कृषि मौसम सल्लाह बुलेटिन (बर्ष ११, अंक १०)

मौसमी सारांश:

  • गत साता देशका अधिकांश केन्द्रहरुमा हल्का देखि धेरै भारी वर्षा मापन गरिएको छ भने सबैभन्दा बढी गण्डकी प्रदेशको कास्की जिल्लामा रहेको लुम्ले केन्द्रमा ३५३.५ मि.मि. साप्ताहिक कुल वर्षा मापन भएको छ। कोशी प्रदेश, मधेश प्रदेश र सुदूर-पश्चिम प्रदेशका अधिकांश तराईका स्थानहरुमा र लुम्बिनी प्रदेशका केही तराईका स्थानहरुमा तथा बाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै तराईका स्थानहरुमा ३५.० डि.से भन्दा बढी अधिकतम तापक्रम मापन गरिएको छ भने मधेश प्रदेशको पर्सा जिल्लामा रहेको विरगन्ज केन्द्रमा सबैभन्दा बढी ३९.२ डि.से. साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम १०.५ डि.से. साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएको छ।
  • यो साता मनसुन देशैभर फैलिने सम्भावना रहेको छ। साथै साताको शुरु र मध्यमा भारतको झारखण्ड र पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ। उक्त न्यूनचापीय प्रणाली उत्तर-पश्चिम दिशामा सर्ने सम्भावना छ।
  • सबै प्रदेशको एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना छ।
  • उच्च पहाडी तथा हिमाली भू-भागः सबै प्रदेशको थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा/हिमपातको सम्भावना छ। 
  • पहाडी भू-भागः कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा साता शुरु र मध्यमा तथा लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साताको मध्यमा केही स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। बाँकी पहाडी भू-भागमा थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ।
  • तराई भू-भागः कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा साताको शुरु र मध्यमा तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साताको मध्यमा केही स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। बाँकी तराईमा साताभर थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ।
  • यो साता देशभरको अधिकतम र न्यूनतम तापक्रममा उल्लेखनिय परिवर्तन सम्भावना छ।

A screenshot of a computer

AI-generated content may be incorrect.हाल मनसुनको अवस्था

  • यस वर्षको मनसुन प्रणाली आज मिति २०८२/०३/०६ (२० जुन २०२५) गतेका दिन देशभर फैलिएको छ। नेपालमा यस वर्षको मनसुन मिति २०८२/०२/१५ गते (२९ मे २०२५) देशको पूर्वी भू-भागबाट प्रवेश गरी कोशी प्रदेशको अधिकांश भू-भागमा विस्तार भएकोमा मिति २०८२/०२/२९ गते (१२ जुन २०२५) गते मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागसम्म विस्तार भएको थियो।

कृषि सारांश

 

  • आगामी मनसुन सिजनमा देशका अधिकांश स्थानहरुमा सरदर वा सरदर भन्दा बढी वर्षा हुने संभावना देखिएकाले सम्भावित जोखिम न्यूनीकरणका लागि कृषि कर्महरु गर्दा पुर्व तयारी कार्यलाई विशेष ध्यान दिनुहोस्। साथै सुख्खा र डुबान दुवै सहन सक्ने धानका सिफारिश गरिएका जातहरु आवश्यकता अनुसार लगाउनुहोस्।
  • साताको शुरु र मध्यमा देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना र सबै प्रदेशको एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको संभावना रहेकोले मकैबाली, तरकारी तथा फलफूल बगैंचामा पानी निकासको उचित प्रबन्ध गर्नुहोस्।
  • सबै किसिमका फलफूल तथा तरकारी बालीहरुमा बिषादी राख्नैपर्ने भएमा मौसमको अवस्था हेरी (कडा घाम लागेको, धेरै हावा लागेको, पानी परिरहेको बेला नपारी) विषादी नछर्नुहोस्। वर्षातको समयमा विषादी छर्कनै पर्ने भएमा स्टिकर मिसाएर मात्र प्रयोग गर्नुहोस्। साथै विषादी छर्कदा विशेष सावधानी अपनाउनुहोस्।
  • साताको शुरु र मध्यमा देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना र सबै प्रदेशको एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेकोले मौसमको अवस्था हेरेर मात्र चैते धान भित्र्याउनुहोस्।
  • वर्षे धानबालीवाट राम्रो उत्पादन लिन आफूले लगाउन चाहेको ठाँउ अनुसार सिफारिस गरिएका धानका उन्नत जातहरुको बीउ उपचार गरी व्याड राख्नुहोस्।
  • मकैबालीमा अमेरिकन फौजी कीराको प्रकोप ज्यादा भएको ठाँउमा नोक्सानी कम गर्न मौसमको अवस्था हेरी इमामेक्टिन बेन्जोएट ५% एस.जी., ०.४ ग्राम वा स्पिनोस्याड ४५% एस.सी., ०.३ मिलिलिटर वा स्पाइनेटोराम ११.७ % एस.सी., ०.५ मिलिलिटर प्रति लिटर पानीको दरले बोट भिज्नेगरी ७ दिनको फरकमा २-३ पटक छर्नुहोस्। एउटै विषादी निरन्तर प्रयोग नगरी आलोपालो गरी प्रयोग गर्नुहोस् तथा घोगा लागिसकेपछि विषादी प्रयोग नगर्नुहोस्।
  • सुन्तलाजात तथा वर्षे फलफूल बालीका लागि तयार गरिएका खाडलमा गुणस्तरीय विरुवा रोप्नुहोस्।
  • आँपको बगैंचामा रोग तथा कीरा लागेर झरेका आँपका दानाहरुबाट विभिन्न रोग तथा कीराहरु सर्ने संभावना हुने भएकोले झरेका दानाहरुलाई टिपेर नष्ट गर्नुहोस्।
  • धेरै विहान आँप टिप्दा पानीको मात्रा बढी बग्न गई फलको गुणस्तर बिग्रने हुँदा मध्य विहान र बेलुकीपख मात्र टिप्नुहोस्।
  • खुर्सानीको बोट ओइलाउने र जरा कुहिने रोगको व्यवस्थापनको लागि पानीको निकासको उचित प्रवन्ध मिलाउनुहोस्। रोगी बोटहरु हटाउनुहोस्। प्रकोप बढि भएमा कपर युक्त विषादी २ ग्राम प्रति लिटर पानीमा मिसाई ७-१० दिनको फरकमा २-३ पटक जरा र वरिपरिको माटो भिज्नेगरि ड्रेन्चिङ गर्नुहोस्।
  • गोलभेँडा तथा लहरे बालीमा डढुवा रोगको अनुकूल वातावरण भएकोले मेन्कोजेवयुक्त विषादी २.५ ग्राम प्रति लिटर पानीमा घोलेर बोटको सम्पूर्ण भाग भिज्नेगरि ७ दिनको अन्तरमा ४-६ पटक छर्नुहोस्।
  • हाल देशका विभिन्न स्थानमा गाई-भैँसीमा लम्पी स्किन रोग र सुङ्गुर, बङ्गुरमा अफ्रिकन स्वाईन फिभर रोग देखा परिरहेको हुँदा आवश्यक जैविक सुरक्षाका उपायहरु अपनाई लम्पी स्किन रोग विरुद्धको उपलब्ध खोपहरु लगाउनुहोस्।
  • साताको शुरु र मध्यमा देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना र सबै प्रदेशको एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको संभावना रहेकोले माछापोखरीमा धमिलो पानी मिसिन नदिनुहोस्। धमिलो पानी मिसिन गएमा परजीवि लाग्ने संभावना भएकोले ३% नुनपानीले बाथ गराउनुहोस्।
  • वर्षातको समयमा माछापोखरीको पानीको पि.एच. लाई सन्तुलन राख्न समय-समयमा मापन गर्नुहोस्। पानीको पि.एच. ६.५ भन्दा कम भएमा चून १५ के.जी. प्रति कठ्ठाको दरले प्रयोग गर्नुहोस्।
  • मौसम सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने चौविसै घण्टा उपलब्ध जल तथा मौसम विज्ञान विभागको फोन नम्बर-११५५ मा फोन गर्नुहोस्।
  • कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक शुक्रबार साँझ ४ देखि ६ बजेसम्म फोन गर्नुहोस्।