कृषि मौसम सल्लाह बुलेटिन (बर्ष १०, अंक ५१)

मौसमी सारांश:

  • गत साता देशको एक-दुई केन्द्रहरुमा हल्का वर्षा मापन गरिएको छ भने सबैभन्दा बढी गण्डकी प्रदेशको लमजुङ जिल्लामा रहेको खुदिबजार केन्द्रमा २.० मि.मि. साप्ताहिक कुल वर्षा मापन भएको छ। मधेश प्रदेशका अधिकांश तराईका स्थानहरुमा, लुम्बिनी प्रदेश र सुदूर-पश्चिम प्रदेशका धेरै तराईका स्थानहरुमा तथा बागमती र गण्डकी प्रदेशका केही तराईका स्थानहरुमा ३५.० डि.से भन्दा बढी अधिकतम तापक्रम मापन गरिएको छ भने सुदूर-पश्चिम प्रदेशको कैलाली जिल्लामा रहेको गोदावरी केन्द्रमा सबैभन्दा बढी ३8.2 डि.से. साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम -०.५ डि.से. साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएको छ।
  • यो साता स्थानीय वायू तथा पश्चिमी वायुको प्रभाव रहने देखिन्छ।    
  • उच्च पहाडी तथा हिमाली भू-भागः साताको शुरु र मध्यमा कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा तथा साताको अन्त्यमा देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षा/हिमपातको सम्भावना छ।
  • पहाडी भू-भागः साताको शुरु र मध्यमा कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा तथा साताको अन्त्यमा देशको पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना छ। साताको शुरुमा थोरै स्थानहरुमा हावा-हुरीको सम्भावना छ।
  • तराई भू-भागः साताको शुरु र मध्यमा आंशिक बदली देखि मूख्यतया सफा तथा अन्त्यमा आंशिक देखि साधारणतया बदली रहने सम्भावना छ। साताको अन्त्यमा तराईका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना छ। साताको शूरुमा थोरै स्थानहरुमा हावाहुरीको सम्भावना छ।
  • धेरै स्थानहरूमा साताको शुरुमा अधिकतम र न्यूनतम तापक्रम उल्लेखनिय परिवर्तन नहुने सम्भावना छ। तथापि, साताको अन्त्यमा अधिकतम तापक्रम हल्का घट्ने देखिन्छ।

 

कृषि सारांश

  • प्रि मनसुनको समयमा मध्यान्हपछि चट्याङको सम्भावना बढी हुने भएकाले सम्भावित जोखिमबाट जोगिन कृषि कर्म/पशुपालन गर्दा बिशेष सावधानी अपनाउनुहोस्, समयमा नै पशुवस्तुहरुको बिमा गर्नुहोस्। जोखिमको समयमा पशुवस्तुहरुलाई गोठ बाहिर नराख्नुहोस्।
  • प्रि-मनसुनको समयमा सापेक्षिक आर्द्रता कम हुने तथा तापक्रम बढ्ने भएकाले खासगरी तराई क्षेत्रमा गहुँ र अन्य बालीहरूको कटानी गर्ने समयमा विभिन्न कारणले आगो लाग्न गई बाली जल्ने सम्भावना रहेको हुँदा सम्भावित जोखिमबाट बच्न मेशिनमा संचित भएका अवशेषहरू नियमित सफा गर्ने, उपकरणहरूको रुटिन मर्मत-सम्भार गर्ने, सम्भव भए कटानी गर्ने मेशिनमा आगो निभाउने साधन राख्ने, बिहान चाँडो र बेलुका ढिलोसम्म सञ्चालन गर्ने, खेतमा बालीको अवशेष जलाउने कार्यलाई निरुत्साहित गर्ने, मौसमका अवस्थाहरू अनुगमन गर्ने र त्यसअनुसार बाली कटानी कार्यहरू समायोजन गर्ने गर्नुहोस्।
  • तापक्रम क्रमिक रुपले बढ्दै जाने सम्भावना रहेकाले माटोको चिस्यान नियमित अनुगमन गरि सबै किसिमका बालीमा सिंचाई व्यबस्थापन गर्नुहोस्    
  • धानबालीमा झारपात ब्यवस्थापनको लागी ब्यूटाक्लोर १.० के.जी. प्रति रोपनी वा ०.६ के.जी. प्रति कट्ठाको दरले धान रोपेको ५ दिनभित्र खेतमा छिपछिपे पानी भएको अवस्थामा प्रयोग गर्नुहोस् अथवा प्रेटिलाक्लोर २५ लिटरमा पानीमा ५० एम.एल. को दरले एक रोपनीमा वा १७ लिटरमा पानीमा ३४ एम.एल.को दरले एक कट्ठामा धान रोपेको ५ दिनभित्र खेतमा छिपछिपे पानी भएको अवस्थामा फ्लाट फेन नोजलको सहायताले स्प्रे गर्नुहोस्।
  • वसन्ते मकैका लागि सिफारिस गरिएका जातहरु जस्तै अरुण-३, अरुण-४, अरुण-६, रामपुर हाईब्रिड-८ र रामपुर हाईब्रिड-१० रोप्नुहोस्।
  • फलफूल बालीको फल फुट्ने समस्या कम गर्न केराउगेडे अवस्थाको फल भएपछि प्लानोफिक्स वा प्लान्टोप्लेक्स १ एम.एल. प्रति लिटर पानीमा घोली पात र फल भिज्नेगरि छर्कनुहोस्।
  • सुन्तलाजात फलफुल बगैँचामा सुक्ष्म खाद्यतत्वको व्यवस्थापनका लागि पालुवा आइरहेको बेला र दाना लागिसकेपछि २ पटक मल्टिप्लेक्स २.५ ग्राम प्रति लिटर पानीको दरले पात भिज्नेगरि छर्नुहोस्।
  • केरा बगैँचामा बोट ओईलाउने रोगको प्रकोप हुन नदिन केरा लगाउँदा सकेसम्म तन्तु प्रजनन प्रविधिबाट प्रसारित, रोग रहित स्वस्थ विरुवा लगाउनुहोस्। यो रोग माटो, पानी, कृषि औजार उपकरण र संक्रमित बिरुवा एवं बिरुवाजन्य वस्तुहरुबाट फैलन सक्ने भएकाले शंकास्पद केरा बारीमा जाँदा जुत्ता, चप्पललाई सुज कभर वा प्लास्टिकले ढाकेर मात्र जाने र केरा बारीबाट निस्कनुपूर्व सुरक्षित रुपमा व्यवस्थापन गर्नुहोस्।
  • आलुबालीमा लाग्ने अगौटे डढुवा रोगको नियमीत अनुगमन गर्नुहोस्। रोगको प्रकोप देखिएमा सेक्टिन १.५ ग्राम प्रति लिटर पानीमा मिसाई ८-१० दिनको फरकमा २-३ पटक सम्पूर्ण बोट भिज्नेगरि साँझपख छर्नुहोस्।
  • गर्मी बढेसँगै खोर,गोठमा सापेक्षित आर्द्रता कायम गर्नको लागि राम्रोसँग हावा आवत जावत हुने (भेन्टिलेशन) व्यवस्था गर्नुहोस्।
  • भेडाबाख्रामा पि.पि.आर रोग विरुद्द खोप लगाउनका लागि स्थानीय पालिकासँग समन्वय गरी समयमा नै खोप लगाउनुहोस्।
  • तराईका जिल्लाहरुमा ग्रास कार्प माछाको प्रजनन् समय भएको हुँदा हरेक हप्ता माउ पोखरीबाट परिपक्क भाले र पोथी माछा छनौट गरी करिव २४ घण्टा होल्डिङ ट्यांकीमा अनुकूलन गरेपछि प्रजननका लागि प्रयोग गर्नुहोस्।
  • पानी कम पर्ने तथा हावामा आर्द्रता कम रहने समय भएकोले खरबारी, डालेघाँस लगाएको नर्सरी, बेर्ना सारेको बारी तथा गोठ वरिपरी आगो लाग्नबाट बचाउन २-३ मिटर चौडाईमा घाँसपात पतिंगर हटाई अग्नि नियन्त्रण रेखा (Fire corridor) बनाउनुहोस्।
  • मौसम सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने चौविसै घण्टा उपलब्ध जल तथा मौसम विज्ञान विभागको फोन नम्बर-११५५ मा फोन गर्नुहोस्।
  • कृषि पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार साँझ देखि बजेसम्म फोन गर्नुहोस्।