नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (कार्यक्षेत्र: रुपन्देही र नवलपरासी (ब.सु.प)) |
कृषि मौसम सल्लाह बुलेटिन (बर्ष १०, अंक २३)
मौसमी सारांश:
- गत साता देशको अधिकांश केन्द्रहरुमा हल्का देखि धेरै भारी वर्षा मापन गरिएको छ ।वर्षा मापन भएका धेरै केन्द्रहरुमा सरदर भन्दा कम वर्षा मापन गरिएको छ। गत साता सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशको कन्चनपुर जिल्लामा रहेको महेन्र्दनगर केन्द्रमा २६५.५ मि.मि. साप्ताहिक कुल वर्षा मापन भएको छ।मधेश प्रदेश तराईका एक-दुई स्थानहरूमा ३५.० डि.से. भन्दा बढी साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ तथा तराईका अधिकांश स्थानहरुमा ३०.० डि.से. भन्दा बढी साप्ताहिक औसत न्यूनतम तापक्रम मापन गरिएको छ भने मधेश प्रदेशको सिराहा जिल्लामा रहेको लाहान केन्द्रमा सबैभन्दा बढी ३५.५ डि.से. साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम ७.८ डि.से. साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएको छ।
- साताभर मनसुनी वायुको प्रभाव रहने देखिन्छ।
- देशको हिमाली, पहाडी क्षेत्रहरूमा साताभर आंशिक देखि साधारणतया बदली तथा तराई क्षेत्रहरूमा साताको शुरुमा आंशिक बदली देखि मूख्यतया सफा तथा मध्य र अन्त्यमा आंशिक बदली देखि साधारणतया बदली रहने सम्भावना रहेको छ।
- साताको मध्य र अन्त्यमा देशका तराई भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ।
- साताको शुरूमा देशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा, मध्यमा र अन्त्यमा केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ। साथै साताको अन्त्यमा कोशी, बागमती, गण्डकी, कर्णाली र सूदुरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा वर्षाको समेत सम्भावना छ।
- देशका अधिकांश स्थानहरूमा साताको अन्त्यमा अधिकतम तथा न्यूनतम तापक्रम हल्का घट्ने सम्भावना छ।
कृषि सारांश
- साताभर मनसुनी वायुको प्रभाव रहने देखिएकाले तरकारी तथा फलफुल बालीहरुमा पानी जम्न नदिन निकासको व्यवस्था गर्नुहोस्।
- धानको कालोपोके रोग लाग्न नदिन बेर्ना सारेको लगभग ८० दिनभित्र पहिलो पटक र लगभग १०० दिनभित्र दोश्रो पटक नेटिभो ७५ डब्लु.जी., (tebuconazole 50% WG + trifloxystrobin 25% WG) ०.५ ग्राम प्रति लिटर पानीको दरले खेतमा रहेका धानका बालाहरुमा छर्केर उपचार गर्नुहोस्।
- उच्चपहाडको लागि सिफारिस गरिएका गहुँका जातहरु- पासाङ्ल्हामु, डब्लु.के. १२०४, डाँफे, स्वर्गद्वारी, मुनाल, च्याखुरा, हिमगंगा र भेरीगंगा मध्ये उपलब्ध जातको गणुस्तरिय बीउ ६.० के.जी. प्रति रोपनीको दरले बीउको व्यवस्था गर्नुहोस्।
- स्याउको फल परिपक्व नहुँदै टिप्दा फलको आकार सानो, स्वाद अमिलो तथा टर्रो, रङ्ग नचढेको, बास्ना नभएको तथा भण्डारणमा स्काल्ड विकृतिले फल खैरो भई गणुस्तर बिग्रने हुँदा सामान्यतया फल पूर्णरुपमा खान तयार भएपछि र अब फल नटिपे बिग्रन्छ भन्ने भएपछि मात्र टिप्ने गर्नुहोस्।
- स्याउ ढुवानी र टिप्ने
- देशका बिभिन्न ठाँउमा जुनार सुन्तलाको फल चुस्ने चुसाहा पुतली कीराको प्रकोप देखा परेको हुँदा अनुगमन गरी व्यवस्थापनका लागि झरेका फलहरु संकलन गरि नष्ट गर्ने, सामुहिक रुपमा बगैचामा धुँवाको व्यवस्था गरि कीरा धपाउने, बत्तिमा आकर्षित गरि नष्ट गर्ने, साथै प्रकोप ज्यादा भएमा मालाथियान २ एम.एल. को घोलमा १०० ग्राम सख्खर मिसाएर छर्किने गर्नुहोस्।
- सुन्तालाजात फलफूलको बोटमा क्यांकर रोगको व्यवस्थापनको लागि कपर अक्सिक्लोराईड ३ ग्राम र कासु वी (कासुगामाइसिन) १ ग्राम प्रति लिटर पानीमा मिसाई १५ दिनको फरकमा छर्नुहोस्।
- खुमल चौडापात, खुमल रातोपात, मार्फा चौडापात जस्ता रायोका जातहरुको तयारी बिरुवाहरु साँझपख सार्नुहोस् र मिनो अर्ली जातको मूला रोप्नुहोस्।
- गोलभेँडामा लाग्ने अगौटे डढुवा/अल्टरनेरिया थोप्ले रोगको अनुकुल मौसम भएकोले रोगको व्यवस्थापनको लागि डाईथेन एम-४५, २ ग्राम प्रति लिटर पानीमा मिसाई ७-१० दिनको फरकमा २-३ पटक पात भिज्ने गरि पानी नपरेको समयमा स्टिकर मिसाई छर्कनुहोस्।
- चाडपर्व नजिकिएसँगै विभिन्न ठाँउहरुबाट खरिद बिक्रि हुने खसी, बोका, भेडा, च्याङ्ग्राबाट पिपिआर/खोरेत रोग भित्रिने संभावना बढी हुन्छ। त्यसकारण आफ्ना खोर-गोठका पशुहरुलाई खरीद गरिएका नयाँ पशुवस्तुहरुसंग नमिसाई टाढै राख्नुहोस्। खोप लगाउने उमेर पुगेका र खोप लगाउने समय भएका खसी, बोका, बाख्रा र भेडा च्याङ्ग्राहरुमा पिपिआर र खोरेत विरुद्दको खोप लगाउनुहोस्।
- गहिरा माछापोखरीहरूमा गर्मीको समयमा थुप्रिएको जैविक पदार्थका कारण अक्सिजनको कमी हुने समस्या हुने भएकाले पोखरीको पिंधको हिलो-लेदो निकालेर सफा गर्नुहोस्। आवश्यकता अनुसार एरिएटरको प्रयोग गर्नुका साथै पानीको पि.एच. ६.५- ८.५ कायम गर्नुहोस्।
- मौसम सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने चौविसै घण्टा उपलब्ध जल तथा मौसम विज्ञान विभागको फोन नम्बर-११५५ मा फोन गर्नुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार साँझ ५ देखि ७ बजेसम्म फोन गर्नुहोस्।
- कृषि-मौसम सल्लाह बुलेटिन रेडियो नेपालबाट प्रत्येक शनिबार बेलुका ६:२५ देखि ६:३५ बजेसम्म साथै नेपाल टेलिभिजनको NTV NEWS Channel बाट प्रत्येक शनिबार बेलुका ८ बजेको समाचारपछि प्रसारण हुने गर्दछ।