![]() |
नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (कार्यक्षेत्र: रुपन्देही र नवलपरासी (ब.सु.प)) |
|
कृषि मौसम सल्लाह बुलेटिन (बर्ष ११, अंक २)
मौसमी सारांश:
- गत साता देशका अधिकांश केन्द्रहरुमा हल्का देखि भारी वर्षा मापन गरिएको छ भने सबैभन्दा बढी गण्डकी प्रदेशको कास्की जिल्लामा मालेपाटन केन्द्रमा १०१.२ मि.मि. साप्ताहिक कुल वर्षा मापन भएको छ। सुदूर-पश्चिम प्रदेशका र मधेश प्रदेशका अधिकांश तराईका स्थानहरुमा, लुम्बिनी प्रदेश धेरै तराईका स्थानहरुमा तथा बागमती र गण्डकी प्रदेशका एक-दुई तराईका स्थानहरुमा ३५.० डि.से भन्दा बढी अधिकतम तापक्रम मापन गरिएको छ भने सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा रहेको गोदावरी केन्द्रमा सबैभन्दा बढी ३७.८ डि.से. साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ।कर्णाली प्रदेशको हुम्ला जिल्लामा रहेको सिमिकोट केन्द्रमा सबैभन्दा कम ५.२ डि.से. साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएको छ।
- यस साता स्थानीय वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव रहने देखिन्छ। यसका साथै बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव पर्ने देखिन्छ।
- उच्च पहाडी तथा हिमाली भू-भागः साताको शुरूमा एक-दुई स्थानमा तथा मध्य र अन्त्यमा थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षा/हिमपातको सम्भावना छ।
- पहाडी भू-भागः साताको मध्यमा र अन्त्यमा थोरै स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। थोरै स्थानहरूमा हावाहुरीको सम्भावना छ।
- तराई भू-भागः मूख्यतया साताको मध्यमा थोरै स्थानमा र अन्त्यमा एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना छ। तराईका एक-दुई स्थानमा स्थानहरूमा साताभर तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा साताको शुरुमा थोरै स्थानहरूमा हावाहुरीको सम्भावना छ।
- धेरै स्थानहरूमा साताभर अधिकतम र न्यूनतम तापक्रम यस साता भन्दा उल्लेखनिय परिवर्तन नहुने सम्भावना छ।
कृषि सारांश
- यस समयमा खास गरी बढी तापक्रम हुने क्षेत्रमा खेतबारीमा काम गर्दा हिटस्ट्रोक हुने सम्भावना भएकाले सकेसम्म धेरै गर्मी हुने समयमा (बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म) खेतबारीमा काम नगर्नुहोस्। काम गर्दा पर्याप्त पानी खाने, सुरक्षात्मक कपडा लगाउने कार्य गर्नुहोस्।
- गहुँ भित्र्याउँदा सुरक्षित भण्डारणका लागि गहुँलाई करीब १२%को चिस्यान कायम हुने गरी घाममा राम्ररी सुकाउनुहोस्। गोदामहरूलाई अघिल्लो बालीको अन्न तथा अन्य भण्डारण सामग्री हटाएर राम्ररी सफा गर्नुहोस्। साथै, भण्डारणका लागि बोरा प्रयोग गर्नुहुने किसानहरूले ५% नीमको घोलले बोरा उपचार गरी बोरालाई घाममा सुकाएर मात्र प्रयोग गर्नुहोस्। यसले रोग र कीराहरूका विभिन्न अवस्थाहरु नष्ट हुन्छन्।
- गहुँ लगायतका हिउँदे बाली काटिसकेपछिको समय माटोको नमुना संकलन गर्ने र माटो जाँच्ने उपयुक्त समय भएकोले आफ्नो खेत, बारीको माटो जाँच गरी माटोको स्वस्थताको अवस्था थाहा पाउनुहोस्।
- पश्चिम तराईमा गहुँबाली भित्र्याइसकेपछि लगाइने छोटो अवधिका मकैका सिफारिस जातहरुः अरुण-२ अरूण-४ र रामपुर हाइब्रिड-१२ लगाउनुहोस्।
- हिउँदे बाली काटिसकेपछि माटोमा भएका रोग, कीरा र झारपातका विभिन्न अवस्थाहरु नष्ट गर्नको लागी जमिनलाई गहिरोसँग खनजोत गर्नुहोस्।
- वर्षे फलफूल वगैँचा स्थापनाका लागि जग्गा छनोट गरी गुणस्तरीय विरुवाको श्रोत सुनिश्चित गर्नुहोस्।
- सख्खर र ५ एम.एल. स्पिनोस्याड राखी बगैँचामा छर्कनुहोस्। साथै कुहेर झरेको फललाई खाडलमा पुर्नुहोस्।
- तराईका एक-दुई स्थानमा साताभर तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा साताको शुरुमा थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेकाले पसाएका केराको बोटहरुलाई टेको दिनुहोस्।
- लहरे बालीमा लाग्ने शीते ढुसी रोगको व्यवस्थापनको लागि रोगग्रस्त, तल्लो र पुरानो पातहरु हटाई मेन्कोजेव वा मेटाल्याक्जिल युक्त विषादी २ ग्राम प्रति लिटर पानीको दरले पातहरु भिज्नेगरि हप्ता दिनको फरकमा २-४ पटकसम्म छर्कनुहोस्।
- गर्मी मौसममा कुखुरामा देखापर्ने लक्षणहरु जस्तै- चाँडो-चाँडो सास फेर्ने, पानी धेरै खाने, दाना कम खाने, पखेटा र खुट्टा फालेर बस्ने, अण्डा उत्पादनमा कमी आउने, खोरमा कुखराहरुको मृत्यु हुने आदी भएमा पर्याप्त भेन्टीलेसन प्रदान गर्ने, कुखुराको घनत्व कम गर्ने, तापक्रम अधिक रहेका बेला (दिँउसो १२-३ बजे सम्म) दाना नदिने, पर्याप्त मात्रामा सफा, चिसो पानीको व्यवस्था गर्नुहोस्। साथै, इलेक्ट्रोलाईट र मल्टी भिटामीन पानीमा राखेर दिनुहोस्।
- तराईका भू-भागहरुमा गर्मीको कारण माछा मर्न सक्ने हुँदा समस्या न्यूनीकरणका लागि भुरा हुर्काउने नर्सरी पोखरीहरूमा बिहान-बेलुका एरेटरको नियमित प्रयोग गर्नुहोस् तथा पम्पको प्रयोग गरी पानीको तापक्रम स्थिर राख्नुहोस्।
- मौसम सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने चौविसै घण्टा उपलब्ध जल तथा मौसम विज्ञान विभागको फोन नम्बर-११५५ मा फोन गर्नुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक शुक्रबार साँझ ४ देखि ६ बजेसम्म फोन गर्नुहोस्।