लिटर प्रति कठ्ठाको दरमा धानको पात भिज्नेगरि मौसमको अवस्था हेरी छर्कनुहोस्।
- स्याउको फल परिपक्व नहुँदै टिप्दा फलको आकार सानो, स्वाद अमिलो तथा टर्रो, रङ्ग नचढेको, बास्ना नभएको तथा भण्डारणमा स्काल्ड विकृतिले फल खैरो भई गणुस्तर बिग्रने हुँदा सामान्यतया फल पूर्णरुपमा खान तयार भएपछि र अब फल नटिपे बिग्रन्छ भन्ने भएपछि मात्र टिप्ने गर्नुहोस्।
- फलफूल तथा अलैँची, अदुवा र बेसार बालीको जरा तथा गानो कुहिने रोग व्यवस्थापनको लागि बगैँचा तथा नर्सरीमा पानी जम्न नदिनुहोस्। साथै रोग व्यवस्थापनको लागि कार्बेन्डाजिमयुक्त बिषादी बेभिष्टिन २ ग्राम प्रति लिटर पानीमा मिसाएर जरा भिज्नेगरि ड्रेन्चिङ गर्नुहोस्।
- गोलभेँडामा अगौटे र पछौटे डढुवा रोग व्यवस्थापनको लागि रोगग्रस्त बोटहरु काँटछाँट गरि हावा खेल्ने ठाउँ बनाउनुहोस्। रोगी हाँगा र पातहरु टिपेर उचित व्यवस्थापन गर्नुका साथै साफ बिषादी तथा सेक्टिन बिषादी आलोपालो गरि हप्ता दिनको फरकमा २ एम.एल. पानीको घोलमा मिसाएर २-३ पटकसम्म सम्पूर्ण बोटहरु भिज्नेगरि छर्केर उपचार गर्नुहोस्।
- भदौ देखि मंसिर सम्म भैँसीहरु ऋतुकालमा आउने हुँदा ऋतुचक्र (Estrus cycle) मा आएको लक्षणहरु याद गर्नुहोस्। भैँसीहरुले गाईको जस्तो लक्षण नदेखाई प्राय: सुक्ष्म ऋतुकाल (Silent heat) को लक्षण देखाउँने हुँदा, ऋतुकाल नगुमाउन राम्ररी अवलोकन गर्नुहोस्।
- गाई/ भैसीँमा लम्पी स्किन रोग लाग्न नदिन गोठ वरिपरी नियमित सरसफाई गरी बाक्लो चुनाको लेप, ब्लिचिङ पाउडर, फर्मालिन लगायतका रसायनहरुको प्रयोग गरी निसङ्क्रमण गर्नुहोस्।
- यो साता सबै प्रदेशका केही स्थानहरूमा वर्षा औसत वा सो भन्दा बढी रहने सम्भावना रहेकोले माछापोखरीमा धमिलो पानी मिसिन नदिनुहोस्। माछापोखरीको प्रवेशद्वार र निकासद्वारमा माछाको साइज अनुसारको जाली लगाई माछा बगेर जान नदिनुहोस्।
- मौसम सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने चौविसै घण्टा उपलब्ध जल तथा मौसम विज्ञान विभागको फोन नम्बर-११५५ मा फोन गर्नुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक शुक्रबार साँझ ४ देखि ६ बजेसम्म फोन गर्नुहोस्।