![]() |
नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (कार्यक्षेत्र: रुपन्देही र नवलपरासी (ब.सु.प)) |
|
कृषि मौसम सल्लाह बुलेटिन (बर्ष १०, अंक ३५)
मौसमी सारांश:
- गत साता देशको कुनै पनि केन्द्रमा वर्षा मापन गरिएको छैन। कोशी प्रदेश र मधेश प्रदेशका एक-दुई स्थानहरूमा ३०.0 डि.से. भन्दा बढी तथा अन्य अधिकांश तराईका स्थानहरूमा 25.0 डि.से. भन्दा बढी साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ भने मधेश प्रदेशको सिराहा जिल्लामा रहेको लाहान केन्द्रमा सबैभन्दा बढी ३१.५ डि.से. साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम -५.७ डि.से. साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएको छ।
- आगामी साता देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहने साथै साताको मध्यमा पश्चिमी न्यून चापिय प्रणाली सक्रिय हुने सम्भावना रहेकोले यसको प्रभाव केही बढ्ने देखिन्छ।
- साताको मध्यमा देशको हिमाली भू-भाग लगायत कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा साधारणतया देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। साताको शुरू र अन्त्यमा देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ।
- साताको मध्यमा कर्णाली र सुदुरपश्चिम प्रदेशका हिमाली भू-भागको धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका हिमाली भू-भागको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा/हिमपातको सम्भावना छ।
- साताको शुरुमा कोशी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ। साताको मध्यमा कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरू हल्का देखि मध्यम वर्षाको, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
- साताको मध्यमा सुदुरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा तथा लुम्बिनी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा हल्का बर्षाको सम्भावना छ।
- देशका पूर्वी र मध्य तराईमा साताभरी नै बिहान हुस्सु/कुहिरो लाग्ने तथा पश्चिम तराईमा साताको शुरू र अन्त्यमा हुस्सु/कुहिरो लाग्ने सम्भावना छ।
- देशका हिमाली र पहाडी भू-भागमा साताको मध्यमा तापक्रम हल्का घट्ने तथा तराई भू-भागमा साताको अन्त्यमा हल्का घट्ने सम्भावना छ।
कृषि सारांश
- गहुँ छरेको २०-३० दिनभित्र (मुकुट जरा पलाउने अवस्था) गहुँको जरा भिज्नेगरि पहिलो सिँचाई पश्चात सिफारिस मात्रामा युरिया टपड्रेस गर्नुहोस्।
- तोरीबालीमा लाही कीराको नियमित अनुगमन पहेँलो स्टिकि ट्रयापबाट गर्नुहोस्। फूल फुलेको बेला मौरीबाट परागसेचन हुने भएकोले कुनै प्रकारको रासायनिक बिषादी प्रयोग नगर्नुहोस्। रोग व्यवस्थापनको लागि १ भाग गाईको गहुँत र ४ भाग पानीमा मिसाएर लाही लागेको ठाँउमा भिज्नेगरि भोलीपल्ट छर्कनुहोस्।
- पतझड फलफूलको बगैँचा स्थापनाको लागि एक घन मिटर साइजको खाडल खनी तयारी गर्नुहोस्।
- सिँचाई सुविधा भएका सबै किसिमका फलफूल बगैँचामा सिँचाईको व्यवस्थापन गर्नुहोस्। साथै चिस्यान संरक्षण गर्न उपयुक्त छापो राख्नुहोस्।
- कलेजी रङ्गमा परिणत भई पाकेका कफीबालीका अगौटे चेरीहरु टिप्नुहोस्।
- काउली समूहका बालीमा लाग्ने गाँठे रोग व्यवस्थापनका लागि फ्लुआजिनाम विषादीको धुलो २-३ ग्राम प्रति लिटर पानीमा घोली बोट वरिपरि ड्रेन्चिङ गर्नुहोस्।
- काउली तथा बन्दा लगाएको १५-२० दिनपछि पहिलो तथा ३०-३५ दिनपछि दोश्रो पटक ७-१० ग्राम युरिया (१ चम्चा) प्रत्येक बोटको वरिपरि घेरा बनाई टपड्रेस गरि माटोले पुर्नुहोस् र टपड्रेस गरिसकेपछि हल्का सिँचाइ गर्नुहोस्।
- तापक्रम कम हुँदै जादाँ लाही कीराको प्रकोप बढ्दै जाने हुनाले करेसाबारी र कौसी खेती गर्दा व्यवस्थापनका लागि एक भाग गाईको गहुँत ४ भाग पानीमा मिसाएर रातभरि राखी लाही लागेको ठाँउमा भिज्नेगरि भोलीपल्ट छर्कनुहोस् वा खरानीको धूलो लाही कीरा लागेको ठाँउमा बिहानीपख छर्कनुहोस्।
- तापक्रम घट्ने क्रम जारी भएकोले मौरी घारलाई चारैतिरबाट प्लास्टिक वा जुटको बोराले बेरेर राख्नुहोस्।
- ब्रोइलर कुखुराहरुको पेटमा पानी जम्ने (Ascites) को समस्या धेरै देखिएमा, ४० मिलिग्राम फुरोसेमाईड १ लिटर पानीमा घोली दिनको दुई पटक पाँच दिन सम्म खान दिनुहोस्। १० दिन उमेरपछि दिईने दानामा १% का दरले खानेसोडा (सोडियम बाईकार्बोनेट) मिसाई खुवाउनुहोस्। खोर न्यानो तर प्रशस्त हावा खेल्ने बन्दोबस्त मिलाउनुहोस्।
- मौसम सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने चौविसै घण्टा उपलब्ध जल तथा मौसम विज्ञान विभागको फोन नम्बर-११५५ मा फोन गर्नुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार साँझ ४ देखि ६ बजेसम्म फोन गर्नुहोस्।