कृषि मौसम सल्लाह बुलेटिन (बर्ष १०, अंक ३६)

मौसमी सारांश:

  • गत साता देशको थोरै केन्द्रहरुमा हल्का देखि मध्यम वर्षा मापन गरिएको छ।सबैभन्दा बढी कर्णाली प्रदेशको कालिकोट जिल्लामा रहेको मान्मा केन्द्रमा १८.० मि.मि. साप्ताहिक कुल वर्षा मापन भएको छ। मधेश प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा २५.0 डि.से. भन्दा बढी तथा अन्य तराईका स्थानहरूमा 2५.0 डि.से. भन्दा कम साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ भने मधेश प्रदेशको धनुषा जिल्लामा रहेको जनकपुर केन्द्रमा सबैभन्दा बढी २६.३ डि.से. साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ। कर्णाली प्रदेशको जुम्ला जिल्लामा रहेको जुम्ला एयरपोर्ट केन्द्रमा सबैभन्दा कम -७.३ डि.से. साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएको छ।
  • आगामी साता देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहने देखिन्छ।
  • आगामी साता देशको हिमाली भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। साताको शुरू र अन्त्यमा देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। साताको मध्यमा कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
  • आगामी साता पहाडी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। साथै उपत्यका तथा खोँचहरुमा बिहानीपख हुस्सु/कुहिरोको सम्भावना छ।
  • आगामी साता देशको तारई भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। देशको तराईमा साताभरी नै बिहान हुस्सु/कुहिरो लाग्ने र हुस्सु/ कुहिरोको अवधि मध्यान्ह/अपरान्ह सम्म बढ्ने सम्भावना छ।
  • आगामी सातामा देशका हिमाली र पहाडी भू-भागमा अधिकतम तापक्रम उल्लेखनिय परिवर्तन नहुने तथा न्युनतम तापक्रम हल्का घट्ने सम्भावना छ। साथै देशभरी नै तराई भू-भागमा अधिकतम तथा न्युनतम तापक्रम हल्का घट्ने सम्भावना छ।

 कृषि सारांश

  • यस वर्षको हिउँद अवधिमा देशभर सरदर भन्दा कम वर्षा हुने साथै अधिकतम र न्यूनतम तापक्रम देशभर सरदर भन्दा बढी हुने संभावना रहेकाले यसबाट हुन सक्ने सम्भावित जोखिम न्युनीकरणका लागि यस समयमा लगाइएका बाली, फलफूल, आलु लगायतका बालीहरुको लागि सिंचाई व्यवस्थापन कार्यलाई विशेष ध्यान दिनुहोस्। उपलब्ध सिंचाई सुविधालाई दक्षता पुर्वक प्रयोगका लागि सिंचाईका नवीनतम प्रविधिहरु जस्तै- प्लास्टिक पोखरी, थोपा सिंचाई, फोहोरा सिंचाई, परफोरेटेड पाईप इत्यादि प्रयोग गर्नुहोस्।
  • गहुँ छरेको २०-३० दिनभित्र (मुकुट जरा पलाउने अवस्था) गहुँको जरा भिज्नेगरि पहिलो सिँचाई पश्चात सिफारिस मात्रामा युरिया टपड्रेस गर्नुहोस्।
  • तोरीबालीमा लाही कीराको नियमित अनुगमन पहेँलो स्टिकि ट्रयापबाट गर्नुहोस्। फूल फुलेको बेला मौरीबाट परागसेचन हुने भएकोले कुनै प्रकारको रासायनिक बिषादी प्रयोग नगर्नुहोस्। रोग व्यवस्थापनको लागि १ भाग गाईको गहुँत र ४ भाग पानीमा मिसाएर लाही लागेको ठाँउमा भिज्नेगरि भोलीपल्ट छर्कनुहोस्।
  • तराई, भित्री-मधेश तथा बेँशीमा लगाइएको ३०-३५ दिन भैसकेको आलुबालीमा माटोमा चिस्यानको अवस्था हेरी सिंचाई पश्चात २.९ के.जी. युरिया प्रति कठ्ठाका दरले टपड्रेस गर्नुहोस्।        
  • काउली समूहका बालीमा लाग्ने गाँठे रोग व्यवस्थापनका लागि फ्लुआजिनाम विषादीको धुलो २-३ ग्राम प्रति लिटर पानीमा घोली बोट वरिपरि ड्रेन्चिङ गर्नुहोस्।
  • काउली तथा बन्दा लगाएको १५-२० दिनपछि पहिलो तथा ३०-३५ दिनपछि दोश्रो पटक ७-१० ग्राम युरिया (१ चम्चा) प्रत्येक बोटको वरिपरि घेरा बनाई टपड्रेस गरि माटोले पुर्नुहोस् र टपड्रेस गरिसकेपछि हल्का सिँचाइ गर्नुहोस्।
  • तापक्रम कम हुँदै जादाँ लाही कीराको प्रकोप बढ्दै जाने हुनाले करेसाबारी र कौसी खेती गर्दा व्यवस्थापनका लागि एक भाग गाईको गहुँत ४ भाग पानीमा मिसाएर रातभरि राखी लाही लागेको ठाँउमा भिज्नेगरि भोलीपल्ट छर्कनुहोस् वा खरानीको धूलो लाही कीरा लागेको ठाँउमा बिहानीपख छर्कनुहोस्।
  • तरकारी बाली काट्ने र फलहरु टिप्ने अवस्थामा रोग तथा कीराहरु लागेमा यिनीहरुबाट आर्थिक क्षती थोरै हुने भएकोले बिषादी प्रयोग नगर्नुहोस्। यो अवस्थामा विषादी प्रयोग गरेमा बिषादीको अवशेष बालीमा रहन गई मानव स्वास्थ्यमा नकारात्मक असर पुग्ने हुनाले विषादीको प्रयोगपछि पर्खने अवधिको पालना गर्नुहोस्।
  • ब्रोइलर कुखुराहरुको पेटमा पानी जम्ने (Ascites) को समस्या धेरै देखिएमा, ४० मिलिग्राम फुरोसेमाईड १ लिटर पानीमा घोली दिनको दुई पटक पाँच दिन सम्म खान दिनुहोस्। १० दिन उमेरपछि दिईने दानामा १% का दरले खानेसोडा (सोडियम बाईकार्बोनेट) मिसाई खुवाउनुहोस्। खोर न्यानो तर प्रशस्त हावा खेल्ने बन्दोबस्त मिलाउनुहोस्।
  • मौसम सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने चौविसै घण्टा उपलब्ध जल तथा मौसम विज्ञान विभागको फोन नम्बर-११५५ मा फोन गर्नुहोस्।
  • कृषि पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार साँझ देखि बजेसम्म फोन गर्नुहोस्।