![]() |
नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (कार्यक्षेत्र: रुपन्देही र नवलपरासी (ब.सु.प)) |
|
कृषि मौसम सल्लाह बुलेटिन (बर्ष १०, अंक ५०)
मौसमी सारांश:
- गत साता देशको धेरै केन्द्रहरुमा हल्का देखि भारी वर्षा मापन गरिएको छ भने सबैभन्दा बढी कोशी प्रदेशको संखुवासभा जिल्लामा रहेको नुम केन्द्रमा ७०.७ मि.मि. साप्ताहिक कुल वर्षा मापन भएको छ। तराईका अधिकांश स्थानहरुमा ३०.० डि.से भन्दा बढी अधिकतम तापक्रम मापन गरिएको छ भने लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा रहेको भैरहवा एयरपोर्ट केन्द्रमा सबैभन्दा बढी ३४.१ डि.से. साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ। कर्णाली प्रदेशको मुगु जिल्लामा रहेको रारा केन्द्रमा सबैभन्दा कम -२.० डि.से. साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएको छ।
- यो साता स्थानीय वायू तथा पश्चिमी वायुको आंशिक प्रभाव रहने देखिन्छ।
- देशको उच्च पहाडी तथा हिमाली भू-भागः कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षा/हिमपातको सम्भावना छ।
- देशको पहाडी भू-भागः साताको शुरुमा कोशी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना छ।
- तराई भू-भागः मूख्यतया सफा रहने सम्भावना रहेको छ। साताको शूरुमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका थोरै स्थानहरुमा हावा-हुरीको सम्भावना रहेको छ।
- धेरै स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम औसत भन्दा केही बढी हुने सम्भावना रहेको छ।
कृषि सारांश
- प्रि मनसुनको समयमा मध्यान्हपछि चट्याङको सम्भावना बढी हुने भएकाले सम्भावित जोखिमबाट जोगिन कृषि कर्म/पशुपालन गर्दा बिशेष सावधानी अपनाउनुहोस्, समयमा नै पशुवस्तुहरुको बिमा गर्नुहोस्। जोखिमको समयमा पशुवस्तुहरुलाई गोठ बाहिर नराख्नुहोस्।
- तापक्रम क्रमिक रुपले बढ्दै जाने सम्भावना रहेकाले माटोको चिस्यान नियमित अनुगमन गरि गहुँ, उखु बाली लगायत सबै किसिमका तरकारी तथा फलफूल बालीमा सिंचाई व्यबस्थापन गर्नुहोस्।
- धानबालीमा झारपात ब्यवस्थापनको लागी ब्यूटाक्लोर २.० के.जी. प्रति रोपनी वा ०.६ के.जी. प्रति कट्ठाको दरले धान रोपेको ५ दिनभित्र खेतमा छिपछिपे पानी भएको अवस्थामा प्रयोग गर्नुहोस् अथवा प्रेटिलाक्लोर २५ लिटरमा पानीमा ५० एम.एल. को दरले एक रोपनीमा वा १७ लिटरमा पानीमा ३४ एम.एल.को दरले एक कट्ठामा धान रोपेको ५ दिनभित्र खेतमा छिपछिपे पानी भएको अवस्थामा फ्लाट फेन नोजलको सहायताले स्प्रे गर्नुहोस्।
- वसन्ते मकैका लागि सिफारिस गरिएका जातहरु जस्तै अरुण-३, अरुण-४, अरुण-६, रामपुर हाईब्रिड-८ र रामपुर हाईब्रिड-१० रोप्नुहोस्।
- केरा बगैँचामा बोट ओईलाउने रोगको प्रकोप हुन नदिन केरा लगाउँदा सकेसम्म तन्तु प्रजनन प्रविधिबाट प्रसारित, रोग रहित स्वस्थ विरुवा लगाउनुहोस्। यो रोग माटो, पानी, कृषि औजार उपकरण र संक्रमित बिरुवा एवं बिरुवाजन्य वस्तुहरुबाट फैलन सक्ने भएकाले शंकास्पद केरा बारीमा जाँदा जुत्ता, चप्पललाई सुज कभर वा प्लास्टिकले ढाकेर मात्र जाने र केरा बारीबाट निस्कनुपूर्व सुरक्षित रुपमा व्यवस्थापन गर्नुहोस्।
- आँपको बगैंचामा मधुवा लाग्ने समय भएकोले यसको नियमित अनुगमन गर्नुहोस्। यो कीराको अत्याधिक प्रकोप देखिएमा इमिडाक्लोप्रिड १७.८ एस.एल., १ एम.एल. ३ लिटर पानीमा मिसाई बेलुकीपख छर्नुहोस्।
- गोठेमल /कम्पोष्ट मललाई खेतवारीमा थुप्रो पारेर वा फिँजाएर राख्दा नाइट्रोजन तत्व नोक्सान हुने भएकोले खुल्ला नछोडी लगत्तै जमीन जोतेर माटोमा मिलाउनुहोस्।
- गर्मी बढेसँगै खोर,गोठमा सापेक्षित आर्द्रता कायम गर्नको लागि राम्रोसँग हावा आवत जावत हुने (भेन्टिलेशन) व्यवस्था गर्नुहोस्।
- हाल पन्छीहरुमा बर्डफ्लूको र सुँगुर/बंगुरहरुमा अफ्रिकन स्वाइन फिभरको उच्च जोखिम रहेकोले फार्ममा जैविक सुरक्षा अपनाउनुहोस्।
- तराईका जिल्लाहरुमा कमन कार्प जातका माछाका ह्याचलिङ्ग तथा भुरा बिक्री वितरण शुरु भईसकेको हुँदा मत्स्यपालन गर्ने कृषकहरुले नजिकैको सरकारी/नीजि ह्याचरीहरुमा सम्पर्क गर्नुहोस्।
- पानी कम पर्ने तथा हावामा आर्द्रता कम रहने समय भएकोले खरबारी, डालेघाँस लगाएको नर्सरी, बेर्ना सारेको बारी तथा गोठ वरिपरी आगो लाग्नबाट बचाउन २-३ मिटर चौडाईमा घाँसपात पतिंगर हटाई अग्नि नियन्त्रण रेखा (Fire corridor) बनाउनुहोस्।
- मौसम सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने चौविसै घण्टा उपलब्ध जल तथा मौसम विज्ञान विभागको फोन नम्बर-११५५ मा फोन गर्नुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार साँझ ४ देखि ६ बजेसम्म फोन गर्नुहोस्।