कृषि मौसम सल्लाह बुलेटिन (बर्ष १०, अंक ५२)

मौसमी सारांश:

  • गत साता देशका अधिकांश केन्द्रहरुमा हल्का देखि भारी वर्षा मापन गरिएको छ भने सबैभन्दा बढी मधेश प्रदेशको सर्लाही जिल्लामा रहेको कर्मैया केन्द्रमा ९६.० मि.मि. साप्ताहिक कुल वर्षा मापन भएको छ। मधेश प्रदेशका सबै स्थानहरुमा, लुम्बिनी प्रदेश र सुदूर-पश्चिम प्रदेशका अधिकांश तराईका स्थानहरुमा तथा बागमती र गण्डकी प्रदेशका एक-दुई तराईका स्थानहरुमा ३५.० डि.से भन्दा बढी अधिकतम तापक्रम मापन गरिएको छ भने लुम्बिनी प्रदेशको रूपन्देही जिल्लामा रहेको भैरहवा एयरपोर्ट केन्द्रमा सबैभन्दा बढी ३७.७ डि.से. साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम -१.१ डि.से. साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएको छ।
  • आगामी साता स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहने देखिन्छ। साताको शुरूमा बंगालको खाडी तथा अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहने देखिन्छ।  
  • देशको उच्च पहाडी तथा हिमाली भू-भागः साताभर थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षा/हिमपातको सम्भावना छ। 
  • देशको पहाडी भू-भागः साताको शुरू र अन्त्यमा केही स्थानहरूमा, मध्यमा थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना छ। 
  • तराई भू-भागः मूख्यतया साताको शुरुमा र अन्त्यमा थोरै स्थानहरूमा र साताको मध्यमा एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना छ। विशेष गरी मधेश प्रदेश तथा कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा साताभर तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा साताको मध्यमा हावा-हुरीको सम्भावना छ।
  • धेरै स्थानहरूमा साताभर अधिकतम र न्यूनतम तापक्रम उल्लेखनिय परिवर्तन नहुने सम्भावना छ। 

 

कृषि सारांश

  • प्रि मनसुनको समयमा मध्यान्हपछि चट्याङको सम्भावना बढी हुने भएकाले सम्भावित जोखिमबाट जोगिन कृषि कर्म/पशुपालन गर्दा बिशेष सावधानी अपनाउनुहोस्, समयमा नै पशुवस्तुहरुको बिमा गर्नुहोस्। जोखिमको समयमा पशुवस्तुहरुलाई गोठ बाहिर नराख्नुहोस्।
  • आगामी साता स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहने देखिएकाले खास गरी गहुँ, मुसुरो लगायतका बाली भित्र्याउदा मौसमको अवस्थालाई विशेष ध्यान दिनुहोस्। पछिल्लो हप्ता परेको पानीबाट प्रभावित गहुँ, मुसुरो खेतबाट पानी निकासको व्यवस्था गर्ने, काट्न बाँकी रहेको भए एक-दुई दिन सुक्न दिने, काटिसकेको भए अग्लो/उकाश ठाँउ अथवा शेड भित्र सुकाउने, काट्नै पर्ने भए मौसमको अवस्था हेरी खेतमा नछोड्ने गरी भित्र्याउने कार्य गर्नुहोस्। यसरी गहुँ भित्र्याउँदा सुरक्षित भण्डारणका लागि गहुँलाई घाम अथवा शेड भित्र राम्ररी सुकाउनुहोस्। करीब १२% को चिस्यान गहुँ भण्डारणका लागि राम्रो मानिन्छ। गोदामहरूलाई अघिल्लो बालीको अन्न तथा अन्य भण्डारण सामग्री हटाएर राम्ररी सफा गर्नुहोस् साथै, भण्डारणका लागि बोरा प्रयोग गर्नुहुने किसानहरूले ५% नीमको घोलले बोरा उपचार गरी बोरालाई घाममा सुकाएर मात्र प्रयोग गर्नुहोस्। यसले रोग र कीराहरूका विभिन्न अवस्थाहरु नष्ट हुन्छन्।
  • चैते धानमा झारपात व्यवस्थापनको लागि झारनाशक विषादी बिस्पाएरिबेक (Bispyribac 10 EC), २५ लिटर पानीमा १२.५ मिलिलिटरको दरले मिसाएर प्रति रोपनीमा अथवा १७ लिटर पानीमा ८.३ मिलिलिटरको दरले मिसाएर प्रति कठ्ठामा धान रोपेको १५ देखि २५ दिनभित्र खेतमा छिपछिपे पानी भएको अवस्थामा फ्लेट फेन नोजलले स्प्रे गर्नुहोस्। पछि झार आएमा ४०-५० दिनभित्र एकपटक हातले गोड्नुहोस्।
  • गत साता देशका अधिकांश स्थानहरुमा वर्षा भएको हुनाले बझाङ, दैलेख, डोटी लगायतका उच्च तथा मध्य पहाडी जिल्लाहरुमा नपाकेको / हरियो गहुँमा सिन्दुरे रोग लाग्ने सम्भावना भएकोले अनुगमन गरि उचित ब्यबस्थापन गर्नुहोस्l
  • फलफूल बालीको फल फुट्ने समस्या कम गर्न केराउगेडे अवस्थाको फल भएपछि प्लानोफिक्स वा प्लान्टोप्लेक्स ०.२५-०.५ एम.एल. प्रति लिटर पानीमा घोली पात र फल भिज्नेगरि छर्कनुहोस्।
  • सुन्तलाजात फलफूल बगैँचामा सुक्ष्म खाद्यतत्वको व्यवस्थापनका लागि पालुवा आइरहेको बेला र दाना लागिसकेपछि २ पटक मल्टिप्लेक्स २.५ ग्राम प्रति लिटर पानीको दरले पात भिज्नेगरि छर्नुहोस्।
  • हावाहुरीबाट हुने क्षति नियन्त्रण गर्न पसाएका केराको बोटहरुलाई टेको दिनुहोस्।
  • आलुबालीमा लाग्ने अगौटे डढुवा रोगको नियमीत अनुगमन गर्नुहोस्। रोगको प्रकोप देखिएमा सेक्टिन १.५ ग्राम प्रति लिटर पानीमा मिसाई ८-१० दिनको फरकमा २-३ पटक सम्पूर्ण बोट भिज्नेगरि साँझपख छर्नुहोस्।
  • लहरे बालीमा लाग्ने शीते ढुसी रोगको व्यवस्थापनको लागि रोगग्रस्त, तल्लो र पुरानो पातहरु हटाई मेन्कोजेव वा मेटाल्याक्जिल युक्त विषादी २ ग्राम प्रति लिटर पानीको दरले पातहरु भिज्नेगरि हप्ता दिनको फरकमा २-४ पटकसम्म छर्कनुहोस्।
  • कुखुरा र टर्कीहरुमा बाह्य परजीविको समस्या देखिएमा यसको उपचार तथा नियन्त्रणका लागि बुटोक्स ३ एम.एल. प्रति लिटर पानीका दरले मिसाई खोरको भित्र-बाहिर सबै स्थानमा राम्रोसँग भिज्नेगरि स्प्रे गर्नुहोस्।
  • तराईका जिल्लाहरुमा ग्रास कार्प माछाको प्रजनन् समय भएको हुँदा हरेक हप्ता माउ पोखरीबाट परिपक्क भाले र पोथी माछा छनौट गरी करिव २४ घण्टा होल्डिङ ट्यांकीमा अनुकूलन गरेपछि प्रजननका लागि प्रयोग गर्नुहोस्।
  • कृषि पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार साँझ देखि बजेसम्म फोन गर्नुहोस्।