कृषि मौसम सल्लाह बुलेटिन (बर्ष १०, अंक २६)

मौसमी सारांश:

  • गत साता देशको धेरै केन्द्रहरुमा हल्का देखि धेरै भारी वर्षा मापन गरिएको छ भने सबैभन्दा बढी कोशी प्रदेशको सुनसरी जिल्लामा रहेको धरान बजार केन्द्रमा १९०.६ मि.मि. साप्ताहिक कुल वर्षा मापन भएको छ। तराईका सबै स्थानहरूमा ३०.0 डि.से. भन्दा बढी साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ भने मधेश प्रदेशको सिराहा जिल्लामा रहेको लाहान केन्द्रमा सबैभन्दा बढी ३४.९ डि.से. साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ।गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम ४.१ डि.से. साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएको छ।
  • साताको शुरु र मध्यमा कोशी प्रदेश लगायत मधेश प्रदेशको अधिकांश भू-भाग र बागमती प्रदेशको पूर्वी भू-भागमा मनसुनी वायुको प्रभाव रहने सम्भावना छ। साताको अन्त्यतिर देशभरबाट मनसुन बाहिरिने सम्भावना छ। देशको पश्चिमी भू-भागहरुमा पश्चिमी वायूको आंशिक प्रभाव रहने सम्भावना छ।
  • कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा साताको शुरू र मध्यमा थोरै स्थानहरूमा तथा साताको अन्त्यमा एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ।
  • लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
  • देशभर अधिकतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने, न्यूनतम तापक्रम हल्का घट्ने सम्भावना छ।

असोज १५ देखि पुस १६, २०८१ (अक्टोबर देखि डिसेम्बर, २०२४) सम्मको हावापानी आँकलन

  • जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष असोज १५ देखि पुस १६ सम्म (अक्टोबर देखि डिसेम्बर२०२४) को तीन महिनाको अवधिमा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेशगण्डकी प्रदेशका दक्षिण-पूर्वी भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी भू-भागमा सरदर भन्दा बढी वर्षा हुनेकर्णाली प्रदेशका मध्य तथा उत्तरी भू-भाग र सुदूरपश्चिम प्रदेशका उत्तरी भू-भागमा सरदर भन्दा कम वर्षा हुने र देशका बाँकी भू-भागमा सरदर वर्षा हुने संभावना रहेको छ। अधिकतम तापक्रम देशका अधिकांश भू-भागमा सरदर भन्दा बढी हुने र न्यूनतम तापक्रम देशभर सरदर भन्दा बढी हुने सम्भावना रहेको छ।

कृषि सारांश

 

  • धान काट्ने कार्यमा लाग्ने खर्च र समय बचत गर्न उपलब्ध मेसिनहरु- ट्रेक्टर चालित रीपर, स्वचालित रीपर, कम्बाईन हार्वेस्टर, ब्रस कटर आदी प्रयोग गर्नुहोस्।
  • धानको बीउ छनोटको लागि एकनासले पाकेका, रोग नलागेका पुष्ट बाला संकलन गरेर चुटानी गरी राम्रोसँग घाममा सुकाएर भण्डारण गर्नुहोस्।
  • वीउ भण्डारणको लागि सुपर ब्यागको प्रयोग गर्नुहोस्। सुपर ब्याग उपलब्ध नभएको अवस्थामा हावा नछिर्ने भाँडो (मेटल वीन, घ्याम्पो, भकारी, आदी) मा राखी बीउ भण्डारण गर्नुहोस्।
  • धानबालीमा मिलीबग कीराको क्षतिको पहिचान र व्यवस्थापनको लागि रासायनिक विषादीहरु जस्तै-इमिडाक्लोपिड १७.८ एस.सी. ४ देखी ८ एम.एल. वा थायोमिथोक्जाम २५% एस.जी. ३.२- ५ ग्राम वा निटेनपाइराम १०% २- ५ एम.एल. प्रति १६ लिटर पानीको दरले स्टिकर मिसाएर विरुवाको तल्लो भागमा पर्नेगरि साताको शुरुमा नै छर्कनुहोस्।
  • उच्चपहाडको लागि सिफारिस गरिएका गहुँका जातहरु- पासाङ्ल्हामु, डब्लु.के. १२०४, डाँफे, स्वर्गद्वारी, मुनाल, च्याखुरा, हिमगंगा र भेरीगंगा मध्ये उपलब्ध जातको गणुस्तरिय बीउ ६.० के.जी. प्रति रोपनीको दरले छर्नुहोस्।
  • मध्यपहाडका लागि गहुँवालीको सिन्दुरे रोग अवरोधी बीउहरु: स्वर्गद्वारी, मुनाल, च्याखुरा तथा तराईका लागि बाणगंगा, बि.एल. ४३४१, एन.एल. ९७१, आदित्य जातका बीउ व्यवस्था गर्नुहोस्।
  • मध्य पहाड देखि उच्च पहाडको लागि सिफारिस गरीएका तोरीको जात; लुम्ले -१, मध्य पहाडको लागि प्रगति र सुर्खेत स्थानिय तोरी -३, बेंसीको लागि उन्नति र प्रिती, तराई र भित्री मधेशको लागि विकास, प्रगति, उन्नति, प्रिती, मोरङ् तोरी-२, सुर्खेत स्थानिय तोरी -३ तथा नवलपुर स्थानिय-४ मध्ये उपलब्ध जात ०.५ के. जी. प्रति रोपनी वा ०.३४ के.जी. प्रति कट्ठा बीउका दरले बीउ उपचार गरी छर्नुहोस्।
  • पहाडको लागि सिफारिस मुसुरोका जातहरु: शिशिर, सिमल, शिखर, शितल, महेश्वर भारती, सगुन, खजुरा मुसुरो ३ मध्ये उपलब्ध जातको गणुस्तरिय बीउ २ के.जी. प्रति रोपनीका दरले बीउ व्यवस्था गर्नुहोस्।
  • तराई, भित्री-मधेश तथा बेँशीमा आलुको खुमल सेतो-३, खुमल उपहार, खुमल उज्वल, खुमल लक्ष्मी, खुमल रातो २, आईपिवाई ८, कुफ्रि सिन्दुरी, डेजिरे, कार्डिनल मध्ये उपलब्ध जातहरूको गुणस्तरीय बीउ ब्यवस्था गरी कोल्ड स्टोरबाट झिकी ओभानो ठाँउमा फिंजाएर टुसाउन राख्नुहोस्।
  • बेमौसमी प्याज खेतीको लागि सेट उत्पादन गर्न नर्सरीमा नासिक ५३ वा नासिक रेड जातका बीउ ४५-५० ग्राम प्रति वर्ग मिटरको दरले छरेर फुक्का माटोले हल्का पुर्नुहोस्।
  • नर्सरी ब्याडमा बेर्ना उमार्ने समयमा फेद काट्ने कीरा र बेर्ना कुहिने रोगको व्यवस्थापन गर्न क्लोरपाईरीफस १६% ई.सी. (Chlorpyrifos 16% EC) को ०.५ एम.एल. र कार्बेनडाजिम (बेभिष्टिन) ५०% डब्लु.पि. को १ ग्राम प्रति लिटर पानीमा घोली स्प्रेयरबाट नर्सरी ब्याड भिज्नेगरी छर्कनुहोस्।
  • मौसम सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने चौविसै घण्टा उपलब्ध जल तथा मौसम विज्ञान विभागको फोन नम्बर-११५५ मा फोन गर्नुहोस्।
  • कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार साँझ ५ देखि ७ बजेसम्म फोन गर्नुहोस्।
  • कृषि-मौसम सल्लाह बुलेटिन रेडियो नेपालबाट प्रत्येक शनिबार बेलुका ६:२५ देखि ६:३५ बजेसम्म साथै नेपाल टेलिभिजनको NTV NEWS Channel बाट प्रत्येक शनिबार बेलुका ८ बजेको समाचारपछि प्रसारण हुने गर्दछ।