![]() |
नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (कार्यक्षेत्र: रुपन्देही र नवलपरासी (ब.सु.प)) |
|
कृषि मौसम सल्लाह बुलेटिन (बर्ष १०, अंक ४२)
मौसमी सारांश:
- गत साता देशको थोरै केन्द्रहरुमा हल्का देखि मध्यम वर्षा मापन गरिएको छ भने सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा रहेको मार्तडी केन्द्रमा १२.० मि.मि. साप्ताहिक कुल वर्षा मापन भएको छ।
- लुम्बिनी प्रदेशका एक दुई स्थानहरूमा २५.० डि.से. भन्दा बढी साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ तथा अन्य प्रदेशका तराईका स्थानहरुमा २५.० भन्दा कम मापन गरिएको छ। लुम्बिनी प्रदेशको प्युठान जिल्लामा रहेको बिजुवाटार केन्द्रमा सबैभन्दा बढी २७.२ डि.से. साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ। कर्णाली प्रदेशको जुम्ला जिल्लामा रहेको जुम्ला एयरपोर्ट केन्द्रमा सबैभन्दा कम -४.५ डि.से. साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएको छ।
- यो साता देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहने देखिन्छ। साताको अन्त्यमा पश्चिमी न्यून चापीय प्रणालीको हल्का प्रभाव रहने देखिन्छ।
- देशका उच्च पहाडी तथा हिमाली भू-भागमा साताको अन्त्यमा एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना छ।
- देशको हिमाली भू-भागमा साताको अन्त्यमा आंशिक देखि साधारणतया बदलीको सम्भावना छ। देशको बाँकी भू-भागमा साताभर आंशिक बदली देखि मौसम मुख्यतया सम्भावना छ।
- तराई, उपत्यका तथा खोँचहरुमा बिहानीपख हुस्सु/कुहिरोको सम्भावना छ।
- यो साता देशको अधिकांश भू-भागमा न्यूनतम साथै अधिकतम तापक्रममा उल्लेखनिय परिवर्तन नहुने सम्भावना छ।
कृषि सारांश
- यस वर्षको हिउँद अवधिको हाल सम्मको वर्षाको २० वटा केन्द्रको औसत हेर्दा यस अवधिमा हुनु पर्ने कुल वर्षाको ९% मात्र रहेको जुन सरदर भन्दा कम रहेकाले सबै किसिमका बाली, फलफूल तथा तरकारी बालीहरुमा निरन्तर चिस्यान अनुगमन गरी सिंचाई व्यवस्थापन गर्नुहोस्।
- तराई, भित्री मधेश र पहाडका बेँसीहरु (७०० मिटरसम्म) का लागि सिफारिस गरिएका चैते धानका हर्दिनाथ-१, चैते-२, चैते-४, चैते-५ र चैते-६ जातहरु मध्ये उपलब्ध जातको बीउ १.५ के.जी. प्रति कठ्ठा वा २.२५ के.जी. प्रति रोपनीका दरले व्यवस्था गर्नुहोस्।
- पतझड फलफूल बगैंचामा काँटछाँट गर्नुहोस्। काँटछाँट गर्दा बनेका घाउहरु तथा बिरुवाको काण्डमा १० प्रतिशतको बोर्ड़ोपेष्ट बनाई लगाउनुहोस्।
- औंसा कीरा प्रभावित सुन्तलाजातका फलफूलका बगैंचामा कीरा लागेर झरेका फलफूलहरुलाई टिपेर गहिरो खाडल खनी ब्यवस्थापन गर्नुहोस्। साथै बोट वरिपरिको माटो खनजोत गरि कीराको सुषुप्त अवस्थालाई नष्ट गर्नुहोस्।
- केराको गानो कुहिने रोग देखिएमा रोग लागेको बोट विरुवा उखेलेर हटाउने, नयाँ विरुवा सार्नको लागि रोग नलागेको क्षेत्रबाट ल्याउने तथा कार्बेन्डाजिम (बेभीष्टिन) १ लिटर पानीमा २ ग्राम घोली जरा भिज्नेगरि प्रयोग गर्नुहोस्।
- तराई, उपत्यका तथा खोँचहरुमा बिहानीपख हुस्सु/कुहिरोको संभावना रहेकोले गोलभेँडा तथा आलुबालीमा पछौटे डढुवा रोग देखापरेमा फेनामिडोन १०% + मेन्कोजेब ५०% डब्लु.जी., २.५ ग्राम वा डाइमेथोमोर्फ ५०% डब्लु.पी. १.५ ग्राम प्रतिलिटर पानीमा मिसाएर बोटको सम्पुर्ण भाग भिज्नेगरी अपरान्हपछि छर्कनुहोस्।
- जुकेनी फर्सी (स्क्वास), काँक्रो, करेला, घिरौँला, लौका तथा मुन्टा खाने फर्सीको लागि सिफारिस गरे बमोजिमको दूरीमा खाल्डा खनी राम्रो पाकेको गोबर मल ५ के.जी., हड्डिको धुलो १०० ग्राम, पीना १०० ग्राम, डि.ए.पी. ४० ग्राम, पोटास ४० ग्राम र बायोजाईम, जिङ्क, बोरेक्स प्रत्येक ३/३ ग्रामका दरले माटोमा मिसाई विरुवा लगाउन शुरु गर्नुहोस्।
- लसुन र प्याजको, प्याजी डढुवा रोग व्यवस्थापनको लागि बारी सफा गरि रोगी पातहरु हटाई खाल्डो खनेर पुर्नुहोस्। रोगको अवस्था हेरि ७ दिनको फरकमा साफ वा सेक्टिन जस्ता बिषादीहरु २ ग्राम प्रति लिटर पानीका दरले सम्पूर्ण पातहरु भिज्नेगरि ३-४ पटक सम्म छर्केर उपचार गर्नुहोस्।
- खोरेत तथा चरचरे रोग देखिरहने ठाउँमा रोकथामको लागि पशुहरुमा ६ महिनाको उमेर पुगेपछि पहिलो पटक र प्रत्येक वर्ष खोप दोहोर्याउनुहोस्। प्रकोप बढी देखिने ठाउँमा ६-६ महिनामा दोहोर्याउनुहोस्।
- पानी कम पर्ने तथा हावामा आर्द्रता कम रहने समय भएकोले खरबारी, डालेघाँस लगाएको नर्सरी, बेर्ना सारेको बारी तथा गोठ वरिपरी आगो लाग्नबाट बचाउन २-३ मिटर चौडाईमा घाँसपात पतिंगर हटाई अग्नि नियन्त्रण रेखा (Fire corridor) बनाउनुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार साँझ ४ देखि ६ बजेसम्म फोन गर्नुहोस्।