कृषि मौसम सल्लाह बुलेटिन (बर्ष १०, अंक १९)

मौसमी सारांश:

  • गत साता देशको सबै केन्द्रहरुमा मध्यम देखि अति भारी वर्षा मापन गरिएको छ। वर्षा मापन भएका धेरै केन्द्रहरुमा सरदर भन्दा बढी वर्षा मापन गरिएको छ। गत साता सबैभन्दा बढी गण्डकी प्रदेशको कास्की जिल्लामा रहेको लुम्ले केन्द्रमा ४०४.५ मि.मि. साप्ताहिक कुल वर्षा मापन भएको छ। कोशी प्रदेशका तराई तथा मधेश प्रदेशका केही स्थानमा ३५.0 डि.से. भन्दा बढी साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ भने मधेश प्रदेशको धनुषा जिल्लामा रहेको जनकपुर केन्द्रमा सबैभन्दा बढी ३७.० डि.से. साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम १०.९ डि.से. साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएको छ।
  • साताभर मनसुनी वायुको प्रभाव रहने देखिन्छ। साताभर न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहने देखिन्छ।
  • देशको हिमाली तथा पहाडी क्षेत्रहरूमा तथा बाँकी भू-भागमा साताभर आंशिक देखि साधारणतया बदली रहनेछ।
  • साताभर शुरू र अन्त्यमा हिमाली भू-भागका केही स्थानहरूमा तथा साताको मध्यमा थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा/ हिमपातको सम्भावना छ।
  • साताको शुरूमा कोशी, लुम्बिनी प्रदेशका पहाडी भू-भागका धेरै स्थानहरूमा तथा बाँकी पहाडी भू-भागका केही स्थानहरूमा र मध्य र अन्त्यमा देशका पहाडी भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा। साथै पहाडी भू-भागमा साताको शुरू, मध्य र अन्त्यमा एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
  • देशका धेरै स्थानहरूको अधिकतम तथा न्यूनतम तापक्रममा उल्लेख्य परिवर्तन नहुने यद्यपि सरदरभन्दा केही बढी हुने सम्भावना रहेको छ।

कृषि सारांश

 

  • साताभर मनसुनी वायुको प्रभाव रहने देखिएकोले सबै प्रकारका तरकारी तथा फलफूल बालीमा सरसफाई र झारपात व्यवस्थापनका साथै पानी निकासको उचित व्यवस्थापन गर्नुहोस्।
  • धान रोपेको २-३ हप्तापछि खेतमा निरन्तर पानी जमेको अवस्थामा धानबालीमा फेद कुहिने रोग नियन्त्रणको लागि रोगी बोटहरु उखेलेर नष्ट गर्नुहोस्। प्रकोप ज्यादा देखिएमा खेतमा जमेको पानी निकास गरेपछि २ ग्राम बेभिष्टिन प्रति लिटर पानीमा मिसाई ८-१० दिनको फरकमा २-३ पटक बोट भिज्नेगरि छर्नुहोस्।
  • धान बालीमा मरुवा रोगको नियमित अनुगमन गर्नुहोस्।
  • आँपमा ईनार्चिङ्ग विधिबाट कलमी गर्ने उपयुक्त समय भएकोले कलमी गर्नुहोस् र नर्सरीमा उच्च आर्द्रता (८०-९० प्रतिशत) कायम गर्नुहोस्।
  • स्टोन/इपिकोटायल बिधिबाट कलमी गरेको आँपको नर्सरीमा ८०-९० प्रतिशत भन्दा कम आर्द्रता भएमा बेला-बेलामा पानी छर्किनुहोस्। साथै कलमी गरेको भागभन्दा तलबाट पलाएका मुनाहरु हटाउनुहोस्।
  • मध्य पहाडमा भदौमा लगाउने आलुबालीका लागि खुमल सेतो-३, खुमल रातो-४, कुफ्रिज्योती, डेजिरे, जनकदेव, खुमल उज्ज्वल, खुमल उपहार, खुमल विकास मध्ये उपलब्ध जातको स्वस्थ बीउ आलु रोप्नुहोस्।
  • केरा, अलैँची, अदुवा र बेसार बालीको जरा कुहिने रोगको अनुगमन गरी पानी निकासको उचित व्यवस्था गर्नुहोस्। साथै रोग व्यवस्थापनको लागि कार्बेन्डाजिमयुक्त बिषादी बेभिष्टिन २ ग्राम प्रति लिटर पानीमा मिसाएर जरा भिज्नेगरि ड्रेन्चिङ गर्नुहोस्।
  • बाख्रामा देखिने कुम्री रोगको रोकथाम गर्न भदौ देखि कात्तिकसम्म मासिक एक चक्की डाईइथाइल कार्बामाजिन (डी.ई.सी)-१०० एम.जी. प्रति वयस्क बाख्राका दरले खुवाउनुहोस्।
  • वर्षातको पानीले पोखरीको खाद्यतत्व बगाएर कमी हुन सक्ने हुँदा पोखरीको पानीको पारदर्शिता हेरी घाम लागेको समय पारेर सिफारिस मात्रामा मलखाद प्रयोग गर्नुहोस्।
  • मौसम सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने चौविसै घण्टा उपलब्ध जल तथा मौसम विज्ञान विभागको फोन नम्बर-११५५ मा फोन गर्नुहोस्।
  • कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार साँझ ५ देखि ७ बजेसम्म फोन गर्नुहोस्।
  • कृषि-मौसम सल्लाह बुलेटिन रेडियो नेपालबाट प्रत्येक शनिबार बेलुका ६:२५ देखि ६:३५ बजेसम्म साथै नेपाल टेलिभिजनको NTV NEWS Channel बाट प्रत्येक शनिबार बेलुका ८ बजेको समाचारपछि प्रसारण हुने गर्दछ।