कृषि मौसम सल्लाह बुलेटिन (बर्ष १०, अंक २४)

मौसमी सारांश:

  • गत साता देशको अधिकांश केन्द्रहरुमा हल्का देखि धेरै भारी वर्षा मापन गरिएको छ। गत साता सबैभन्दा बढी कोशी प्रदेशको ईलाम जिल्लामा रहेको कन्याम केन्द्रमा २१७.१ मि.मि. साप्ताहिक कुल वर्षा मापन भएको छ। मधेश प्रदेश र कोशी प्रदेशका तराईका अधिकांश स्थानहरूमा र लुम्बिनी प्रदेश तराईका केही स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका तराईका एक-दुईस्थानमा ३५.0 डि.से. भन्दा बढी साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ भने कोशी प्रदेशको झापा जिल्लामा रहेको दमक केन्द्रमा सबैभन्दा बढी ३७.५ डि.से. साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम ९.९ डि.से. साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएको छ।
  • साताभर मनसुनी वायुको प्रभाव रहने देखिन्छ। साताको शुरूमा मनसुन सक्रिय रहने देखिन्छ।                        
  • साताको शुरुमा देशको हिमाली, पहाडी तथा तराई क्षेत्रहरूमा साधारणतया देखि पूर्णतया बदली रहने र साताको मध्य र अन्त्यमा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली साथै बाँकी पहाडी भू-भाग र तराई क्षेत्रहरूमा साताको मध्य र अन्त्यमा आंशिक बदली देखि मूख्यतया सफा रहने सम्भावना रहेको छ।
  • साताको शुरुमा देशका तराई भू-भागका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षा र साताको शुरुमा केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित भारी देखि धेरै भारी वर्षा तथा थोरै स्थानहरुमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ। यद्दपी, साताको मध्य र अन्त्यमा तराई भू-भागका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
  • साताको शुरूमा देशका पहाडी भू-भागका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षा र साताको शुरुमा केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित भारी देखि धेरै भारी वर्षा तथा थोरै स्थानहरुमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ। साथै साताको मध्य र अन्त्यमा कोशी, बागमती, गण्डकी, प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा तथा एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
  • साताको शुरूमा देशका हिमाली भू-भागका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षा/हिमपात र एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
  • देशका अधिकांश स्थानहरूमा साताको शुरुमा अधिकतम तथा न्यूनतम तापक्रम हल्का घट्ने सम्भावना रहेको छ।

कृषि सारांश

  • साताको शुरुमा मनसुन सक्रिय रहने देखिएकाले सबै किसिमका खाद्यान्न, फलफूल र तरकारी बालीमा पानी जम्न नदिन पानी निकासको उचित व्यवस्था गर्नुहोस्।
  • साताको शुरूमा मनसुन सक्रिय रहने देखिएकाले धानबालीमा हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागी धान खेतबाट पानीको निकास राम्रोसँग गर्नुहोस्। खेतको गराको विभिन्न ठाउँबाट कुलेसो काटी पानीको निकास गर्नुहोस्। नकाटेको धानलाई मौसम सफा भई पानी पर्न रोकेको ३-४ दिन पछि मात्र धान काट्नुहोस्। हावाहुरीबाट लडेको धानको बोटलाई बाँधेर खडा गर्नुहोस्। बाँसको खम्बा गाडी त्यसमाथि भिजेको धानको बाला सुकाउनुहोस्। काटेको धानको पाँजोलाई अग्लो ठाउँ जस्तै आली कान्लामा सुकाउनुहोस्। भिजेको धानको बाला छिटो सुकाउन काटिसकेको धानको बालालाई नल (पराल) बाट छुट्याउनुहोस्। चुटिसकेको धानलाई हावा आउने ठाउँमा फिजाई पंखाको सहयोगले हावा दिई बेला बेला धानलाई चलाई छिटो सुकाउने प्रबन्ध गर्नुहोस्। भिजेर भण्डारण गर्न नमिल्ने धानलाई बिग्रनबाट जोगाउन नजिकको मिलसँग समन्वय गरी चिउरा र भुजा बनाई प्रयोगमा ल्याउनुहोस्।
  • साताको शुरूमा मनसुन सक्रिय रहने देखिएकाले सबै प्रकारका बालीनालीमा विषादी छर्कने कार्य सम्भव भएसम्म रोक्नुहोस्।
  • उच्चपहाडको लागि सिफारिस गरिएका गहुँका जातहरु- पासाङ्ल्हामु, डब्लु.के. १२०४, डाँफे, स्वर्गद्वारी, मुनाल, च्याखुरा, हिमगंगा र भेरीगंगा मध्ये उपलब्ध जातको गणुस्तरिय बीउ ६.० के.जी. प्रति रोपनीको दरले बीउको व्यवस्था गर्नुहोस्।
  • विभिन्न तरकारीबालीहरुको नर्सरी ब्याडमा पानी जमेर बेर्ना कुहिने रोग लाग्न सक्ने भएकोले पानी निकासको उचित प्रवन्ध गर्नुहोस्।
  • साताभरि नै मनसुनी वायुको प्रभावका कारणले पानी परी खेतबारीहरुमा पानी जम्ने वा हुने बाढीमा मुसा, छुचुन्द्रो आदिको मलमुत्रबाट सर्ने लेप्टोस्पाईरोसिस जस्ता मानिसमा पनि सर्न सक्ने जीवाणुहरु प्रशस्त मात्रामा पाईन सक्ने हुँदा, खेतबारीमा जाँदा बुट लगाएर मात्र जानुहोस्।
  • चिसो ठाउँमा भण्डारण गरेको दाना र परालमा ढुसीको संक्रमण हुन गई पशुवस्तुको पाचनक्रियामा समस्या आउनुका साथै बिष उत्पन भई पशुवस्तु मर्न समेत सक्ने भएकोले पशुवस्तुलाई खुवाउने दाना र पराललाई सफा र ओभानो ठाँउमा भण्डारण गर्नुहोस्।
  • साताभर मनसुनी वायुको प्रभाव रहने देखिएकोले माछापोखरीमा धमिलो पानी मिसिन नदिनुहोस्। माछापोखरीको निकासद्वारमा माछाको साइज अनुसारको जाली लगाई पानी निकासको उचित व्यवस्था मिलाउनुहोस्।
  • मौसम सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने चौविसै घण्टा उपलब्ध जल तथा मौसम विज्ञान विभागको फोन नम्बर-११५५ मा फोन गर्नुहोस्।
  • कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार साँझ ५ देखि ७ बजेसम्म फोन गर्नुहोस्।
  • कृषि-मौसम सल्लाह बुलेटिन रेडियो नेपालबाट प्रत्येक शनिबार बेलुका ६:२५ देखि ६:३५ बजेसम्म साथै नेपाल टेलिभिजनको NTV NEWS Channel बाट प्रत्येक शनिबार बेलुका ८ बजेको समाचारपछि प्रसारण हुने गर्दछ।