कृषि मौसम सल्लाह बुलेटिन (बर्ष १०, अंक २१)

मौसमी सारांश:

  • गत साता देशको अधिकांश केन्द्रहरुमा हल्का देखि धेरै भारी वर्षा मापन गरिएको छ। गत साता सबैभन्दा बढी बागमती प्रदेशको दोलखा जिल्लामा रहेको चरिकोट केन्द्रमा ३२३.० मि.मि. साप्ताहिक कुल वर्षा मापन भएको छ। मधेश प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक-दुईस्थानमा ३५.० डि.से. भन्दा बढी साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ भने मधेश प्रदेशको पर्सा जिल्लामा रहेको विरगन्ज केन्द्रमा सबैभन्दा बढी ३६.७ डि.से. साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम ९.८ डि.से. साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएको छ।
  • साताभर मनसुनी वायुको प्रभाव रहने देखिन्छ। साताको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहने देखिन्छ।
  • देशको हिमाली, पहाडी तथा तराई क्षेत्रहरूमा साताभर आंशिक देखि साधारणतया बदली रहने छ।
  • हिमाली भू-भागमा साताको शुरूमा थोरै स्थानहरूमा तथा साताको मध्य र अन्त्यमा केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाहिमपातको सम्भावना छ। साताभर हिमाली भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
  • साताको शुरूमा देशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा साताको मध्य र अन्त्यमा केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ। साथै देशका पहाडी भू-भागमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा साताको शुरूमा एक-दुई स्थानमा तथा साताको मध्य र अन्त्यमा थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना छ। बाँकी प्रदेशको पहाडी भू-भागमा साताभर केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको र एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
  • मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको तराई भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा साथै साताको सुरु र अन्त्यमा एक-दुई स्थानमा तथा मध्यमा थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना छ। बाँकी प्रदेशको तराई भू-भागमा साताको शुरू र मध्यमा थोरै स्थानहरू, अन्त्यमा केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना साथै साताको शुरू र मध्यमा एक-दुई स्थानमा तथा अन्त्यमा थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना छ।
  • देशका धेरै स्थानहरूको अधिकतम तथा न्यूनतम तापक्रममा उल्लेख्य परिवर्तन नहुने सम्भावना छ।

कृषि सारांश

  • बालीनालीमा रासयनिक विषादीको प्रयोग गर्दा सकेसम्म हरियो र नीलो लेबल भएको विषादी प्राविधिकको सल्लाह अनुसार प्रयोग गर्नुहोस्। कडा घाम लागेको, धेरै हावा लागेको र पानी परिरहेको बेलामा विषादी नछर्कनुहोस्। विषादी छर्कने बेलामा व्यक्तिगत सुरक्षा उपकरणहरु जस्तै- मास्क, पञ्जा, चस्मा, बुट र एप्रोनको प्रयोग गर्नुहोस्। विषादी छर्कँदा छर्दै अघि बढ्नु हुँदैन, पछि सर्दै­ आउनुहोस्।
  • धान बालीमा मरुवा रोगको प्रकोप कम गर्न सिफारिस मात्राभन्दा बढी युरिया मल प्रयोग नगर्नुहोस्। यो रोग देखिएमा वीम १ ग्राम वा हेक्जाकोनाजोल २ एम.एल. प्रति लिटर पानीका दरले १०-१२ दिनको फरकमा बोटको सम्पूर्ण पातहरु भिज्नेगरि छर्केर उपचार गर्नुहोस्।
  • अम्बामा गुटी बिधिबाट प्रसारण गर्न उपयुक्त समय भएकोले पानी नपरेको समय पारेर गुटी बाँध्नुहोस्।
  • सुन्तालाजात फलफूलको बोटमा क्यांकर रोगको व्यवस्थापनको लागि कपर अक्सिक्लोराईड ३ ग्राम र कासु वी (कासुगामाइसिन) १ ग्राम प्रति लिटर पानीमा मिसाई १५ दिनको फरकमा छर्नुहोस्।
  • आँपमा ईनार्चिङ्ग विधिबाट कलमी गर्ने उपयुक्त समय भएकोले कलमी गर्नुहोस् र नर्सरीमा उच्च आर्द्रता (८०-९० प्रतिशत) कायम गर्नुहोस्।
  • मध्य पहाडमा भदौमा लगाउने आलुबालीका लागि खुमल सेतो-३, खुमल रातो-४, कुफ्रिज्योती, डेजिरे, जनकदेव, खुमल उज्ज्वल, खुमल उपहार, खुमल विकास मध्ये उपलब्ध जातको स्वस्थ बीउ आलु रोप्नुहोस्।
  • बेमौसमी बकुल्ला सिमी लगाउन सुरु गर्नुहोस्।
  • उखुको पातको फड्के कीराको प्रकोप व्यवस्थापनको लागि पानी निकासको व्यवस्था मिलाउनुका साथै रोगी बोटको तल-तलका खुकुला, पुराना सुकेका पातहरु हटाउनुहोस्। प्रकोप ज्यादा भएमा वनस्पतिजन्य विषादी डेरिसोम २% इ.सी; २ एम.एल. प्रति लिटर पानीमा मिसाई बोट भिज्नेगरि छर्कनुहोस्।
  • बाख्रामा देखिने कुम्री रोगको रोकथाम गर्न भदौ देखि कात्तिकसम्म मासिक एक चक्की डाईइथाइल कार्बामाजिन (डी.ई.सी)-१०० एम.जी. प्रति वयस्क बाख्राका दरले खुवाउनुहोस्।
  • मौसम सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने चौविसै घण्टा उपलब्ध जल तथा मौसम विज्ञान विभागको फोन नम्बर-११५५ मा फोन गर्नुहोस्।
  • कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार साँझ ५ देखि ७ बजेसम्म फोन गर्नुहोस्।