नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (कार्यक्षेत्र: रुपन्देही र नवलपरासी (ब.सु.प)) |
कृषि मौसम सल्लाह बुलेटिन (बर्ष १०, अंक ३२)
मौसमी सारांश:
- गत साता सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा रहेको दार्चुला केन्द्रमा १६.० मि.मि. साप्ताहिक कुल वर्षा मापन भएको छ। कोशी प्रदेशको तराई र मधेश प्रदेशको अधिकांश तथा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको तराईका केही स्थानहरूमा ३०.० डि.से. भन्दा बढी साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ भने मधेश प्रदेशको धनुषा जिल्लामा रहेको जनकपुर केन्द्रमा सबैभन्दा बढी ३४.१ डि.से. साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ। तराईका अधिकांश स्थानहरुमा १५.० डि.से. भन्दा बढी साप्ताहिक औसत न्यूनतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम -१.९ डि.से. साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएको छ।
- यो साता देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहनेछ।
- कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको हिमाली भू-भागमा साताको मध्यमा र अन्त्यमा आंशिक बदली देखि साधारणतया बदली तथा साताको शुरुमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ।
- कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको हिमाली भू-भागमा साताको शुरु र मध्यमा एक-दुई स्थानमा हल्का वर्षा तथा अन्त्यमा थोरै स्थानहरूमा हल्का वर्षा/हिमपातको सम्भावना छ।
- कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा साताको अन्त्यमा एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
- देशका तराई भू-भागमा साताभरी नै बिहान क्षणिक हुस्सु/कुहिरो लाग्ने सम्भावना छ।
- अधिकतम र न्यूनतम तापक्रम देशको हिमाली भू-भागमा हल्का घट्ने र पहाडी तथा तराईका भू-भागमा साताभर उल्लेखनिय परिवर्तन नभए पनि साताको अन्त्यमा हल्का घट्ने सम्भावना छ।
कृषि सारांश
- कम्बाईन हार्भेष्टरले धान काट्दा खेतमा छोडेको पराल जलाउँदा खेत र वातावरणमा प्रतिकुल प्रभाव पार्ने तथा पशु आहारामा समेत असर पार्ने हुँदा बेलर मेसिन अथवा अन्य विधिहरु बाट पराल जम्मा गर्नुहोस्।
- धानको बीउ छनोटको लागि एकनासले पाकेका, रोग नलागेका पुष्ट बाला संकलन गरेर चुटानी गरी राम्रोसँग घाममा सुकाएर भण्डारण गर्नुहोस्।
- गहुँवालीमा सिन्दुरे रोगको प्रकोप कम गर्न तराईमा मंसिर १ देखि २५ गते (डिसेम्बर १०) भित्र गहुँ छरिसक्नुहोस्। तराईका लागि बाणगंगा, बि.एल. ४३४१, एन.एल. ९७१, आदित्य जातका बीउलाई भाइटाभेक्स २ ग्राम प्रति के.जी. बीउका दरले उपचार गरेर मात्र छर्नुहोस्।
- तापक्रम कम हुँदै जाँदा फलफूल बाली (मेवा, आँप, एभोकाडो आदि) का बोटमा मिली बगको प्रकोप कम गर्न बगैँचाको सरसफाईमा ध्यान दिनुको साथै बोटको मुल काण्डको १ फीट माथि चारैतिर लेसिलो पट्टि लगाउने वा ४०० गेजको २५ से.मी. चौडा बाक्लो पहेँलो प्लाष्टिक बोटको फेदमा बाँध्नुहोस्।
- तराई, भित्री-मधेश तथा बेँशीमा आलुका सिफारिस जातहरु मध्ये उपलब्ध जातहरूको गुणस्तरीय बीउ आलुलाई उपचार गरेर मात्र रोप्नुहोस्।
- तापक्रम कम हुँदै जादाँ लाही कीराको प्रकोप बढ्दै जाने हुनाले करेसाबारी र कौसी खेती गर्दा व्यवस्थापनका लागि एक भाग गाईको गहुँत ४ भाग पानीमा मिसाएर रातभरि राखी लाही लागेको ठाँउमा भिज्नेगरि भोलीपल्ट छर्कनुहोस् वा खरानीको धूलो लाही कीरा लागेको ठाँउमा बिहानीपख छर्कनुहोस्।
- गोलभेँडामा अगौटे डढुवाको प्रकोप कम छ भने मेन्कोजेब ७५% डब्लु.पि. २.५ ग्राम प्रति लिटर पानीमा घोलेर स्प्रे गर्नुहोस्।
- व्यवसायीक वा खुला रुपमा पालिएका सबै उमेर समूहका कुखुराहरुलाई रानिखेत रोग विरुद्ध एन.डि क्लोन (ND Clone) खोप पानीमा मिसाई खुवाउनुहोस्।
- पंगास जातको माछाले चिसो मौसम सहन नसक्ने हुँदा बिक्रीयोग्य साईजको माछालाई मंसिर १५ भित्र अलग्गै छुट्टाई बिक्री गर्नुहोस्। र अन्य माछालाई करिब २-२.५ मिटर गहिरो पोखरीमा स्टकिंग गर्नका लागि आवश्यक तयारी गर्नुहोस्।
- माछामा लाग्ने आर्ग्युलस (माछाको जुम्रा) को उपचारको लागि आईभरमेक्टीन १ एम.एल. प्रति २० के.जी. माछाको दरले दानामा राखेर लागतार ३ दिनसम्म खुवाई २ दिनको अन्तरालपछि पुनः २ दिन लगातार (कुल पाँच दिन) खुवाउनुहोस्। साथै पोखरीको सरसफाईमा ध्यान दिनुहोस्।
- मौसम सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने चौविसै घण्टा उपलब्ध जल तथा मौसम विज्ञान विभागको फोन नम्बर-११५५ मा फोन गर्नुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार साँझ ४ देखि ६ बजेसम्म फोन गर्नुहोस्।