![]() |
नेपाल सरकार राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (कार्यक्षेत्र: रुपन्देही र नवलपरासी (ब.सु.प)) |
|
कृषि मौसम सल्लाह बुलेटिन (बर्ष ११, अंक १७)
- गत साताको वर्षाको तथ्याङ्क अनुसार देशभर वर्षा मापन गरिएको छ। तराई तथा कर्णाली प्रदेशका अधिकांश स्थानहरुमा सरदर भन्दा बढी वर्षा मापन भएको छ भने बाँकी भू-भागहरुमा सरदरभन्दा कम साप्ताहिक वर्षा मापन भएको छ। सबैभन्दा बढी कोशी प्रदेशको झापा जिल्लामा रहेको चन्द्रगढी एयरपोर्ट केन्द्रमा २५१.५ मि.मि. साप्ताहिक कुल वर्षा मापन भएको छ। वर्षा र बदलीको कारण अधिकांश भू-भागहरुमा साप्ताहिक औसत अधिकतम तापक्रम सरदर भन्दा कम र धेरै भू-भागहरुमा साप्ताहिक औसत न्यूनतम तापक्रम सरदर भन्दा बढी मापन भएको छ।
- यो साताभर मनसुनी वायूको प्रभाव रहने देखिन्छ। साताको धेरैजसो समय मनसुनको न्यूनचापिय रेखा सरदर वा सरदरस्थान भन्दा उत्तरतिर रहने सम्भावना छ।
- उच्च पहाडी तथा हिमाली भू-भागः साताको शुरुमा थोरै स्थानहरूमा तथा मध्य र अन्त्यमा केही स्थानहरुमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साताको मध्य र अन्त्यमा एक-दुई स्थानमा भारी बर्षाको पनि सम्भावना छ।
- पहाडी भू-भागः साताको शुरुमा केही स्थानहरूमा तथा मध्य र अन्त्यमा धेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। साताको शुरूमा कोशी र बागमती प्रदेशमा एक-दुई स्थानमा भारी बर्षा, साताको मध्यमा कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी बर्षा, साताको अन्त्यमा कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा तथा बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा बर्षाको पनि सम्भावना छ।
- तराई भू-भागः साताको मध्यमा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा तथा साताको अन्त्यमा कोशी प्रदेश, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
- यो साता देशभरको अधिकतम र न्यूनतम तापक्रममा उल्लेखनिय परिवर्तन नहुने सम्भावना रहेको छ।
- औसतसँग तुलना गर्दाः यो साता सबै प्रदेशका धेरै स्थानहरूमा वर्षा, अधिकतम तापक्रम तथा न्यूनतम तापक्रम औसत वा सो भन्दा बढी रहने सम्भावना छ।
कृषि सारांश
- मधेश प्रदेश तथा तराईका विभिन्न स्थानहरुमा गत साता सरदर र सरदर भन्दा बढी वर्षा भएकाले धान रोप्न बाँकी भएमा बेर्नाको उपलब्धता हेरी प्रति रोपो २-३ वटाको दरले रोप्नुहोस्। हार देखी हार २० सेन्टिमिटर र रोपो देखी रोपो १५ सेन्टिमिटर दूरीमा र सूचिकृत गरिएका बर्णशंकर धान १ गोटा बेर्नाको दरले हार देखी हार २० सेन्टिमिटर र रोपो देखी रोपो २० सेन्टिमिटर दूरीमा रोप्नुहोस्।
- रोपेको धानबालीमा झारपात ब्यवस्थापनको लागी ब्यूटाक्लोर (Butachlor 5%G) २.० के.जी. प्रति रोपनी वा ०.६ के.जी. प्रति कट्ठाको दरले धानरोपेको ५ दिनभित्र खेतमा छिपछिपे पानी भएको अवस्थामा प्रयोग गर्नुहोस् अथवा प्रेटिलाक्लोर (Pretilachlor 50% EC) २५ लिटरमा पानीमा ७५ एम.एल.को दरले एक रोपनीमा वा १७ लिटरमा पानीमा ५१ एम.एल.को दरले एक कट्ठामा धानरोपेको ५ दिनभित्र खेतमा छिपछिपे पानी भएको अवस्थामा फ्लाट फेन नोजलको सहायताले स्प्रे गर्नुहोस्।
- सुख्खा छरुवा धानमा साथै रोपेको धानमा झारपात व्यवस्थापनको लागी बिस्पाईरीबेक (Bispyribac Sodium 10 % SC) २५ लिटर पानीमा १२ मिलीलीटरको दरले एक रोपनीमा वा १७ लिटर पानीमा ८ एम.एल. को दरले एक कठ्ठामा धान छरेको १५-२५ दिनभित्र माटोमा छिपछिपे पानी भएको अवस्थामा फ्लाट फ्यान नोजलको प्रयोगले स्प्रे गर्नुहोस्।
- धान रोपेको २-३ हप्तापछि खेतमा निरन्तर पानी जमेको अवस्थामा धानबालीमा फेद कुहिने रोग लाग्न हुनाले नियमित अवलोकन गर्नुहोस्। नियन्त्रणको लागि रोगी बोटहरु उखेलेर नष्ट गर्नुहोस्। प्रकोप ज्यादा देखिएमा खेतमा जमेको पानी निकास गरेपछि २ ग्राम बेभिष्टिन प्रति लिटर पानीमा मिसाई ८-१० दिनको फरकमा २-३ पटक जरा भिज्नेगरि ड्रेन्चिङ गर्नुहोस्।
- २५-३० दिन भैसकेका कोदोका बेर्ना रोप्नुहोस्।
- साताको धेरैजसो समय मनसुनको न्यूनचापिय रेखा सरदर वा सरदरस्थान भन्दा उत्तरतिर रहने र देशैभर मनसुन सक्रिय रहने संभावना रहेकोले सबै किसिमका फलफूल तथा तरकारी बालीहरुमा सकेसम्म बिषादीको प्रयोग नगर्नुहोस्। विषादी प्रयोग गर्नै पर्ने भएमा मौसमको अवस्था हेरी स्टिकर मिसाई छर्कनुहोस्।
- स्याउको फल परिपक्व नहुँदै टिप्दा फलको आकार सानो, स्वाद अमिलो तथा टर्रो, रङ्ग नचढेको, बास्ना नभएको तथा भण्डारणमा स्काल्ड विकृतिले फल खैरो भई गणुस्तर बिग्रने हुँदा सामान्यतया फल पूर्णरुपमा खान तयार भएपछि र अब फल नटिपे बिग्रन्छ भन्ने भएपछि मात्र टिप्ने गर्नुहोस्।
- जुनार, सुन्तलाको फल चुस्ने चुसाहा पुतली कीराको प्रकोप देखा परेको हुँदा अनुगमन गरी व्यवस्थापन गर्नुहोस्।
- फलफूल बालीको जरा कुहिने रोग व्यवस्थापनको लागि बगैँचा तथा नर्सरीमा पानी जम्न नदिनुहोस्। जरा कुहिएको शंकास्पद बोटको वरिपरि १% को बोर्डो मिश्रणको झोल बनाई ड्रेन्चिङ गर्नुहोस् तथा ट्राइकोडर्मा २ ग्राम प्रति लिटर पानीमा मिसाई स्प्रे गर्नुहोस्।
- चौडा पात, खुमल रातो पात, मार्फा चौडापात जस्ता रायोका जातहरुको नर्सरी पानी नजम्ने गरी राख्नुहोस् र मिनो अर्ली जातको मूला रोप्नुहोस्।
- मध्य पहाडी जिल्लाहरुमा खुमल ज्यापू काउलीको बीउ राख्नु ३-४ दिन अगाडी ६ ग्राम बेभिष्टीन प्रति लिटर पानीमा मिसाई ब्याडको उपचार गरी नर्सरी राख्नुहोस्।
- खुर्सानीको बोट ओइलाउने र जरा कुहिने रोग व्यवस्थापनको लागि कपरयुक्त विषादी वा मेटाल्यक्सिल २ ग्राम प्रति लिटर पानीमा मिसाई ७-१० दिनको फरकमा २-३ पटक जरा र वरिपरिको माटो भिज्नेगरि ड्रेन्चिङ गर्नुहोस्।
- गोलभेँडामा अगौटे र पछौटे डढुवा रोग व्यवस्थापनको लागि रोगग्रस्त बोटहरु काँटछाँट गरि हावा खेल्ने ठाउँ बनाउनुहोस्। रोगी हाँगा र पातहरु टिपेर उचित व्यवस्थापन गर्नुका साथै साफ बिषादी तथा सेक्टिन बिषादी आलोपालो गरि हप्ता दिनको फरकमा २ एम.एल. पानीको घोलमा मिसाएर २-३ पटकसम्म सम्पूर्ण बोटहरु भिज्नेगरि छर्केर उपचार गर्नुहोस्।
- भारी वर्षाले गर्दा हुने बाढीमा मुसाको मुत्रबाट सर्ने लेप्टोस्पाइरोसिस नामक जुनोटिक रोगको प्रकोप बढि हुने भएकाले धान/खेतबारीमा बुट लगाएर मात्र जानुहोस्।
- गाई-भैँसीमा खोरेत, चरचरे, भ्यागुते र लम्पी स्किन रोग विरुद्धको उपलब्ध खोपहरु लगाउनुहोस्।
- सुङ्गुर, बङ्गुरमा अफ्रिकन स्वाईन फिभर रोग देखा परिरहेको हुँदा आवश्यक जैविक सुरक्षाका उपायहरु अपनाउनुहोस्।
- माछापोखरीमा धमिलो पानी मिसिन नदिनुहोस्। पोखरीमा पानीको गहिराई १-१.५ मीटर राख्नुहोस्। भारी वर्षामा ओभरफ्लो हुन नदिन ५० से.मी. खाली भाग (freeboard) कायम राख्नुहोस् र माछापोखरीको प्रवेशद्वार र निकासद्वारमा माछाको साइज अनुसारको जाली लगाई माछा बगेर जान नदिनुहोस्।
- मौसम सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने चौविसै घण्टा उपलब्ध जल तथा मौसम विज्ञान विभागको फोन नम्बर-११५५ मा फोन गर्नुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक शुक्रबार साँझ ४ देखि ६ बजेसम्म फोन गर्नुहोस्।