कृषि मौसम सल्लाह बुलेटिन (बर्ष १०, अंक ३४)

 

मौसमी सारांश:

  • गत साता देशको केही केन्द्रहरुमा हल्का वर्षा मापन गरिएको छ भने सबैभन्दा बढी कोशी प्रदेशको पाँचथर जिल्लामा रहेको फिदिम केन्द्रमा १०.५ मि.मि. साप्ताहिक कुल वर्षा मापन भएको छ। अधिकांश तराईका स्थानहरूमा २५.० डि.से. भन्दा बढी साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ भने कोशी प्रदेशको सुनसरी जिल्लामा रहेको तरहरा केन्द्रमा सबैभन्दा बढी २९.९ डि.से. साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ। कर्णाली प्रदेशको जुम्ला जिल्लामा रहेको जुम्ला एयरपोर्ट केन्द्रमा सबैभन्दा कम -४.६ डि.से. साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएको छ।
  • यो साता देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहनेछ। 
  • साताभर देशका अधिकांश हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहनेछ।
  • साताको शुरुमा गण्डकी, कर्णाली साथै मध्य र अन्त्यमा कोशी, बागमती प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना छ।
  • साताको शुरुमा कोशी र गण्डकी साथै मध्य र अन्त्यमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
  • देशका तराई भू-भागमा साताभरी नै बिहान हुस्सु/कुहिरो लाग्ने सम्भावना छ। तथापी साताको मध्य अन्त्यमा हुस्सु/ कुहिरोको अवधि साताको शुरूमा भन्दा केही बढ्ने सम्भावना छ।
  • देशका धेरै स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम हल्का घट्ने सम्भावना छ।

 कृषि सारांश

  • गहुँवालीमा सिन्दुरे रोगको प्रकोप कम गर्न तराईमा मंसिर देखि २५ गते (डिसेम्बर १०) भित्र गहुँ छरिसक्नुहोस्। तराईका लागि बाणगंगा, बि.एल. ४३४१, एन.एल. ९७१, आदित्य जातका बीउलाई भाइटाभेक्स ग्राम प्रति के.जी. बीउका दरले उपचार गरेर मात्र छर्नुहोस्।
  • गहुँ छरेको २०-३० दिनभित्र (मुकुट जरा पलाउने अवस्था) गहुँको जरा भिज्नेगरि पहिलो सिँचाई पश्चात १.३ के.जी. युरिया प्रति कठ्ठा वा २ के.जी. युरिया प्रति रोपनीका दरले टपड्रेस गर्नुहोस्।
  • तराई भेगका लागि सिफारिस मुसुरोका जातको गणुस्तरिय बीउ २ के.जी. प्रति रोपनीका दरले हारदेखि हारको दूरी २५ सेन्टिमिटर कायम गरी बीउ उपचार गरेर मात्र लगाउनुहोस्।
  • तापक्रम कम हुँदै जादाँ लाही कीराको प्रकोप बढ्दै जाने हुनाले करेसाबारी र कौसी खेती गर्दा व्यवस्थापनका लागि एक भाग गाईको गहुँत ४ भाग पानीमा मिसाएर रातभरि राखी लाही लागेको ठाँउमा भिज्नेगरि भोलीपल्ट छर्कनुहोस् वा खरानीको धूलो लाही कीरा लागेको ठाँउमा बिहानीपख छर्कनुहोस्।
  • सिँचाई सुविधा भएका सबै किसिमका फलफूल बगैँचामा सिँचाईको व्यवस्थापन गर्नुहोस्। साथै चिस्यान संरक्षण गर्न स्याउला, घाँसपात वा कालो प्लाष्टिकको छापो राख्नुहोस्।
  • यो समयमा सुन्तलाजात फलफूल बालीमा औँसा कीराको गतिविधिले झरेको फलहरुलाई संकलन पश्चात प्लाष्टिकको झोलामा हावा नछिर्ने गरेर बन्द गरी नष्ट गर्नुहोस् वा गहिरो खाल्डो खनेर गाड्नुहोस्। साथै वगैँचाको सरसफाई गर्नुहोस्।
  • तापक्रम घट्ने क्रम जारी भएकोले मौरी घारलाई चारैतिरबाट प्लास्टिक वा जुटको बोराले बेरेर राख्नुहोस्। साथै घारको नियमित निरीक्षण गरी मौरीलाई खानेकुरा कम छ भने आवश्यकता अनुसार चिनी चास्नी बनाएर खुवाउनुहोस्।
  • ब्रोइलर कुखुराहरुको पेटमा पानी जम्ने (Ascites) को समस्या धेरै देखिएमा, ४० मिलिग्राम फुरोसेमाईड १ लिटर पानीमा घोली दिनको दुई पटक पाँच दिन सम्म खान दिनुहोस्। १० दिन उमेरपछि दिईने दानामा १% का दरले खानेसोडा (सोडियम बाईकार्बोनेट) मिसाई खुवाउनुहोस्। खोर न्यानो तर प्रशस्त हावा खेल्ने बन्दोबस्त मिलाउनुहोस्।
  • पंगास जातको माछाले चिसो मौसम सहन नसक्ने हुँदा बिक्रीयोग्य साईजको माछालाई अलग्गै छुट्टाई बिक्री गर्नुहोस्। अन्य माछालाई करिब २-२.५ मिटर गहिरो पोखरीमा स्टकिंग गर्नका लागि आवश्यक तयारी गर्नुहोस्।
  • मौसम सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने चौविसै घण्टा उपलब्ध जल तथा मौसम विज्ञान विभागको फोन नम्बर-११५५ मा फोन गर्नुहोस्।
  • कृषि पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार साँझ देखि बजेसम्म फोन गर्नुहोस्।