कृषि मौसम सल्लाह बुलेटिन (बर्ष १०, अंक २०)

मौसमी सारांश:

  • गत साता देशको अधिकांश केन्द्रहरुमा हल्का देखि धेरै भारी वर्षा मापन गरिएको छ। वर्षा मापन भएका धेरै केन्द्रहरुमा सरदर भन्दा कम वर्षा मापन गरिएको छ। गत साता सबैभन्दा बढी बागमती प्रदेशको दोलखा जिल्लामा रहेको जिरी केन्द्रमा १४८.४ मि.मि. साप्ताहिक कुल वर्षा मापन भएको छ। मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा ३५.0 डि.से. भन्दा बढी साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ भने मधेश प्रदेशको पर्सा जिल्लामा रहेको विरगन्ज केन्द्रमा सबैभन्दा बढी ३५.८ डि.से. साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम ९.४ डि.से. साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएको छ।
  • साताभर मनसुनी वायुको प्रभाव रहने देखिन्छ। साताको शुरूमा न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ तथा मध्य र अन्त्यमा सरदर स्थानको आसपासमा रहने देखिन्छ।
  • देशको हिमाली, पहाडी क्षेत्रहरूमा तथा बाँकी भू-भागमा साताभर आंशिक देखि साधारणतया बदली रहने छ।
  • साताभर शुरूमा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा साताको मध्य र अन्त्यमा केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा/ हिमपातको सम्भावना छ। साताको मध्यमा हिमाली भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
  • साताको शुरूमा देशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा साताको मध्य र अन्त्यमा केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको संभावना छ। साथै देशका पहाडी भू-भागमा मध्यमा थोरै स्थानहरू र शुरु र अन्त्त्यमा एक-दुई स्थानमा भारी बर्षाको सम्भावना छ।
  • साताभर शुरूमा देशको तराई भू-भागका थोरै स्थानहरूमा र मध्य र अन्त्यमा केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ। साथै कोशी प्रदेशको तराई तथा मधेश प्रदेशमा साताभर एक-दुई स्थानमा तथा लुम्बिनी प्रदेशको तराईका भू-भागमा साताको मध्यमा थोरै स्थानहरू र बाँकी तराईका भूभागमा साताको मध्य र अन्त्यमा एक-दुई स्थानमा भारी बर्षाको सम्भावना छ।
  • देशका धेरै स्थानहरूको अधिकतम तथा न्यूनतम तापक्रममा उल्लेख्य परिवर्तन नहुने सम्भावना छ।

कृषि सारांश

  • बालीनालीमा रासयनिक विषादीको प्रयोग गर्दा सकेसम्म हरियो र नीलो लेबल भएको विषादी प्राविधिकको सल्लाह अनुसार प्रयोग गर्नुहोस्। कडा घाम लागेको, धेरै हावा लागेको र पानी परिरहेको बेलामा विषादी नछर्कनुहोस्। विषादी छर्कने बेलामा व्यक्तिगत सुरक्षा उपकरणहरु जस्तै- मास्क, पञ्जा, चस्मा, बुट र एप्रोनको प्रयोग गर्नुहोस्। विषादी छर्कँदा छर्दै अघि बढ्नु हुँदैन, पछि सर्दै­ आउनुहोस्।
  • धान बालीमा मरुवा (Blast) रोग व्यवस्थापनको लागि नाइट्रोजनयुक्त मल जस्तै-युरिया मात्र बढी प्रयोग नगरी फोस्फोरस र पोटास पनि सिफारिस मात्रामा प्रयोग गर्नुहोस्। यो रोग पातहरुमा देखिएमा वीम १ ग्राम वा हेक्जाकोनाजोल २ एम.एल. प्रति लिटर पानीका दरले १०-१२ दिनको फरकमा बोटको सम्पूर्ण पातहरु भिज्नेगरि छर्केर उपचार गर्नुहोस्। धान बालीमा मरुवा रोगको नियमित अनुगमन गर्नुहोस्।
  • अम्बामा गुटी बिधिबाट प्रसारण गर्न उपयुक्त समय भएकोले पानी नपरेको समय पारेर गुटी बाँध्नुहोस्।
  • आँपमा ईनार्चिङ्ग विधिबाट कलमी गर्ने उपयुक्त समय भएकोले कलमी गर्नुहोस् र नर्सरीमा उच्च आर्द्रता (८०-९० प्रतिशत) कायम गर्नुहोस्।
  • स्टोन/इपिकोटायल बिधिबाट कलमी गरेको आँपको नर्सरीमा ८०-९० प्रतिशत भन्दा कम आर्द्रता भएमा बेला-बेलामा पानी छर्किनुहोस्। साथै कलमी गरेको भागभन्दा तलबाट पलाएका मुनाहरु हटाउनुहोस्।
  • मध्य पहाडमा भदौमा लगाउने आलुबालीका लागि खुमल सेतो-३, खुमल रातो-४, कुफ्रिज्योती, डेजिरे, जनकदेव, खुमल उज्ज्वल, खुमल उपहार, खुमल विकास मध्ये उपलब्ध जातको स्वस्थ बीउ आलु रोप्नुहोस्।
  • बेमौसमी बकुल्ला सिमी लगाउन सुरु गर्नुहोस्।
  • बाख्रामा देखिने कुम्री रोगको रोकथाम गर्न भदौ देखि कात्तिकसम्म मासिक एक चक्की डाईइथाइल कार्बामाजिन (डी.ई.सी)-१०० एम.जी. प्रति वयस्क बाख्राका दरले खुवाउनुहोस्।
  • वर्षातको पानीले पोखरीको खाद्यतत्व बगाएर कमी हुन सक्ने हुँदा पोखरीको पानीको पारदर्शिता हेरी घाम लागेको समय पारेर सिफारिस मात्रामा मलखाद प्रयोग गर्नुहोस्।
  • मौसम सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने चौविसै घण्टा उपलब्ध जल तथा मौसम विज्ञान विभागको फोन नम्बर-११५५ मा फोन गर्नुहोस्।
  • कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार साँझ ५ देखि ७ बजेसम्म फोन गर्नुहोस्।