![]() |
नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (कार्यक्षेत्र: रुपन्देही र नवलपरासी (ब.सु.प)) |
|
कृषि मौसम सल्लाह बुलेटिन (बर्ष १०, अंक ४४)
मौसमी सारांश:
- गत साता देशको एक-दुई केन्द्रहरुमा हल्का वर्षा मापन गरिएको छ भने सबैभन्दा बढी गण्डकी प्रदेशको मुस्ताङ जिल्लामा रहेको लेते केन्द्रमा १०.५ मि.मि. साप्ताहिक कुल वर्षा मापन भएको छ। सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका अधिकांश तराईका स्थानहरुमा तथा बागमती प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश र मधेश प्रदेशका केही तराईका स्थानहरुमा २५.० भन्दा बढी मापन गरिएको छ। बागमती प्रदेशको सिन्धुपाल्चोक जिल्लामा रहेको बाह्रबिसे केन्द्रमा सबैभन्दा बढी २८.५ डि.से. साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ। कर्णाली प्रदेशको जुम्ला जिल्लामा रहेको जुम्ला एयरपोर्ट केन्द्रमा सबैभन्दा कम -५.७ डि.से. साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएको छ।
- यो साताको शुरु र मध्यमा देशभर पश्चिमी वायुको सामान्य प्रभाव साथै साताको अन्त्यमा पश्चिमी न्यून चापीय प्रणालीको पनि प्रभाव रहने देखिन्छ।
- साताभर कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा/हिमपातको सम्भावना छ। र साताको शुरु र मध्यमा बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा तथा साताको अन्त्यमा कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का वर्षा/हिमपातको सम्भावना छ।
- साताभर कोशी र गण्डकी प्रदेशको हिमाली भू-भागमा आंशिक देखि साधारणतया बदलीको सम्भावना छ। देशको बाँकी हिमाली भू-भाग लगायत लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भागमा साताको शुरूमा आंशिक बदली तथा अन्त्यमा आंशिक देखि साधारणतया बदलीको तथा बाँकी पहाडी र तराई भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहने सम्भावना छ।
- साताको अन्त्यमा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरू तथा गण्डकी, लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको पनि सम्भावना छ।
- देशका तराई भू-भागमा बिहानीपख हुस्सु/कुहिरोको सम्भावना छ। साथै साताको अन्त्यमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक-दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको पनि सम्भावना छ।
- गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकतम तापक्रम साताको अन्त्यतिर हल्का घट्ने र न्यूनतम तापक्रम उल्लेखनिय परिवर्तन नहुने सम्भावना छ। बाँकी प्रदेशमा अधिकतम र न्यूनतम तापक्रममा उलेखनिय परिवर्तन नहुने सम्भावना छ।
- यो साताको अन्त्यमा पश्चिमी क्षेत्रको पहाडी र तराई भू-भागमा पनि हल्का वर्षाको सम्भावना छ।
कृषि सारांश
- यस वर्षको हिउँद अवधिको हाल सम्मको वर्षाको २० वटा केन्द्रको औसत हेर्दा यस अवधिमा वर्षा सरदरभन्दा कम र तापक्रम सरदर भन्दा बढी रहेकाले सबै किसिमका बाली, फलफूल तथा तरकारी बालीहरुको अनुगमन गरी सिंचाई गर्नुहोस् साथै चिस्यान संरक्षणका आवश्यक उपायहरु अपनाउनुहोस्।
- चैते धानको लागि ब्याड बनाउँदा १ मीटर चौडाई र जमीन हेरी लम्बाई कायम गर्न सकिने तथा दुई ब्याड बिचमा ४०-५० से.मी. (२ बित्ता) को नाली बनाउनुहोस्। ब्याड बनाउनु अघि राम्ररी पाकेको कम्पोष्ट वा गोबर मल २-२.५ के.जी. प्रति वर्ग मीटरको दरले माटोमा राम्ररी मिलाउनुहोस्। ब्याडमा वीउ राख्नु अघि युरिया ४ ग्राम, डि.ए.पी ९ ग्राम तथा पोटास ५ ग्राम प्रति वर्ग मीटरको दरले माटोमा राम्ररी मिलाउनुहोस्।
- गहुँमा लाग्ने सिन्दुरे रोग ब्यबस्थापनको लागि ढुसीनासक बिषादी टिल्ट १ एम.एल. वा नाटिभो ०.५ ग्राम प्रति लिटर पानीको दरले १०-१२ दिनको फरकमा आवश्यकता अनुसार २-३ पटकसम्म पातहरु भिज्नेगरि छर्केर उपचार गर्नुहोस् वा नजिकैको कृषि ज्ञान केन्द्रमा सम्पर्क राख्नुहोस्।
- मध्यपहाडमा माघको पहिलो हप्तामा लगाईएको आलुबालीमा सिँचाई पश्चात ४.४ के.जी. युरिया प्रति रोपनीका दरले टपड्रेस गर्नुहोस्।
- लहरे तरकारी बालीहरुका लागि सिफारिस गरे बमोजिमको दूरीमा खाल्डा खनी राम्रो पाकेको गोबर मल ५ के.जी., हड्डिको धुलो १०० ग्राम, पीना १०० ग्राम, डि.ए.पी. ४० ग्राम, पोटास ४० ग्राम र बायोजाईम, जिङ्क, बोरेक्स प्रत्येक ३/३ ग्रामका दरले माटोमा मिसाई विरुवा लगाउन शुरु गर्नुहोस्।
- लसुन र प्याजको, प्याजी डढुवा रोग व्यवस्थापनको लागि बारी सफा गरि रोगी पातहरु हटाई खाल्डो खनेर पुर्नुहोस्। रोगको अवस्था हेरि ७ दिनको फरकमा साफ वा सेक्टिन जस्ता बिषादीहरु २ ग्राम प्रति लिटर पानीका दरले सम्पूर्ण पातहरु भिज्नेगरि ३-४ पटक सम्म छर्केर उपचार गर्नुहोस्।
- गोठेमल वा कम्पोष्ट मललाई खेतवारीमा थुप्रो पारेर वा फिँजाएर राख्दा नाइट्रोजन तत्व नोक्सान हुने भएकोले खुल्ला नछोडी लगत्तै जमीन जोतेर माटोमा मिलाउनुहोस्।
- खोरेत तथा चरचरे रोग देखिरहने ठाउँमा रोकथामको लागि पशुहरुमा ६ महिनाको उमेर पुगेपछि पहिलो पटक र प्रत्येक वर्ष खोप दोहोर्याउनुहोस्। प्रकोप बढी देखिने ठाउँमा ६-६ महिनामा दोहोर्याउनुहोस्।
- पानी कम पर्ने तथा हावामा आर्द्रता कम रहने समय भएकोले खरबारी, डालेघाँस लगाएको नर्सरी, बेर्ना सारेको बारी तथा गोठ वरिपरी आगो लाग्नबाट बचाउन २-३ मिटर चौडाईमा घाँसपात पतिंगर हटाई अग्नि नियन्त्रण रेखा (Fire corridor) बनाउनुहोस्।
- मौसम सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने चौविसै घण्टा उपलब्ध जल तथा मौसम विज्ञान विभागको फोन नम्बर-११५५ मा फोन गर्नुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार साँझ ४ देखि ६ बजेसम्म फोन गर्नुहोस्।