![]() |
नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (कार्यक्षेत्र: रुपन्देही र नवलपरासी (ब.सु.प)) |
|
कृषि मौसम सल्लाह बुलेटिन (बर्ष ११, अंक ३)
- गत साता देशका अधिकांश केन्द्रहरुमा हल्का देखि भारी वर्षा मापन गरिएको छ भने सबैभन्दा बढी कोशी प्रदेशको सुनसरी जिल्लामा रहेको तरहरा केन्द्रमा ८३.३ मि.मि. साप्ताहिक कुल वर्षा मापन भएको छ।सुदूर-पश्चिम प्रदेशका अधिकांश तराईका स्थानहरुमा, लुम्बिनी प्रदेश र मधेश प्रदेशका धेरै तराईका स्थानहरुमा तथा बागमती र गण्डकी प्रदेशका एक-दुई तराईका स्थानहरुमा ३५.० डि.से भन्दा बढी अधिकतम तापक्रम मापन गरिएको छ भने सुदूर-पश्चिम प्रदेशको कैलाली जिल्लामा रहेको गोदावरी केन्द्रमा सबैभन्दा बढी ३९.० डि.से. साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम ०.३ डि.से. साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएको छ।
- यो साता पश्चिमी वायुका र स्थानीय वायुको प्रभाव रहने देखिन्छ।
- देशको उच्च पहाडी तथा हिमाली भू-भागः कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा साताको शुरू र अन्त्यमा एक-दुई स्थानमा र मध्यमा थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा साताको शुरू र मध्यमा थोरै स्थानहरूमा तथा अन्त्यमा एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।
- देशको पहाडी भू-भागः कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साताको शुरू र अन्त्यमा थोरै स्थानहरूमा र मध्यमा केही स्थानहरूमा मेघ गर्जन/चट्याङ/ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा साताको शुरू र मध्यमा थोरै स्थानहरूमा तथा अन्त्यमा एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।
- तराई भू-भागः कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा साताको शुरू र अन्त्यमा एक-दुई स्थानमा र मध्यमा थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुरपश्चिम प्रदेशमा साताको शुरू र मध्यमा एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ।
- यो साता देशभर अधिकतम र न्यूनतम तापक्रममा उलेखनिय परिवर्तन नहुने सम्भावना रहेको छ ।
कृषि सारांश
- यस समयमा खास गरी बढी तापक्रम हुने क्षेत्रमा खेतबारीमा काम गर्दा हिटस्ट्रोक हुने सम्भावना भएकाले सकेसम्म धेरै गर्मी हुने समयमा (बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म) खेतबारीमा काम नगर्नुहोस्। काम गर्दा पर्याप्त पानी खाने, सुरक्षात्मक कपडा लगाउने कार्य गर्नुहोस्।
- गहुँ भित्र्याउँदा सुरक्षित भण्डारणका लागि गहुँलाई करीब १२%को चिस्यान कायम हुने गरी घाममा राम्ररी सुकाउनुहोस्। गोदामहरूलाई अघिल्लो बालीको अन्न तथा अन्य भण्डारण सामग्री हटाएर राम्ररी सफा गर्नुहोस्। साथै, भण्डारणका लागि बोरा प्रयोग गर्नुहुने किसानहरूले ५% नीमको घोलले बोरा उपचार गरी बोरालाई घाममा सुकाएर मात्र प्रयोग गर्नुहोस्। यसले रोग र कीराहरूका विभिन्न अवस्थाहरु नष्ट हुन्छन्।
- गहुँ लगायतका हिउँदे बाली काटिसकेपछिको समय माटोको नमुना संकलन गर्ने र माटो जाँच्ने उपयुक्त समय भएकोले आफ्नो खेत, बारीको माटो जाँच गरी माटोको स्वस्थताको अवस्था थाहा पाउनुहोस्।
- हिउँदे बाली काटिसकेपछि माटोमा भएका रोग, कीरा र झारपातका विभिन्न अवस्थाहरु नष्ट गर्नको लागी जमिनलाई गहिरोसँग खनजोत गर्नुहोस्।
- वर्षे फलफूल वगैँचा स्थापनाका लागि जग्गा छनोट गरी गुणस्तरीय विरुवाको श्रोत सुनिश्चित गर्नुहोस्।
- सुन्तलाजात फलफूलमा लाग्ने पुतलीको लार्भाहरु संकलन गरि नष्ट गर्नुहोस्। प्रकोप ज्यादा भएमा क्लोरनट्रानिलिप्रोल (Chlorantraniliprole 18.5 % SC) १ मि. लि. प्रति ३ लिटर पानीमा मिसाई साँझको समयमा छर्नुहोस्।
- लहरे बालीमा लाग्ने शीते ढुसी रोगको व्यवस्थापनको लागि रोगग्रस्त, तल्लो र पुरानो पातहरु हटाई मेन्कोजेव वा मेटाल्याक्जिल युक्त विषादी २ ग्राम प्रति लिटर पानीको दरले पातहरु भिज्नेगरि हप्ता दिनको फरकमा २-४ पटकसम्म छर्कनुहोस्।
- खुर्सानीको बेर्नालाई करीव ९ इञ्च अग्लो ड्याङ बनाई बेर्नाको फेदमा खाल्डो नपर्ने गरि सारेर पानी निकासको उचित व्यवस्था मिलाउनुहोस्।
- बाह्य परजीवीहरू (जुम्रा, किर्ना, उपियाँ, जुम्रा आदि)ले बाख्राको स्वास्थ्यलाई गम्भीर असर पार्न सक्छन्। यी परजीवीहरूबाट बाख्रालाई जोगाउन डिपिङ विधि अपनाउनुहोस
- तराईका भू-भागहरुमा गर्मीको कारण माछा मर्न सक्ने हुँदा समस्या न्यूनीकरणका लागि भुरा हुर्काउने नर्सरी पोखरीहरूमा बिहान-बेलुका एरेटरको नियमित प्रयोग गर्नुहोस् तथा पम्पको प्रयोग गरी पानीको तापक्रम स्थिर राख्नुहोस्।
- मौसम सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने चौविसै घण्टा उपलब्ध जल तथा मौसम विज्ञान विभागको फोन नम्बर-११५५ मा फोन गर्नुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक शुक्रबार साँझ ४ देखि ६ बजेसम्म फोन गर्नुहोस्।