कृषि मौसम सल्लाह बुलेटिन (बर्ष १०, अंक ४३)

मौसमी सारांश:

  • गत साता देशको एक-दुई केन्द्रहरुमा हल्का वर्षा मापन गरिएको छ भने सबैभन्दा बढी कोशी प्रदेशको सुनसरी जिल्लामा रहेको चतारा केन्द्रमा २.७ मि.मि. साप्ताहिक कुल वर्षा मापन भएको छ। अधिकांश तराईका स्थानहरुमा २५.० भन्दा कम मापन गरिएको छ।बागमती प्रदेशको सिन्धुपाल्चोक जिल्लामा रहेको बाह्रबिसे केन्द्रमा सबैभन्दा बढी २८.४ डि.से. साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे एयरपोर्ट केन्द्रमा सबैभन्दा कम -६.३ डि.से. साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएको छ।
  • यो साता देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहने देखिन्छ। साताको अन्त्यमा पश्चिमी न्यून प्रणालीको समेत सामान्य प्रभाव रहने देखिन्छ।                                   
  • साताको अन्त्यमा सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हिमपात/वर्षाको सम्भावना छ।
  • देशको हिमाली भू-भागमा साताको अन्त्यमा आंशिक देखि साधारणतया बदलीको सम्भावना छ। देशको बाँकी भू-भागमा साताभर आंशिक बदली देखि मौसम मूख्यतया सम्भावना छ।
  • तराई, उपत्यका तथा खोँचहरुमा बिहानीपख हुस्सु/कुहिरोको सम्भावना छ।
  • यो साताको शुरू र मध्यमा देशको अधिकांश भू-भागमा अधिकतम तापक्रम हल्का बढ्ने तर अन्त्यमा हल्का घट्ने सम्भावना छ। साथै साताभर न्यूनतम तापक्रममा उल्लेखनिय परिवर्तन नहुने सम्भावना छ।
  • यो साता वर्षा औसत हुने, तापक्रम औसतको तुलनामा केही बढी रहने सम्भावना छ।

 

कृषि सारांश

  • यस वर्षको हिउँद अवधिको हाल सम्मको वर्षाको २० वटा केन्द्रको औसत हेर्दा यस अवधिमा हुनु पर्ने कुल वर्षाको ९% मात्र रहेको जुन सरदर भन्दा कम रहेकाले सबै किसिमका बाली, फलफूल तथा तरकारी बालीहरुमा निरन्तर चिस्यान अनुगमन गरी सिंचाई व्यवस्थापन गर्नुहोस्।
  • तराई, भित्री मधेश र पहाडका बेँसीहरु (७०० मिटरसम्म) का लागि सिफारिस गरिएका चैते धानका हर्दिनाथ-१, चैते-२, चैते-४, चैते-५ र चैते-६ जातहरु मध्ये उपलब्ध जातको बीउ १.५ के.जी. प्रति कठ्ठा वा २.२५ के.जी. प्रति रोपनीका दरले व्यवस्था गर्नुहोस्।
  • पतझड फलफूल बगैंचामा काँटछाँट गर्नुहोस्। काँटछाँट गर्दा बनेका घाउहरु तथा बिरुवाको काण्डमा १० प्रतिशतको बोर्ड़ोपेष्ट बनाई लगाउनुहोस्।
  • केराको गानो कुहिने रोग देखिएमा रोग लागेको बोट विरुवा उखेलेर हटाउने, नयाँ विरुवा सार्नको लागि रोग नलागेको क्षेत्रबाट ल्याउने तथा कार्बेन्डाजिम (बेभीष्टिन) १ लिटर पानीमा २ ग्राम घोली जरा भिज्नेगरि प्रयोग गर्नुहोस्।
  • आलुको भण्डारणमा लाग्ने पुतली (जोताहा कीरा) ले सामान्यतया भण्डारणमा ज्यादा नोक्सानी गर्ने भएतापनि आलु खनिसकेपछि खेतमा नै थुपारेर राख्दा जोताहा कीराको पुतलीले फुल पार्ने र भण्डारणमा नोक्सानी गर्ने भएकोले खन्ने बेलामा सावधानी अपनाउनुहोस्।
  • जुकेनी फर्सी (स्क्वास), काँक्रो, करेला, घिरौँला, लौका तथा मुन्टा खाने फर्सीको लागि सिफारिस गरे बमोजिमको दूरीमा खाल्डा खनी राम्रो पाकेको गोबर मल ५ के.जी., हड्डिको धुलो १०० ग्राम, पीना १०० ग्राम, डि.ए.पी. ४० ग्राम, पोटास ४० ग्राम र बायोजाईम, जिङ्क, बोरेक्स प्रत्येक ३/३ ग्रामका दरले माटोमा मिसाई विरुवा लगाउन शुरु गर्नुहोस्।
  • लसुन र प्याजको, प्याजी डढुवा रोग व्यवस्थापनको लागि बारी सफा गरि रोगी पातहरु हटाई खाल्डो खनेर पुर्नुहोस्। रोगको अवस्था हेरि ७ दिनको फरकमा साफ वा सेक्टिन जस्ता बिषादीहरु २ ग्राम प्रति लिटर पानीका दरले सम्पूर्ण पातहरु भिज्नेगरि ३-४ पटक सम्म छर्केर उपचार गर्नुहोस्। 
  • खोरेत तथा चरचरे रोग देखिरहने ठाउँमा रोकथामको लागि पशुहरुमा ६ महिनाको उमेर पुगेपछि पहिलो पटक र प्रत्येक वर्ष खोप दोहोर्याउनुहोस्। प्रकोप बढी देखिने ठाउँमा ६-६ महिनामा दोहोर्याउनुहोस्।
  • पानी कम पर्ने तथा हावामा आर्द्रता कम रहने समय भएकोले खरबारी, डालेघाँस लगाएको नर्सरी, बेर्ना सारेको बारी तथा गोठ वरिपरी आगो लाग्नबाट बचाउन २-३ मिटर चौडाईमा घाँसपात पतिंगर हटाई अग्नि नियन्त्रण रेखा (Fire corridor) बनाउनुहोस्।
  • कृषि पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार साँझ देखि बजेसम्म फोन गर्नुहोस्।