नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (कार्यक्षेत्र: रुपन्देही र नवलपरासी (ब.सु.प)) |
कृषि मौसम सल्लाह बुलेटिन (बर्ष १०, अंक २२)
मौसमी सारांश:
- गत साता देशको अधिकांश केन्द्रहरुमा हल्का देखि धेरै भारी वर्षा मापन गरिएको छ।वर्षा मापन भएका धेरै केन्द्रहरुमा सरदर भन्दा कम वर्षा मापन गरिएको छ। गत साता सबैभन्दा बढी मधेश प्रदेशको सिराहा जिल्लामा रहेको लाहान केन्द्रमा १९०.७ मि.मि. साप्ताहिक कुल वर्षा मापन भएको छ। सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश तराईका धेरै स्थानहरूमा, कोशी प्रदेश र मधेश प्रदेश तराईका केही स्थानहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुईस्थानमा ३५.0 डि.से. भन्दा बढी साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ भने सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा रहेको टिकापुर केन्द्रमा सबैभन्दा बढी ३६.४ डि.से. साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मुस्ताङ जिल्लामा रहेको थाकमार्फा केन्द्रमा सबैभन्दा कम ११.० डि.से. साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएको छ।
- साताभर मनसुनी वायुको प्रभाव रहने देखिन्छ। साताको शुरुमा भारतको मध्य प्रदेश आसपास बनेको न्यून चापिय क्षेत्र तथा मध्यमा भारतको झारखण्ड आसपास बन्ने न्यून चापीय क्षेत्रको प्रभाव रहने देखिन्छ।
- देशको हिमाली, पहाडी तथा तराई क्षेत्रहरूमा साताको शुरु र मध्यमा आंशिक देखि साधारणतया बदली तथा अन्त्यमा आंशिक बदली देखि मूख्यतया सफा रहने सम्भावना छ।
- सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा साताको शुरुमा साधारणतया देखि पूर्णतया बदली, मध्यमा आंशिक देखि साधारणतया बदली तथा अन्त्यमा आंशिक बदली देखि मूख्यतया सफाको सम्भावना छ।
- कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताको शुरूमा केही स्थानहरुमा तथा मध्यमा थोरै स्थानहरूमा र साताको अन्त्यमा एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै साताको शुरुमा एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना छ।
- कोशी प्रदेशमा साताको शुरू र मध्यमा केही स्थानहरूमा तथा साताको अन्त्यमा थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ। साथै साताको शुरु र मध्यमा एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
- साताको शुरु र मध्यमा देशका तराईका थोरै स्थानहरुमा हावा-हुरीको सम्भावना छ।
- देशका अधिकांश स्थानहरूमा साताको अन्त्यमा अधिकतम तथा न्यूनतम तापक्रम हल्का बढ्ने सम्भावना छ।
कृषि सारांश
- बालीनालीमा रासयनिक विषादीको प्रयोग गर्दा सकेसम्म हरियो र नीलो लेबल भएको विषादी प्राविधिकको सल्लाह अनुसार प्रयोग गर्नुहोस्। कडा घाम लागेको, धेरै हावा लागेको र पानी परिरहेको बेलामा विषादी नछर्कनुहोस्। विषादी छर्कने बेलामा व्यक्तिगत सुरक्षा उपकरणहरु जस्तै- मास्क, पञ्जा, चस्मा, बुट र एप्रोनको प्रयोग गर्नुहोस्। विषादी छर्कँदा छर्दै अघि बढ्नु हुँदैन, पछि सर्दै आउनुहोस्।
- धान बालीमा मरुवा रोगको प्रकोप कम गर्न सिफारिस मात्राभन्दा बढी युरिया मल प्रयोग नगर्नुहोस्। यो रोग देखिएमा वीम १ ग्राम वा हेक्जाकोनाजोल २ एम.एल. प्रति लिटर पानीका दरले १०-१२ दिनको फरकमा बोटको सम्पूर्ण पातहरु भिज्नेगरि छर्केर उपचार गर्नुहोस्।
- धानको कालोपोके रोग लाग्न नदिन बेर्ना सारेको लगभग ८० दिनभित्र पहिलो पटक र लगभग १०० दिनभित्र दोश्रो पटक नेटिभो ७५ डब्लु.जी., (tebuconazole 50% WG + trifloxystrobin 25% WG) ०.५ ग्राम प्रति लिटर पानीको दरले खेतमा रहेका धानका बालाहरुमा छर्केर उपचार गर्नुहोस्।
- देशका बिभिन्न ठाँउमा जुनार सुन्तलाको फल चुस्ने चुसाहा पुतली कीराको प्रकोप देखा परेको हुँदा अनुगमन गरी व्यवस्थापनका लागि झरेका फलहरु संकलन गरि नष्ट गर्ने, सामुहिक रुपमा बगैचामा धुँवाको व्यवस्था गरि कीरा धपाउने, बत्तिमा आकर्षित गरि नष्ट गर्ने, साथै प्रकोप ज्यादा भएमा मालाथियान २ एम.एल. को घोलमा १०० ग्राम सख्खर मिसाएर छर्किने गर्नुहोस्।
- सुन्तलाजात फलफूल बगैँचामा फल कुहाउने औँसाको कारणले झरेका फलहरु संकलन गरी नष्ट गर्नुहोस्।
- सुन्तालाजात फलफूलको बोटमा क्यांकर रोगको व्यवस्थापनको लागि कपर अक्सिक्लोराईड ३ ग्राम र कासु वी (कासुगामाइसिन) १ ग्राम प्रति लिटर पानीमा मिसाई १५ दिनको फरकमा छर्नुहोस्।
- चाडपर्व नजिकिएसँगै विभिन्न ठाँउहरुबाट खरिद बिक्रि हुने खसी, बोका, भेडा, च्याङ्ग्राबाट पिपिआर/खोरेत रोग भित्रिने संभावना बढी हुन्छ। त्यसकारण आफ्ना खोर-गोठका पशुहरुलाई खरीद गरिएका नयाँ पशुवस्तुहरुसंग नमिसाई टाढै राख्नुहोस्। खोप लगाउने उमेर पुगेका र खोप लगाउने समय भएका खसी, बोका, बाख्रा र भेडा च्याङ्ग्राहरुमा पिपिआर र खोरेत विरुद्दको खोप लगाउनुहोस्।
- मौसम सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने चौविसै घण्टा उपलब्ध जल तथा मौसम विज्ञान विभागको फोन नम्बर-११५५ मा फोन गर्नुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार साँझ ५ देखि ७ बजेसम्म फोन गर्नुहोस्।
- कृषि-मौसम सल्लाह बुलेटिन रेडियो नेपालबाट प्रत्येक शनिबार बेलुका ६:२५ देखि ६:३५ बजेसम्म साथै नेपाल टेलिभिजनको NTV NEWS Channel बाट प्रत्येक शनिबार बेलुका ८ बजेको समाचारपछि प्रसारण हुने गर्दछ।